कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सिमकोट–हिल्साबाट नौ हजार पर्यटक पुगे मानसरोवर

नेपालगन्ज — सिमकोट–हिल्सा रुटबाट यस वर्ष झन्डै ९ हजार पर्यटकले तिब्बतको मानसरोवर कैलाश दर्शन गरेका छन् ।

यो रुट हुँदै एकै वर्ष यति धेरै पर्यटक आएको पहिलो पटक हो । गत वर्षको भूकम्पले चीनको तातोपानी नाका बन्द भएपछि तीर्थयात्रु सिमकोट–हिल्सा रुटबाट मानसरोवर पुगेका हुन् ।

सिमकोट–हिल्साबाट नौ हजार पर्यटक पुगे मानसरोवर

सिमकोट–हिल्सा रुटबाट यस वर्ष झन्डै ९ हजार पर्यटकले तिब्बतको मानसरोवर कैलाश दर्शन गरेका छन् ।

यो रुट हुँदै एकै वर्ष यति धेरै पर्यटक आएको पहिलो पटक हो । गत वर्षको भूकम्पले चीनको तातोपानी नाका बन्द भएपछि तीर्थयात्रु सिमकोट–हिल्सा रुटबाट मानसरोवर पुगेका हुन् । भदौ मसान्तसम्म ८ हजार ८ सय ८५ भारतीय र ५ सय १२ अन्य मुलुकका पर्यटक हुम्ला हुँदै कैलाश पुगेका छन् । सरकारी तथा निजी क्षेत्रको पूर्वतयारीबिनै एकै वर्ष पर्यटक वृद्धि हुँदा व्यवस्थापन अस्तव्यस्तता देखिएको छ ।

नेपालगन्जका स्तरीय होटलहरू पाँच महिनादेखि भरिभराउ छन् । सिमकोट र हिल्सामा पर्यटकलाई बासको प्रबन्ध मिलाउन व्यवसायीलाई हम्मे परेको छ । अधिकांश निजी एयरलाइन्सहरूले आफ्ना सेवा यतै केन्द्रित गरेका छन् ।

सिद्धार्थ बिजनेस ग्रुपका कार्यकारी प्रमुख कृष्ण न्यौपानेले कैलाश यात्रीको बढदो चापले नेपालगन्जमा स्तरीय होटलहरू अपुग भएको महसुस गरेको बताए । ‘कैलाश यात्रुले यो रुट रोज्नु धेरै खुसीको खबर हो । यो वर्ष राम्रो गर्न खोज्दाखोज्दै पूर्वाधार कमीले गाह्रो भयो,’ उनले भने, ‘आगामी वर्ष पूर्वाधारको वृद्धि हुनेछ ।’ नेपालगन्जमा सिद्धार्थसँगै कल्पतरु, सिटी प्यालेस, स्नेहा र किचन हटले कैलाश यात्रुलाई सेवा दिए । चारतारे स्तरको होटल सिग्नेट इन कृष्णाले भर्खरै सेवा सुरु गरेको छ । सिद्धार्थले पनि होटलको क्षमता वृद्धि गर्दै छ ।

आवश्यक पूर्वाधार अभावले एकैपटक यति धेरै पर्यटक भित्रिँदा पनि स्थानीयले भने लाभ लिन सकेनन् । हुम्लामा कैलाश यात्रीका लागि होटलहरू अपुग भए । तर, तिब्बत रुटको तुलनामा हुम्ला–हिल्सा मार्ग केही महँगो भए पनि छोटो र आरामदायी भएको भन्दै भारतीय तीर्थयात्रीको मन तानेको छ । कैलाश दर्शन गर्न जाने पर्यटकमा भारतका चेन्नाई, गुजरात, आन्ध्रप्रदेश, कर्नाटक र तामिलनाडुका धेरै छन् । हैदरावादका रागव कुमार वर्षको एकपटक धार्मिक यात्रा गर्नुमा आनन्द महसुस हुने बताउँछन् । ‘यो विशुद्ध धार्मिक यात्रा हो । यो रुट तिब्बतको अर्को रुटभन्दा सजिलो छ,’ उनले भने ।

सन् २००६ देखि सिमकोट–हिल्सा रुट प्रयोगमा आएको हो । पहिलो वर्ष ५४ भारतीयले यात्रा गरेको यो रुटमा बर्सेनि वृद्धि भइरहे पनि भूकम्पअघिसम्म पर्यटकको संख्या २ हजार नाघेको थिएन । १८ ट्राभल कम्पनीले झन्डै ९ हजार पर्यटकलाई मानसरोवर कैलाश दर्शन गराइसकेका छन् । नेपालगन्ज–सिमकोट–हिल्सा रुट केही महँगो पनि छ । तिब्बती रुटबाट जाँदा गत वर्षसम्म १ लाख ८५ हजार रुपैयाँमा तीर्थयात्रीले मानसरोवर भ्रमण गर्थे । ३ हजार ७ सय ५० मिटर उचाइको र्‍यालम कुटीबाहेक तिब्बती रुटमा समस्या नरहेको व्यवसायीहरू बताउँछन् । अहिले यो रुटको १० दिने प्याकेज खर्च २ लाख ६४ हजार रुपैयाँ छ । लखनउबाट आउने पर्यटकको आठदिने प्याकेजको खर्च २ लाख ३२ हजार रुपैयाँ रहेको श्रेष्ठ ट्रेक काठमाडौंका अशोक श्रेष्ठले बताए ।

