दुर्घटनामा ५ को मृत्यु, १७ घाइते

एउटै गाउँका चारको निधन, १४ घाइते
माधव अर्याल

पाल्पा — तानसेन र दोभानमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । दोभान ४ श्रीडाँडामा जिप दुर्घटनामा चार र तानसेन बतासेडाँडामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो । श्रीडाँडामा सोमबार राति भएको जिप दुर्घटनामा १६ जना घाइते भएका छन् ।

दुर्घटनामा ५ को मृत्यु, १७ घाइते

लु१ज २६८९ नम्बरको जिप दुर्घटनामा दोभान २ का २६ वर्षीय यमबहादुर गाहा, सोही गाउँका ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्षीय मीनबहादुर थापा, ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको आदर्श आभारभूत विद्यालयका प्रधानाध्यापक नमबहादुर तरामीमगरले बताए । दुई जनाको घटनास्थलमै र थप दुई जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी दोभानका प्रहरी नायव निरीक्षक राजाराम कुर्मीले बताए । दोभानकै २ नम्बर वडाको देउरालीबाट श्रीडाँडामा बिहेमा पञ्चेबाजा बजाउन गएर फर्किंदै गर्दा जिप दुर्घटनामा परेको उनले बताए । चालक सोही गाउँका विमल दर्लामी हुन् ।

दुर्घटनामा चार जनाको अवस्था गम्भीर रहेको छ । दुई जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र दुई जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । केही घाइतेको बुटवलस्थित चौराहा र लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट १ सय २० मिटर भीरमा खसेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

उता, तानसेनमा भएको मोटरसाइकल दुर्घटनामा तानसेन, १० गैरागाउँका १९ वर्षीय संगीत दर्मको मृत्यु भएको प्रहरीले जनायो । मोटरसाइकलको पछाडि बस्ने चिदीपानी ४ का १९ वर्षीय अमिर सारू घाइते छन् । तानसेनबाट खस्यौली हार्थोकतर्फ जाँदै गरेको लु२१प ९२८७ नम्बरको मोटरसाइकल हार्थोकतर्फबाट तानसेन आउँदै गरेको लु१ख ६९८२ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बसका चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

शोकमा डुब्यो गाउँ
एउटै गाउँका चार जनाको मृत्यु र १४ जना घाइते भएपछि दोभान २ देउराली दाङसङकोट शोकमग्न छ । २ नम्बर वडाकै ज्यामिरेका एक र बिरुवाका एक जना घाइते छन् ।

आदर्श आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर थापाको मृत्यु भएको छ । सदस्य दानबहादुर सारूसमेत घाइते छन् । ‘गाउँका अगुवालाई पनि दुर्घटनाले लगेपछि यहाँ सन्नाटा छाएको छ,’ शिक्षक जगबहादुर क्षत्रीले भने, ‘कोही केही बोल्ने अवस्था छैन ।’ घाइते भेट्न अधिकांश बुटवल गएका छन् । मृत्यु भएकाको सदगत गर्नसमेत समस्या छ । उनले भने, ‘सबैजनालाई शोकाकूल बनाउने गरी दुर्घटना भयो ।’

स्थानीय निशान पटेलका अनुसार गाउँका दलित र मगर बस्ती पूरै शोकमा डुबेको छ । यहाँका गाउँले सबै आफन्त भेट्न र बिरामीको कुरुवा बन्न रुवावासी गर्दै बुटवल, भैरहवा र काठमाडौं पुगेका छन् ।

‘ब्रेक फेल भएको हो’
घाइते, कृष्णबहादुर थापा 

हामी सोमबार दोभान ४ श्रीडाँडाबाट दुलही पक्षको बाजा बजाउन आएका थियौं । बेलुकी दुलही पठाएपछि साढे ८ बजेतिर हामी बिदा भयौं ।

हाम्रै गाउँको जिप लगेका हौं । बाटो निकै ओराले र कच्ची छ । एक–दुई घुम्ती कटेपछि चालकले ब्रेक लागेन भनेको सुनेको थिएँ । ल अब के गर्ने भन्दाभन्दै भित्तामा ठोक्काएको हो । भित्तामा ठोक्काए पनि बाटो साँघुरो र स्पिड बढी भएकाले ओरालोमा जिप उछिट्टियो । जिपमा हामी र चालकसमेत २० जना थियौं । मैले जिप एक भुल्टुङ खाएको थाहा पाएको हुँ । 

चालक विमल हामीले चिने जानेका गाउँकै हुन् । उनले कहिल्यै रक्सी पिउँदैनन् । दुर्घटना भएपछि होसमा आउँदा म भीरमा थिएँ । धन्न गोजीको मोबाइल रहेछ । अनि सकिनसकी माथि बाटोमा निस्केर मोबाइलबाट प्रहरी र स्थानीयलाई खबर गरें । रातिको समय भएकाले अरू के भयो धेरै कुरा होस छैन । अनि हामीलाई अस्पताल पठाइयो ।

प्रकाशित : माघ २६, २०७३ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?