मूल भासिएपछि धमिलो पानी बाध्यता

कान्तिपुर संवाददाता

पाल्पा — भूकम्पले मूल भासिएपछि दोभान ७, डढेगाउँ क्षेत्रका बासिन्दा त्रिवेणी खोलाको धमिलो पानी पिउन बाध्य छन् । गाउँमा खानेपानीको वैकल्पिक स्रोत नहुँदा डढेगाउँका साथै पीपलचौर, प्रगतिटोलका बासिन्दा धमिलो पानी पिउन बाध्य भएका हुन् ।

यहाँका करिब ६६ घरपरिवारले कुवा र खोलाको फोहोर पानी पिउनु परेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक शोभाखर अधिकारीले बताए । बस्तीका सबै घरपरिवार त्रिवेणी खोलाबाटै पानी ल्याएर पिउने गरेका हुन् । ‘धेरै टाढा गयो भने पानीको स्रोत छ,’ उनले भने, ‘होइन भने, नजिकमा पानी हिउँद वर्षा जहिले पनि धमिलो हुने गर्छ ।’ वर्षामा बाढी आएको बेला पानी धमिलो भएसँगै फोहोर पनि हुन्छ ।

स्थानीय लक्ष्मण बोहोराका अनुसार भूकम्प जानअघि गाउँको माथिल्लो भेकबाटै पानी बगे पनि भूकम्पपछि तल्लो सतहमा पुगेको छ । त्रिवेणी खोलाको बगरमाथि बस्ती छ । यहाँ खानेपानीको अन्य कुनै वैकल्पिक स्रोत छैन । भएका कुवा पनि हिउँद लागेपछि सुक्छन् । स्थानीय बासिन्दा पिउने पानीदेखि लुगा धुन र नुहाउन त्रिवेणी खोलाकै पानी प्रयोग गर्छन् । ‘सफा पानीका लागि २/३ घण्टा खर्चनुपर्छ,’ स्थानीय तेजबहादुर खत्रीले भने । अघिल्लो वर्षको खडेरी र वर्षामा पानी कम पर्दा झनै समस्या भएको उनले बताए । 

बिहानभर पानी खोज्दै बित्ने गरेको लक्ष्मण खडका बताउँछन् । ‘महिला र बालबालिकालाई समस्या धेरै छ,’ उनले भने, ‘समाधानको माग गरेका छौं ।’ गाउँमा पानीकै अभावमा गाईवस्तु पाल्न समस्या छ । तरकारी खेती गर्न पाएका छैनन् । गाउँ पुगेका कांग्रेस सभापति वीरबहादुर राना, क्षेत्रीय सभापति कृष्णप्रसाद बस्याल, दोभानका लालबहादुर थापा, पदमलाल शाक्यसमक्ष उनीहरूले खानेपानी समस्या समाधानका लागि माग गरेका छन् ।

‘गाउँको खानेपानी समस्या समाधान गर्नलाई सबैको गुनासो आएको छ,’ सभापति रानाले भने, ‘यसलाई गम्भीरताका साथ लिएका छौं ।’ लिफट खानेपानी योजना सञ्चालन नगरीकन यसको समाधान गर्न नसकिने प्राविधिक शोभाखर अधिकारीले बताए । उनका अनुसार पहिला सञ्चालन गरेको योजनाको खानेपानी टयांकी रित्तो छ । २४ घण्टामा १ लाख ५० हजार लिटर जम्मा गर्न सकिने पानीको स्रोत रहेको उनले बताए । 

प्रकाशित : फाल्गुन २५, २०७३ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?