उपत्यकाका नदीबाट सोह्र मेट्रिक टन फोहर निकालियो

काठमाडौं — उपत्यकाका प्रमुख नदी सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइको १९० औँ हप्तामा शनिबार तिलगङ्गा क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

उपत्यकाका प्रमुख नदी सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बागमती सफाइको १९० औँ हप्तामा शनिबार तिलगङ्गा क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । स्वतः स्फूर्त रुपमा सफाइमा उपस्थित भएकालाई दुई समूहमा विभाजन गरी एक समूहले सफाइ र अर्को समूहले तिलगङ्गा क्षेत्रका घर÷घरमा छिरेर जनचेतनामूलक अभियान सञ्चालन गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले जानकारी दिए ।

तिलगङ्गा क्षेत्रका घर दैलोमा गई नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिकपर्ने स्थानमा सहभागी बनौँ भनी जागरणमूलक कार्यक्रम गरिएको सदस्य श्रेष्ठले बताए । आजको सफाइ महाअभियान पूर्व सचिव किशोर थापा, एलपी भानु शर्मा, डा राजु अधिकारी लगायतको नेतृत्वमा सम्पन्न भएको थियो । सफाइमा अधिकार सम्पन्न बागमती समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल विज्ञापन सङ्घ, जीवन विज्ञान नेपाल, लायन्स क्लब, न्यानो स्पर्श, एस ट्राभल्स, तिलगङ्गा महिला समूह लगायतको सफाइमा संस्थागत सहभागिता थियो ।

आजदेखि बागमती सफाइ महाअभियान शङ्खमूल– गुह्येश्वरी खण्डमा केन्द्रित भएको छ । यो खण्डमा बागमती सफाइको २०० औँ हप्तासम्म स्नानयोग्य बनाउन अभियान केन्द्रित गरिएको सफाइ महाअभियानले जनाएको छ । रुद्रमती सफाइको १४९ औँ हप्तामा आज रातोपुल– सिफल हुँदै भण्डारेश्वर महादेव मन्दिर र कालोपुलसम्म सफा गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।

सो स्थानबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, चारुमती मित्र समूह, भण्डारेश्वर व्यवस्थापन समिति, महानगरपालिकाका ७, ९ र ३३ वडा कार्यालयको पनि सफाइमा सक्रियता थियो ।

महानगरपालिका– ७ नं वडा नागरिक मञ्चले कालोपुलदेखि मित्रपार्कसम्मको सडकलाई फोहरमुक्त घोषणा गरेको सो अवसरमा संयोजक रमेश महर्जनले जानकारी दिए । आगामी हप्ता रुद्रमती सफाइ सुरु भएको १५० औँ हप्ताका अवसरमा बूढानीलकण्ठदेखि बुद्धनगरसम्मको नदी क्षेत्रमा सफा गरिने समाजले जनाएको छ ।

विष्णुमती सफाइको १२३ औँ हप्तामा आज तारकेश्वर नगरपालिका– १६ स्थित विष्णुमती र महादेवखोलाको दोभान क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाईसँगै यस क्षेत्रमा जनचेतनामूलक कार्यक्रम पनि गरिएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिए ।

सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विष्णुमती नदीलाई छुने महानगरपालिकाका वडाका कर्मचारी, नेप्से म्याक प्रालि, आमा समूह, तारकेश्वर नगरपालिका एवम् स्थानीयवासीको सक्रिय सहभागिता थियो ।

गुह्येश्वरीमाथिको बागमती सफाइको १५१ औँ हप्तामा शनिबार सर्वेश्वर विश्रामस्थल आसपासको बागमती क्षेत्रमा सफाइ गरियो । सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए । यस क्षेत्रको आजको सफाइमा चाल्र्स डाटर्बिन स्कुलका विद्यार्थीले घर घरमा गएर नदीमा फोहर नफाल्न अनुरोध गरे । आजदेखि प्रत्येक हप्ता विद्यार्थीलाई परिचालन गरेर जनचेतना फैल्याइने भएको छ ।

सफाइमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, र माकालबारी टोलसुधार समिति लगायतको सक्रियता थियोे । नख्खुखोला सफाइको ६८ औँ हप्तामा आज सफाइ सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरियो । रासस

प्रकाशित : पुस १६, २०७३ १४:०५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तग्रिँदै सीमागाँउ तातोपानी

अनिश तिवारी

सिन्धुपाल्चोक — ०७२ को भूकम्पले तहसनहस पारेपछि चीन सीमाको तातोपानी बजार सुनसान बन्यो । नेपाल र चिनबीचको स्थलमार्ग अरनिको राजमार्गअन्तर्गतको प्रमुख व्यापारिक बजार तातोपानी क्षेत्रमा हुने व्यापारिक कारोबार शून्यमा पुग्यो । घर लगायत सबै संरचना ध्वस्त भए ।

चारैतिर पहाडले घेरेको तातोपानीमा पहिरोको उच्च जोखिम भयो । हुने खानेहरु राजधानी पसे भने हुँदामात्रै खानेहरु चौकीडाँडाजस्ता सुरक्षित स्थानमा पालजस्ताको अस्थायी टहरामा आश्रित बने ।

वर्षदिनपछि तातोपानीका केही बासिन्दा घर फर्किए । व्यापारिक रुपमा स-साना होटेल, किराना पसल खुले । भूइँचालोले भत्काएका घर मर्मत गरी स्थानीयहरु पुरानै लयमा फर्किन थालेका थिए । भन्सार कार्यालय, अध्यागमनदेखि तातोपानीमा रहेका बैंकहरुले कारोबार सुरु गर्न थालिसकेको अवस्थामा फेरि अर्को विपत्तिले बस्न लागेको बस्ती उजाड पारिदियो । भूकम्प गएको १४ महिनापछि भोटोकोसी बाढी आयो । भूइँचालो बिर्सिसकेका तातोपानीवासी फेरि विस्थापित शिविर फर्किन बाध्य बने । गति लिइसकेको व्यापारिक कारोबार फेरि शून्यमै झर्यो ।

