दुर्गममै स्यानिटरी प्याड उद्योग सञ्चालन, स्थानीय महिला लाभान्वित

हरिहरसिंह राठौर

सेमजोङ (धादिङ) — महिलाहरुले महिनावारी हुँदा प्रयोग गर्ने स्यानिटरी प्याड गाउँमै उत्पादन हुन थालेपछि सेमजोङका महिलाहरुलाई दोहोरो फाइदा पुगेको छ । आयातित प्याडहरु गाउँसम्म पुग्दा अत्यन्तै महँगोमा किन्नुपर्ने अवस्थाबाट छुटकारा पाएका छन् भने स्थानीय महिला कृषि सहकारीले स्थानीयस्तरमै प्याड उत्पादन गरेर बिक्री गर्न थालेपछि महिलाहरुको आम्दानीको स्रोत समेत भएको छ ।

दुर्गममै स्यानिटरी प्याड उद्योग सञ्चालन, स्थानीय महिला लाभान्वित

हाल धादिङ लगायत देशभरका सहरहरुमा महिनावारी भएका बेला लगाउने स्यानिटरी प्याडका लागि भारत र चिनकै भर पर्नुपर्ने अवस्था छ । तर सेमजोङका महिलाले गाउँमै गुणस्तरीय प्याड उत्पादन गर्न थालेका छन् । महिलालाई आत्मनिर्भर बनाउन समेजोङमा माघ पहिलो सातादेखि उद्योग नै खोलेर प्याडको उत्पादन सुरु गरिएको हो । प्याड उत्पादनका लागि जर्मन विकास सहयोग (जीआइजेड)ले तालिम तथा मेसिन खरिद गरी स्थानीय महिलाहरुलाई उपलव्ध गराएको थियो । सदमुकाममबाट एक दिनको पैदल दूरीमा रहेको विकट गाविस सेमजोङमा प्याड उद्योगले महिलाहरुलाई आकर्षित गरेको साना किसान महिला सहकारी, सेमजोङकी अध्यक्ष मीना तामाङले बताइन् । उनले भनिन्, ‘भूकप्पपछि विद्यालय पुनर्निर्माण तथा स्वास्थ्यचौकी पुनर्निर्माणमा सघाउन सेमजोङ गाविसमा आएको जीआइजेडको टोलीले प्याड उत्पादन गर्नको लागि स्थानीय महिलाहरुलाई तालिम दिएपछि सहकारीमार्फत सञ्चालन हुने गरी मेसिन खरिद गरेर यही प्याड उद्योग सञ्चालन गरेका छौं ।’

सहकारीले प्याड उत्पादन गर्न थालेपछि गाउँका महिलाले पनि स्थानीयरुपमै रोजगारी पाएर राम्रो कमाई गर्न थालेको सहकारीको पनि आम्दानी बढेको मीनाको भनाइ छ । गाउँमै उत्पादन भएको एक प्याकेट प्याडको ६० रुपैयाँमात्रै पर्छ । आयातित प्याडभन्दा सस्तो र गुणस्तरीय भएकाले प्याडको माग पनि बढ्दै गएको छ । बाहिरबाट खरिद गरेको प्याडभन्दा गाउँकै उत्पादन निकै गुणस्तरयुक्त भएको स्थानीय किशोरी पुनम तामाङले बताइन् ।

प्याड बनाउने तालिम लिएपछि महिलाहरु मिलेर उद्योग खोलेका हुन् । उद्योगले हरेक दिन तीन सय प्याड उत्पादन गर्ने गरेको छ । सस्तोमा गुणस्तरीय प्याड पाउने भएपछि माग धान्नै नसकिएको अध्यक्ष तामाङले बताइन् । ‘अहिले परीक्षणको रुपमा उत्पादन गरेर गाउँमा नै बिक्री वितरण गरिएको छ’ सहकारीकी अध्यक्ष तामाङले भनिन्, ‘उत्पादन राम्रो र सस्तो भएकाले अब उत्पादन बढाएर अन्य गाविस तथा बजारहरुमा पनि निर्यात आरम्भ गर्छौं ।’

गाउँमा नै महिलाहरुले काम गर्न सक्ने उद्योग स्थापना भएपछि आफूहरुले रोजगारी पाएको र आम्दानीको स्रोत समेत बढेको प्याड उद्योगमा काम गर्ने सेमजोङकै पुष्पा तामाङले बताइनन् । उनले भनिन्, ‘हामीलाई त दोहोरो फाइदा भएको छ, एकातिर रोजगारी पाइएको छ, अर्कातिर आफैंले प्रयोग गर्ने सामाग्री किन्न बजार गइराख्नु नपर्ने भएको छ ।’

दुई महिनाअघि सञ्चालनमा आएको उक्त उद्योग महिलाहरुले दुर्गम गाउँमा चलाएको नमुना उद्योग भएको स्थानीयको भनाइ छ । महिलाहरुले मात्रै चलाएको उद्योग सहकारीमार्फत सञ्चालन गरिएको र कृषि सहकारीहरुले गर्ने अन्य कामको तुलनामा नमुना बन्दै गइरहेको सेमजोङका स्थानीयले दाबी गरेका छन् ।

स्थानीयस्तरमा प्याड बनाउदै सेम्जोङ्गका महिलाहरु ।
तस्बिर : हरिहर/कान्तिपुर

 

प्रकाशित : फाल्गुन ४, २०७३ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?