कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

पाल्पाका केही क्षेत्रमा चाैपायामा फैलिएको ‘एन्थ्रेक्स’ विरुद्ध खोप अभियान

माधव अर्याल

पाल्पा — पशुबाट मानिसमा सर्न सक्ने रोग ‘एन्थ्रेक्स’ फैलिएको गल्धा, ७ गेझा र आसपासका गाउँका पशु चौपायामा सोमबार र मंगलबार खोप अभियान चलाइएको छ । अभियानमा २ सय ८० भन्दा बढी पशु चौपायालाई खोप लगाइएको थियो ।

पाल्पाका केही क्षेत्रमा चाैपायामा फैलिएको ‘एन्थ्रेक्स’ विरुद्ध खोप अभियान


 
पशुसेवा कार्यालयका डा. उत्तम आचार्यका अनुसार रोग देखिएको गाउँका साथै आसपासमासमेत पड्के अर्थात् ‘एन्थ्रेक्स’ विरुद्धको खोप पशुमा लगाइएको छ । तानसेन, रामपुर र सहलकोटबाट खटिएका पशु चिकित्सकबाट खोप लगाइएको हो । 

गेझा र आसपासका गाउँमा ६५ परिवारका १ सय ४० गाई र गोरुका साथै १ सय ४० भाईल भैंसी, पाडापाडीमा लगाइएको छ । तानसेनबाट खटिएका पशु चिकित्सक डा. उत्तम आचार्य, कपिल श्रेष्ठ, रामपुर पशुसेवा केन्द्रका पशु चिकित्सक रामजी अधिकारी, सहलकोट केन्द्रका ओम मश्राङगी लगायतको टोली गाउँमा खटिएर भ्याक्सिन लगाएका हुन । पड्के भएर पहिला पनि पशु धेरै मर्ने गरेको भएपनि थाहा नहुँदा नहुँदै अहिले धेरै मरेको डा. आचार्यले बताए । 

टोलीले एन्थ्रेक्स भ्याक्सिन लगाएर स्थानियमा चेतनामूलक कार्यक्रमसमेत गरेको छ । गल्धा गाविसका पूर्व अध्यक्ष दलबहादुर जर्घाले स्थानियलाई एन्थ्रेक्सका विषयमा जानकारी भएको बताए । उनले रोगका विषयमा स्थानीयलाई सचेत गराइएको जानकारी दिए । साउन/भदौबाट पशुचौपायामा लक्षण देखिने र मर्ने गरेका थिए । स्थानियका अनुसार पशुहरु एकाएक मर्न थालेका थिए ।

गल्धा–७मा मात्रै यही रोगका कारण ४० वटा पशुचौपाया मरेको छ । ‘केही दिनअघि बढी नै चौपाया मरेको खबर आयो,’ जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत तुल्सीराम भण्डारीले भने, ‘त्यसपछि टोली खटिनु परेको हो ।’ जिल्ला स्वास्थ्य र पशुसेवा कार्यालयबाट गरेको परीक्षणका क्रममा एन्थ्रेक्सका जीवाणु भेटिएको थियो । 

पछिल्लो समयमा अलि बढी नै मर्ने र बिरामी हुने भएपछि महामारी भएको पत्ता लागेको हो । ‘भकाभक मरेपछि पशु कार्यालयमा खबर गरेका हौं,’ स्थानीय जर्घाले भने, ‘लगत्तै तानसेन र पोखराबाट टोली आएर नमुना लिएर गएको हो ।’ उनका अनुसार गाउँका पशु चौपाया कहिलेकाँही मर्ने गरेपनि यसपटक अलि बढी नै यस्तो समस्या भएको हो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई समेत जानकारी गराएर नमुना जाँच गर्दा एन्थ्रेक्स भएको पत्ता लागेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्रप्रसाद घिमिरेले मान्छेमा अहिलेसम्म समस्या नदेखिएको बताए । माटोमा वर्षौ‌सम्म पनि रहन सक्ने उनले बताए ।

स्थानिय स्वास्थ्य चौकीबाटसमेत सचेत गराउने र एलर्टमा बसेका छन् ।  पोखरा र जिल्लाबाट गएका पशु चिकित्सकका अनुसार अहिलेसम्म यो रोग मानिसमा सरेको छैन । एन्थ्रेक्स लागेका पशुको दुध, घिउ, मासु खाने तथा गोबर, पिसाव तथा पशुको सम्पर्कमा रहेका व्यक्तिमा सर्ने सम्भावना रहन्छ ।
 
मानिसमा सर्‍यो भने ज्वरो आउने, रुघा खोकी लाग्ने साथै  छाती, पेट र छालामा संक्रमण हुनेगर्छ । अन्य स्थानको संक्रमणले ज्यान नै जानसक्ने सम्भावना रहन्छ । 

‘छातीमा संक्रमण भए छाती इन्फेक्सनदेखि निमोनियासम्म हुन सक्छ,’ डा. झपेन्द्र ढकालले भने, ‘उच्च ज्वरो आउने, पेट भित्र भए रगत बान्ता, डाइरिया हुने र छालामा भए डरलाग्दो खटिरा देखिन सक्छ ।’ स्थानीयका अनुसार ६ महिना अघि देखि नै गाउँका पशुमा रोग देखा परेको र एउटै वडामा मात्रै यस्तो समस्या आएको थियो । चरुवा गाई, गोरु, भैंसी, पाडो मरेको खबर पहिला नै आएको थियो ।

प्रकाशित : माघ ६, २०७२ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?