कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मटेहियामा तनाव घट्दै

स्थानीयबीच झडपमा सोमबार एकको मृत्यु, १२ घाइते, पाँच गम्भीर

नेपालगन्ज — स्थानीयबीच झडपपछि सोमबारदेखि तनाबमा डुबेको राप्तीपारि मटेहिया क्षेत्र सामान्य हुँदै गएको छ । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

मटेहियामा तनाव घट्दै

मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको १४९१ औं जन्मोत्सवका अवसरमा आयोजित जुलुसका सहभागी र स्थानीयबीच झडप भएको थियो । घटनामा नरैनापुर–३ का एक प्रौढको मृत्यु भएको छ । १२ जना घाइते छन् । उनीहरूको नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल र भारत, बहराइचमा उपचार भइरहेको छ । टाउकामा गहिरो चोट लागेका गम्भीर घाइते पाँच जनालाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ । एकको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।

जुलुसका सहभागी र स्थानीयबीच सामान्य विषयमा इलाका प्रहरी कार्यालय भगवानपुर छेउको चिया पसलबाट विवाद सुरु भएको थियो । त्यस क्रममा केही घर, धारा र धार्मिक स्थलसमेत तोडफोड भएको प्रहरीले जनाएको छ । प्रहरीले ८ राउन्ड अश्रुग्यास हानी भीड तितरबितर पारेको थियो ।

स्थिति नियन्त्रणमा लिन तत्कालै ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरीका टोली खटाइएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी टेकप्रसाद राई र सशस्त्र प्रहरीका एसपी राजु अधिकारी नेतृत्वमा व्यापक सुरक्षाकर्मी परिचालनपछि अहिले अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ । ‘स्थिति अहिले पूर्ण नियन्त्रणमा आएको छ,’ घटनास्थलमा रहेका एसपी राईले भने, ‘थप अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको छ ।

दण्डहीनताले सधैं झडप
धार्मिक निहुँमा मटेहियामा यसअघि पनि पटकपटक झडप हुँदै आएको छ । गत असोज २५ गते दुर्गा पूजा मूर्ति र मोहर्रमको ताजिया विसर्जनमा पनि झडप भयो । एउटा घर भत्काइयो । ६ जना घाइते भए । ०७० को संविधानसभा निर्वाचनमा पनि आफ्नो पक्षमा भोट आकर्षित गर्न त्यस्तै दंगाको प्रयास गरियो । तर, अहिलेसम्म कसैलाई कारबाही भएन । पछिल्लो झडपमा पनि तिनै व्यक्ति सक्रिय रहेको स्थानीयले बताए । यस्ता घटनाले वर्षौं सँगै बस्दै आएका दुई धार्मिक समुदायको शान्ति र सद्भाव खलबल्याउन खोजिएकामा उनीहरूले चिन्ता व्यक्त गरेका छन् । ‘दंगा गराउन खोज्नेलाई कहिल्यै कारबाही भएन । त्यसैले यस्ता घटना भइरहेका छन्,’ झडपमा घाइते वृद्ध शिवप्रसाद काँदुले भने, ‘दसैं, मोहर्रम, दीपावली, इद, मोहम्मद डे आउँदा पहिले खुसी लाग्थ्यो । अब के हुने हो भनेर डराउनुपर्ने भएको छ ।’

आपराधिक घटनालाई पनि सहमति र मिलापत्रका नाममा बेवास्ता गरिएका कारण हिंसात्मक घटना दोहोरिने गरेको हो । गत असोज २५ गते मटेहिया क्षेत्रमा साम्प्रदायिक सद्भाव भडकएकोबारे छानबिन गर्न स्थानीय प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त समितिले करिब दुई साता लगाएर घटनाको अध्ययन गरी प्रतिवेदन तयार गर्‍यो । घटनामा २१ जनाको संलग्नता देखाई कारबाहीको सिफारिससमेत गर्‍यो । तर, कारबाही अघि नबढाउँदै अर्को घटना दोहोरिएको छ । ‘हामी प्रतिवेदन कारबाही गर्ने क्रममै थियौं तर यस्तो भयो,’ बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले भने, ‘पटक–पटक यस्ता घटना दोहोर्‍याउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउँछौं ।’ केही विषयमा छलफल र सहमति भए पनि दोषीलाई बचाउने गरी आपराधिक घटनामा मिलापत्र नगरिएको उनले दाबी गरे ।

स्थानीय बासिन्दा भने प्रशासनकै कमजोरीका कारण झडपका घटना हुने गरेको दाबी गर्छन् । ‘पहिलेको घटनामा कारबाही भएको भए कसैले आँट गर्दैनथ्यो,’ स्थानीय मुनिजर खाँले भने, ‘प्रहरीले पनि सुरक्षा दिन सकेन ।’ स्थानीयका अनुसार मोहम्मद डेमा प्रहरीले पर्याप्त सावधानी नदेखाएकाले घटना भएको हो । संविधानसभा निर्वाचनको माहोलबीच २०७० को दसैंमा पनि दुई धार्मिक समुदायबीच विवाद भएको थियो ।

दुर्गा पूजाका क्रममा गैरहिन्दुको कपडामा अबिर परेपछि विवाद बढेर तनाव उत्पन्न भएको थियो । ‘ससाना निहुँमा साम्प्रदायिक दंगा गर्न खोजियो भने मिलेर बस्नै गाह्रो हुन्छ । सधंै डराएर बस्नुपर्छ,’ स्थानीय रामदुलारे यादवले भने, ‘हामीबीच कसैले फाटो ल्याउन खोज्दै छ ।’ एक जनाको ज्यान जाने गरी भएको झडपपछि स्थानीय प्रशासनले घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्वता जनाएको छ । ‘निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गरेरै छाड्छौं,’ प्रजिअ पन्थले भने ।

धार्मिक अगुवाको अपिल
बाँकेका धार्मिक तथा सामाजिक अगुवाहरूले मटेहिया क्षेत्रको शान्ति र सद्भाव बिग्रन नदिन सार्वजनिक अपिल गरेका छन् । वागेश्वरी मन्दिरका महन्थ चन्द्रनाथ योगी र मुस्लिम धार्मिक अगुवा मौलाना अब्दुल जब्बार मञ्जरीले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न, मृतकलाई क्षतिपूर्ति र घाइतेको नि:शुल्क उपचार गर्न माग गरेका छन् ।

बाँके क्षेत्र नं. २ का सांसद एवं पूर्वमन्त्री दिनेशचन्द्र यादवले दण्डहीनताले गर्दा समुदायबीच फाटो ल्याउन पटकपटक प्रयास भइरहेको उल्लेख गर्दै घटनाको गहिरो अनुसन्धान गर्न माग गरे । ‘यो घटना विभिन्न नाममा दोषीमाथि कारबाही नहुँदाको परिणाम हो,’ उनले भने । उनले मृतकका परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे ।

जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकले घाइतेको नि:शुल्क उपचार गर्न र मृतकलाई क्षतिपूर्ति दिलाउन मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । यसैबीच, स्थानीय शान्ति समितिले बुधबार नेपालगन्जमा सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको छ ।

प्रकाशित : मंसिर २९, २०७३ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?