कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बन्दै भत्किएका स्वास्थ्यचौकी

८ स्वास्थ्यचौकी पालबाटै
फातिमा बानु

काठमाडौं — भूकम्पले क्षतिग्रस्त ललितपुरका दक्षिण क्षेत्रका स्वास्थ्यचौकीको पुनर्निर्माण सुरु भएको छ । यहाँका १० गाविसका स्वास्थ्यचौकी पुनर्निर्माणका लागि सरकारले बजेट विनियोजन गरेपछि ती काम सुरु भएको हो ।

बन्दै भत्किएका स्वास्थ्यचौकी

दलचोकी, प्युटार, शंखु, चौघरे, ठूलादुर्लुङ, कालेश्वर गिम्दी, गोटीखेल, आश्राङ, लामाटार र चन्दनपुरका स्वास्थ्यचौकीको निर्माण आधा सकिएको प्रमुखहरूले बताएका छन् । ‘हाम्रो त भर्खरै सुरु भएको छ, पुरानैबाट सेवा दिइरहेका छौं,’ गिम्दी स्वास्थ्यचौकी प्रमुख वीरेन्द्र भण्डारीले भने । भूकम्पपछि स्वास्थ्यचौकीमा विद्युत् आपूर्ति नहुँदा सेवा दिन गाह्रो भएको उनी बताउँछन् ।

पुराना भवन भत्काएर नयाँ बनाइरहँदा अहिले स्वास्थ्य सेवा दिन असहज भएको प्युठार स्वास्थ्यचौकी प्रमुख प्रकाश घिमिरेले बताए । ‘नजिकैको भवन भाडामा लिएर चौकी चलाइरहेका छौं, बिरामीलाई सेवा दिन गाह्रो भइरहेको छ,’ उनले भने । स्वास्थ्यचौकीका भवन भूकम्पले जीर्ण बनेपछि केहीले पालबाटै सेवा प्रवाह गरिरहेका छन् । ‘केही महिनादेखि पालमै राखेर सुत्केरी गराउनु परेको छ,’ गिम्दी स्वास्थ्यचौकी प्रमुख मालती शाहीले बताइन् । यहाँका ८ स्वास्थ्यचौकी अझै पालबाटै सञ्चालन भइरहेका छन् ।

ललितपुर जिल्ला जनस्वास्थ्यले गोटीखेल र गिम्दीको स्वास्थ्यचौकी निर्माणका लागि १/१ करोड रुपैयाँ दिएको प्रमुख झलक शर्मा पौडेलले जानकारी दिए । सरकारको बजेटमा २ चौकी निर्माण हुँदै छन् भने बाँकी ८ का लागि भने सहयोगी संस्थाहरूले लगानी गर्ने उनले बताए । सहयोगी संस्थाले निर्माण गर्ने भनिएका ८ चौकीको भवन निर्माण भने सुस्त गतिमा भइरहेको जनस्वास्थ्य प्रमुख पौडेलले बताए ।
‘पर्याप्त बजेट नहुँदा चौकी निर्माणका लागि सहयोगी संस्थाको भर पर्नुपरेको हो,’ उनले भने । नयाँ बन्ने स्वास्थ्यचौकी पहिलेभन्दा ठूला र सुविधा सम्पन्न हुने बताइएको छ । ‘पहिले माटाका थिए अब ढलानसहितका भूकम्प प्रतिरोधी बन्नेछन्,’ पौडेलले भने । निर्माणाधीन १० वटै स्वास्थ्यचौकी वैशाखभित्रै बनिसक्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७३ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?