भोटेकोसी बाढीले सताएको ६ महिना लागिसकेको छ । बाढी र भूइँचालोले तहसनहस बनाएको सडक अस्थायी रुपमा अहिले सुधारिएको सडकखण्डको रुपमा खुलिसकेको छ । ‘भौतिक रुपमा सीमा क्षेत्र बनिसकेको छ’ सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी विमल डाँगीले भने, ‘मानवीय र व्यापारिक चहलपहल बढ्न थालेको छ ।’ उनकाअनुसार सुनसान र कुकुरहरु मात्रै देखिने चीनको सीमाक्षेत्र लिपिङमा अहिले फेरि बस्ती बनाउन स्थानीय अग्रसर बनेका छन् । भन्सार कार्यालयमा कार्यालय सहायक मात्रै बसेका छन् । लिपिङमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीबाहेक अरु कोही भेटिँदैनन् । अस्थायी रुपमा खुलेका सडक फेरि मर्मत गरिएको छ ।

लिपिङ बजारमा जान केही समस्या भने अझै रहेको गाविस सचिव डम्बरबहादुर श्रेष्ठ बताउँछन् । ‘तातोपानी र कोदारीमा भने आशाजनक सुधार आएको छ, चहलपहल बढेको छ,’ उनले भने, ‘पर्यटकीय तीर्थस्थल तातोपानी धारामा आउने पर्यटक पनि बढेका छन् । उनले गाउँमा पुनर्निर्माणमा काम पनि भइरहेको लामो समयपछि तातोपानीको मुहार फेरिँदै गएको बताए ।

‘सडक खुले पनि नाका नखुलेकोमा भने समस्या भएको छ । नाका खुल्ने आशामा स्थानीयवासी फेरि गाउँ फर्केर व्यापार गर्न थालिसकेका छन्’ अध्यागमन कार्यालयका सहायक तिलकबहादुर मगर भन्छन्, ‘कच्ची सडक अहिले सुधारिएपछि स्थानीय उत्साहित छन् ।’ आहिले चाइना रेल्वे कन्ट्रक्सन कम्पनी (सिआरसीसी) लिमिटेडले ग्राभेल सुधारिएको सडक निर्माण गरिसकेको छ । माथिबाट आउने पहिरो नियन्त्रणमा ल्याउन जालीगारो, सडक ढलान गर्ने काम तीव्र रुपमा अगाडि बढिरहेको वरिष्ठ भाषा अनुवादक रामकृष्ण दुलालले जानकारी दिए ।

लार्चा, १० किलोमाथि बस्ती बसिसकेको छ । कोदारीमा प्रशस्तै स्थानीयहरु भेटिन्छन् । उनीहरु आफ्नो जीविकोपार्जनका लागि तयार भइसकेको स्थानीय ठेकेदार रामबहादुर पाख्रिन बताउँछन् । ‘सरकारले तातोपानी नाका खोल्नमा जोड दिए यहाँ पुरानै अवस्थामा चाँडै आउनेछ’ उनी भन्छन् ‘पहिरोको जोखिम भए पनि स्थानीयवासी गाउँमै रोजगारीको वातावरण सिर्जना गरौं भन्नेमा छन् । ’ उनी नाका सन्चालन भएमा यो क्षेत्रले आर्थिक फड्को मार्ने बताउँछन् ।
 
त्यहाँ भएका मन्दिर, गुम्बा र तातोपानी धारामा नुहाउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको तातोपानी धारा समितिका सांगे शेर्पाले जानकारी दिए । बाढीले कटान गरेका भागहरु र सुख्खा पहिरो अहिले रोकिसकेका छन् । भने नाका सन्चालन नहुँदा भन्सार कार्यालयले दैनिक संकलन गर्ने राजश्वले मुलुकको अर्थतन्त्रमा असर गरिरहेको छ । कार्यालयले दैनिक डेढ करोडको हाराहारीमा राजस्व संकलन गर्थ्यो । तातोपानी क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको कारोबारले यहाँका स्थानीयहरुको जीवनस्तर सुध्रेको थियो । नाका बन्द हुनुअघि सामान ओसारेरै भरियाहरुले परिवार पाल्थे । सडक बनिसकेकाले स्थानीयवासी नाका सञ्चालन हुने आशामा उत्साहित छन् ।

‘पछिल्लो समय तातोपानी जाने स्थानीयमात्रै नभई पर्यटकसमेत बढेका छन्’ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु पाण्डेले भने, ‘उता जाने सवारी साधन झण्डै चौ गुणा बढेको छ ।’

असार २१ गते चीनको खासा र कुतिको बीचमा रहेको छेपसाङ पहिरोले कोसी थुनिइआएको बाढीले लिपिङ बजारका ८१ घर बगाएको थियो । अन्य संरचना समेत कटानमा पारेको थियो । अहिले लिपिङ बजारमा रहेको ६८ घरमध्ये १० घर मात्रै बस्न योग्य छन । भूकम्पमा २० घर मात्रै बस्न नहुने थियो । त्यस्तै कोदारीमा ४० घरमध्ये २० घर क्षति भएको थियो । अहिले झण्डै ७ घरमा स्थानीयवासी बस्न थालिसकेका छन् भने अन्य समेत पुनर्निर्माणमा जागेका छन् ।

प्रकाशित : पुस १६, २०७३ १४:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT