नेताको हत्यापछि स्थानीय त्रसित

अमन कोइराला

सर्लाही — मर्निङ वाकमा निस्केका एमाले जिल्ला नेताको मंगलबार हत्या भएपछि हेमपुर गाउँवासी त्रसित भएका छन् । साँझ–बिहान गाउँमा चहलपहल नै हराएको छ ।

नेताको हत्यापछि स्थानीय त्रसित

हेमपुर ७ का एमाले नेता रामनरेश रायको क्रूर हत्यापछि छिमेकी गाउँमा समेत त्रास बढेको हो । अहिले बिहान हिँड्नेले पनि हेमपुर र रनिया गाउँ जोड्ने बाटो प्रयोग गर्न छाडेका छन् । सोही बाटामा रायको हत्या भएको थियो ।

धारिलो हतियारले दर्जनौंपटक टाउकामा प्रहार गरी रायलाई मारिएको थियो । घटना देखेका आसपासका बासिन्दा डराइरहेका छन् । हत्यारा पत्ता नलाग्दा झन् आतंक बढेको छ । रायका नातेदार जगतनारायण यादवले नेताको हत्यापछि गाउँमा ठूलो त्रास छाएको बताए ।

‘सज्जन र अगुवा राजनीतिकर्मीको निर्मम हत्या भयो,’ उनले भने, ‘अकल्पनीय घटनाले सर्वसाधारण निकै डराएका छन् ।’ हत्या भएको स्थान नजिक रनिया गाउँका रामसिंहासन पटेलले जाडामा साँझबिहान आँगनमा बसेर आगो ताप्न पनि छाडिएको बताए ।

‘साँझ र बिहान आगो ताप्नसमेत घरबाट कोही निस्केनन्,’ उनले भने, ‘दिउँसो पनि खेतबारीमा काम गर्न डराएर धेरै किसान जान सकेनन् । यस्तो घटनापछि डरत्रास छाउनु स्वाभाविक हो ।’ उनले हत्यारा पक्राउ नपरुन्जेल गाउँमा त्रास कायम रहने अवस्था रहेको बताए ।

स्थानीय शिक्षक भिखारी यादवले घरमा शौचालय नहुने पनि साँझबिहान मैदान जान नसकेको उल्लेख गरे । प्रहरीले हत्यारा खोजीका लागि ल्याएको कुकुरले पनि केही पत्ता लगाउन सकेन । हत्यारा निकै लामो बाटो पैदल गएर गाडीमा भागेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरी नायब उपरीक्षक रमेश खड्काले कुकुरले निश्चित क्षेत्र पहिचान गर्न मद्दत गरेको बताए । ‘अपराधीले त्यसपछि कुनै सवारी प्रयोग गरेर भागेको हुन सक्छ,’ उनले भने, ‘गहन अनुसन्धान भइरहेको छ ।

क्षेत्र, अञ्चल र जिल्लाको संयुक्त टोली अनुसन्धानका लागि घटनास्थल आसपास खटिएको छ ।’ मर्निङ वाकमा रायसँगै गएका हुलास राय र जयनाराण रायलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

खड्काले सोधपुछ क्रम जारी रहेको र आसपासका धेरैसँग बुझ्ने काम भइरहेको बताए । ‘मृतकसँगै मर्निङ वाक गएकासँग धेरै कुरा बुझ्नुपर्ने भएकाले राखेका छौं,’ खड्काले भने । पोस्टमार्टमपछि मंगलबार साँझ रायको शवमा एमालेको झन्डा ओढाएपछि दाहासंस्कार गरिएको थियो ।

प्रकाशित : पुस १६, २०७२ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?