सिमकोटमा तीन वटा मात्र स्तरीय होटल छन् । आन्तरिक पाहुनालाई लक्षित गरिएका केही मझौला खाले होटल छन् । तिब्बतको सीमावर्ती बजार हिल्सामा पनि १० हजार पर्यटक थेग्ने पूर्वाधार छैन । यसपटकको मानसरोवर सिजनमा स्तरीय र मझौला मात्र हैन, साना होटल तथा होमस्टेसमेत भरिभराउ भए । होटलहरूले एउटै कोठामा ५ जनासम्म पर्यटक राख्नुपरेको छ ।

मौसम प्रतिकूल भई हवाई उडान अवरुद्ध भएका बेला कैलाश यात्रुलाई बासको प्रबन्ध मिलाउन झन् कठिनाइ भएको पर्यटन व्यवसायी बताउँछन् । जेठको दोस्रो साता मौसमी प्रतिकूलताले सयौं भारतीय यात्रु सिमकोट र हिल्सामा अलपत्र परेपछि १९ गते भारतीय दूतावासले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई कैलाश यात्रामा सचेत गरेको थियो । तैपनि यात्रुको चाप थामिएन ।

जिल्ला प्रहरी निमित्त प्रमुख ओमप्रसाद यादव एक्कासि पर्यटक वृद्धिले कैलाश यात्रुलाई थेग्न मुस्किल परेको बताउँछन् । ‘सिमकोट र हिल्सामा पर्याप्त बसोबास र खानपिनको व्यवस्था नहुँदा समस्या भयो,’ उनले भने । एकैदिन नेपालगन्जबाट सिमकोट र हिल्सा पुग्दा धेरै तीर्थयात्रीलाई लेक लाग्ने समस्या देखियो । यस वर्ष लेक लागेर मृत्यु हुनेको संख्या केही बढेको छ । १५ भारतीयसहित १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिरामी पर्ने यात्रुलाई तुरुन्तै उद्धार गर्ने व्यवस्था छैन । न त प्राथमिक उपचार सहज छ । त्यसैले लेक लागेर पनि यात्रुको ज्यान जाने गरेको छ ।

हिल्सामा खाद्य वस्तु पनि नपाइने र साना होटलमा शौचालयसमेत नभएको भन्दै भारतीय पर्यटकले हुम्ला पुगेका पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीसँग समेत गुनासो गरे । ‘सिमकोट र हिल्सामा अस्थायी भए पनि शौचालय बनाउनुपर्‍यो भन्ने सुझाव आएको छ,’ भर्खरै गृहजिल्ला हुम्ला पुगेर फर्केका शाहीले भने, ‘पूर्वाधार विकासका लागि सरकार र निजी क्षेत्रले साझेदारी गर्नुपर्छ ।’

सामान्यतया दिनको १२ बजेपछि उडान नगर्ने हवाई कम्पनीले पर्यटकका लागि यसपालि बेलुका ६ बजेसम्म गरेका छन् । सिमकोट विमानस्थलमा एकैदिन जहाज र हेलिकप्टरका ९० वटासम्म उडान भएको नागरिक उड्डयन प्राधिकरण कार्यालय प्रमुख भीमदत्त पन्तले जानकारी दिए । ‘कैलाश यात्रुका कारण बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म पनि उडान हुने गरेका छ,’ उनले भने, ‘सामान्यतया हावाको चाप बढेर मध्याह्नपछि उडान गर्न मिल्दैन । तर, मौसम खुलेका बेला बेलुका ६ बजेसम्मै उडान भए ।’ उडान र यात्रुको चापले विमानस्थल साँघुरो भएको उनले बताए । हुम्लामा तीन वटासम्म जहाज पार्क गर्न सक्ने ठाउँ छ । तर, यसपटक पाँच वटा जहाज र चार वटा हेलिकप्टरसम्म पार्क गरिएका थिए ।

हुम्ला आउने पर्यटकबाट जिविसले सेवा शुल्कबापत प्रतिव्यक्ति ९ सय रुपैयाँ राजस्व लिने निर्णय गरेको छ । तर, संख्याअनुसार कर नउठेको स्रोत बताउँछ । पर्यटकबाट उठ्ने शुल्कबाट बजारमा ढुंगा बिछ्याउने लगायतका काम भएको जिविसका अधिकृत विशाल बोहराले बताए ।

उद्योग वाणिज्य संघका अध्यक्ष नाम्गेल लामा एक्कासि पर्यटक वृद्धि हुनाले सीमित पूर्वाधारले थेग्न नसकेको बताउँछन् । ‘पहिले मुस्किलले १५ सय पर्यटक आउँथे । एक्कासि चार गुणा वृद्धि हुँदा धान्न मुस्किल भयो,’ लामाले भने, ‘सधैंभरि कैलाश यात्री यही रुटबाट आउने भए सिमकाट र हिल्सामा पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र तयार छ ।’ तातोपानी, केरुङ र कोरला नाका खोलेसँगै मानसरोवर यात्रुहरूले उतैको रुट प्रयोग गर्ने आशंकाले कम लगानी गरिएको उनले बताए ।

प्रकाशित : आश्विन १९, २०७३ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?