कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

धावन मार्गमै बटुवा र चौपाया

कान्तिपुर संवाददाता

मुगु — एक साताअघि रारा विमानस्थलबाट उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा कुकुर ठोक्कियो । चालकको सावधानीले दुर्घटना भएन । गत बिहीबार पनि चालकले कुकुरबाट जहाजलाई जोगाएका थिए ।

जिल्लाको एकमात्र रारा विमानस्थलमा तारजाली नलगाउँदा विमान उडान भर्ने र अवतरण गर्ने समयमा सुरक्षाकर्मीले निकै सास्ती खेप्नुपर्छ । विमान कम्पनीको प्रतिस्पर्धाले हवाई उडानमा वृद्धि भए पनि तारबार नहुँदा सुरक्षामा चुनौती थपिएको हो ।

तारबार र पर्खाल नहुँदा धावनमार्गबाटै बटुवा, विद्यार्थी र चौपाया ओहोरदोहोर गर्छन् । उडान र अवतरणको समयमा चौपाया र बटुवालाई रोक्न प्रहरीलाई धौ–धौ पर्ने गरेको छ । 

विद्यार्थी पनि विमानस्थलकै बाटो हुँदै आवत–जावत गर्छन् । जहाजले अवतरण र उडान गर्ने बेला विद्यार्थीलाई बीच बाटामै रोक्नुपर्ने बाध्यता छ । यसले विद्यार्थीको पठनपाठनमा समेत अवरोध पुर्‍याएको छ । स्थानीयले प्रयोग गर्दै आएको मुख्य बाटोले विमानस्थल वारपार गर्छ । वन/जंगलबाट घाँस, दाउरा लिएर आउने स्थानीय पनि त्यहींबाट आउजाउ गर्छन् । 

विमानस्थल कालोपत्रे भए पनि वरिपरि अझै घेराबार भएको छैन । तारजाली नहुँदा चौपाया पनि पस्ने गरेको प्रहरीले जनाएको छ । मुगुमा तारा, गोमा, सीता, मकालु र नेपाल एयरलाइन्सले उडान भर्ने गरेका छन् । सुर्खेत र नेपालगन्जबाट दैनिक पाँचदेखि सात वटासम्म उडान हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । 

सुरक्षा चेकजाँच गर्ने भवनसमेत निर्माण नहुँदा थप समस्या भएको कर्मचारी बताउँछन् । काठको टहरामै सुरक्षा चेकजाँच पोस्ट बनाइएको छ । रारा नागरिक उड्डयन कार्यालयका प्रमुख विशाल पाण्डेयले खुला विमानस्थलमा जहाज अवतरण गर्दा समस्या हुने गरेको जनाए ।

प्रकाशित : फाल्गुन ६, २०७३ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?