कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सरसफाइ मन्त्रीले टेरेनन् आचारसंहिता

कान्तिपुर संवाददाता

गुलरिया — निर्वाचन आचारसंहिता लागू भएको भोलिपल्टै खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले त्यसको उल्लंघन गरेका छन् । मन्त्री सिंह निर्वाचन आयोगको अनुमति नलिई बर्दियाको विभिन्न कार्यक्रममा सरिक भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयले मन्त्रीले आचारसंहिता उल्लंघन गरेको जनाएको छ ।

मन्त्री सिंहले बिहीबार सानोश्री तारा तालस्थित कुसुम्बा खानेपानी तथा उपभोक्ता समितिको पाँचौं साधारणसभाको उद्घाटन गर्नुका साथै खानेपानी ट्यांकीको अवलोकनसमेत गरेका छन् । उनले बा१झ ८९९८ नम्बरको सवारी साधनसहित पाँचवटा अन्य सरकारी गाडी प्रयोग गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख पवन शाहीले मन्त्री सिंह आयोगबाट स्वीकृति नलिई विभिन्न कार्यक्रममा सहभागी भएको बताए ।

‘विकास निर्माणको उद्घाटन र शिलान्यास गर्न पाइँदैन,’ उनले भने, ‘साधारणसभा उद्घाटन गर्न पाइए पनि सरकारी सवारी साधनसहित आउँदा आयोगको अनुमति चाहिन्छ ।’ मन्त्री सिंह सदरमुकाम गुलरियाबाट करिब १४ किलोमिटर पश्चिम सानोश्री तारातालको कार्यक्रममा सरिक भएका थिए । आयोगले आचार संहिता लागू गर्दै सदरमुकाम बाहिरका कार्यक्रममा नजान मन्त्रीहरूलाई निर्देशन दिएको थियो ।

प्रकाशित : फाल्गुन २०, २०७३ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?