१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

रकम भेटियो, लिन कोही आएनन्

कान्तिपुर संवाददाता

मोरङ — १२ दिन बितिसक्दा पनि बीच सडकमा भेटिएको ५० हजार रुपैया दाबी गर्न कोही आएको छैन । विराटनगरको रानीपथस्थित जेसिबाल सदनको उत्तरतर्फ सडकमा भेटिएको रकम लिन कोही नआएको हो ।

बाल माध्यमिक विद्यालय रानीका प्रधानाध्यापक गोविन्द गजुरेलले भेटाएको उक्त रकम प्रहरीलाई जिम्मा लगाएका छन् ।

माघ २२ गते बिहान साढे ११ बजे विद्यालयबाट विराटनगर १ पोखरियास्थित घर फर्कने क्रममा उनले रब्बरले बेरेको ५ सयका सय नोट भेटाएका हुन् । त्यो रकम स्थानीयको रोहबरमा सडकबाट उठाएर तत्काल इलाका प्रहरी कार्यालय रानीका प्रहरी नायब निरीक्षक धनबहादुर कटुबाललाई बुझाएको बताए ।

अहिले उक्त रकम जिल्ला प्रहरी कार्यालयमा छ । एसपी सन्दीप भण्डारीले प्रधानाध्यापकले दिएको ५० हजार रुपैयाँ कार्यालयमा राखिरहे पनि हालसम्म कोही दाबी गर्न नआएको बताए ।

प्रधानाध्यापक गजुरेलले रकम भेटाएकोबारे कान्तिपुर दैनिकमा सूचनासमेत प्रकाशन गराएका छन् । कोही दाबी गर्न नआए कानुनी प्रक्रिया पूरा गरेर अनाथ आश्रमलाई प्रदान गर्ने बताए ।

प्रकाशित : फाल्गुन ४, २०७३ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?