१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

संरक्षणको पर्खाइमा ऐतिहासिक स्थल

ज्योति कटुवाल

दैलेख — पर्यटकीय सम्भावना बोकेका यहाँका ऐतिहासिक र पुरातात्त्विक महत्त्वका पञ्चकोसी तीर्थस्थल (पादुका, धुलेश्वर, नाभिस्थान, शिरस्थान, कोटिला), भीमपाइला, धौलापडा गुफा, कोतगढी जीर्ण बन्दै गएका छन् । त्यस्तै सिद्ध गुफा, मदानताल, पाथर नाउली, नेपाली भाषाको पहिलो शिलालेख, पञ्चदेवल, पौवा बालेश्वर मन्दिरलगायतका सम्पदा ओझेलमा परेका छन् ।

संरक्षणको पर्खाइमा ऐतिहासिक स्थल

दुल्लुमा अवस्थित एक हजार ३८ वर्ष पुरानो साउपाल अढाई शाक्यद्वारा निर्मित नेपाली भाषाको पहिलो शिलालेख र द्वन्द्वको समयमा माओवादीद्वारा ध्वस्त बनाएको दुल्लु दरबारको पुनर्निर्माण भएको छैन । ऐतिहासिक कोतगढी, सदियौंदेखि पानीमाथि निरन्तर प्रज्ज्वलित ज्वाला, पुरातात्त्विक ढुंगेधाराको संरक्षण र प्रवद्र्धन हुन सकेको छैन । परापूर्वकालमा पञ्चपाण्डवको समयमा निर्माण गरिएका मूर्तिहरू पर्यटकका लागि आकर्षण मानिन्छन् ।

दैलेखका सांस्कृतिक सम्पदाबारे जानकार अध्येता विश्व केसीले विभिन्न ३२ जातजातिको उद्गमस्थल मानिएको दैलेखमा सरकारी निकायको बेवास्ताले धार्मिक तथा पर्यटकीय स्थलहरूहरू संकटमा परेको बताए । ‘पर्यटकीय तुलनामा काठमाडौं, लुम्बिनीपछि दैलेख तेस्रो पर्यटकीय क्षेत्र हो,’ उनले भने, ‘पुरातात्त्विक, धार्मिक र ऐतिहासिक भौतिक सम्पदाको संरक्षण र प्रवद्र्धन हुन नसक्दा पर्यटकीय बिकास हुन सकिरहेको छैन ।’

विभिन्न जातजाति उद्गमस्थलको रूपमा रहेका गाउँहरू विकासमा धेरै पछाडि छन् । यहाँको भुर्तीबाट भुर्तेल, दुल्लुबाट दुलाल, नेपाबाट नेपाल, कोइराला गाउँबाट कोइराला, कट्टीबाट कट्टेल, लयाटीबाट लुइटेल रहन गएको जनविश्वास छ । त्यस्तै रिजुबाट रिजाल, दहबाट दाहाल, बस्तकोटबाट बस्तकोटी, बासीबाट बस्याल, पराजुलबाट पराजुली, लम्सुबाट लम्साल, रूपाखेतबाट रूपाखेतीको नामकरण गरिएको संस्कृतिका अगुवाहरू बताउँछन् । दवाडाबाट दवाडी, बडबाट बडाललगायतका ३२ जातजातिको उद्गमस्थल दैलेख भएको इतिहासमा उल्लेख छ ।

गाविस, जिविस र नगरपालिकाले पर्यटकीय सम्पदाको संरक्षण र नयाँ गन्तव्य बनाउन पहल गर्नुपर्ने नागरिक अगुवाहरू बताउँछन् । स्थानीयको सक्रियता र सरकारी निकायको बेवास्ता नहुँदा ऐतिहासक सम्पदा र धार्मिक स्थल जीर्ण वन्दै गइरहेको दुल्लुका भुपालविक्रम शाहले बताए । ‘नेपाली सभ्यताको इतिहास दैलेखको दुल्लुमा छ । तर यसलाई पर्यटकीय गन्तव्य बनाउन कसैले चासो दिएका छैनन्,’ उनले भने ।

ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण र इतिहास लेखन प्रवद्र्धनका लागि फागुन १२ देखि २२ सम्म जिल्लामा पर्यटन महोत्सव आयोजना गरिएको छ । महोत्सव मूल समितिको संयोजक विष्णु शर्माले पर्यटक भित्र्याउन र पर्यटकीय सम्पदाको प्रवद्र्धनका लागि महोत्सब आयोजना गरिएको बताए ।

प्रकाशित : फाल्गुन ४, २०७३ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?