२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नाला अतिक्रमणमा प्रशासन मौन

कान्तिपुर संवाददाता

वीरगन्ज — वीरगन्ज उपमहानगरपालिकाको भिस्वा र नगवा क्षेत्रमा नाला र कल्भर्ट नै व्यक्तिका नाममा दर्ता सम्बन्धी वैशाखको उजुरीको अझै छानबीन भएको छैन ।

कल्भर्टको जग्गा आफ्नो दाबी गर्दै भन्दै पर्खाल लगाएर घेराउ गर्न पटकपटक समूह आइरहेको छ । तर, स्थानीयले उनीहरूलाई फर्काइदिने गरेका छन् । १८ फिट चौडा र १ सय २१ फिट लम्बाइको सहायक नाला जयप्रकाश सिंह राजपुतले नामसारी गराएका हुन् । ‘राजपुतको नाममा आउनुअगावै उक्त कल्भर्टको जग्गा ४ जनाबीच खरिद–बिक्री भइसकेको रहेछ,’ ५६ वर्षीय राजालालप्रसाद साह भन्छन्, ‘२०५४ को नक्सामा कल्भर्टको जग्गामा कित्ता नम्बर उल्लेख भएको छैन । तर, अहिलेको नयाँ नक्सामा कल्भर्टको जग्गामा ३ सय ४३ कित्ता उल्लेख गरिएको छ ।’

२०५४ मा सहरको पूर्वी भागमा झन्डै साढे ७ किलोमिटर लामो बाइपास सडक निर्माण हुँदा पानीको सहज निकासका लागि ७ वटा कल्भर्ट निर्माण गरिएका थिए । पुरानो नापीमा समेत ती जग्गाहरू नाला र कल्भर्ट नै उल्लेख भए पनि अहिलेको नयाँ नापीमा कल्भर्ट देखाइएको छैन । ‘ढल निकासका लागि बाइपास सडकमुनि अझै हयुम पाइप लगाइएको छ,’ नगवाका ज्योतिविक्रम साहले भने, ‘तर, सडकको दायाँ र बायाँ बग्ने नाला अतिक्रमणमा परेका छन् । ठूला व्यापारिक घराना र भूमाफियाले नापी र मालपोतको मिलेमतोमा नामसारी गराएका छन् ।’ नगवा क्षेत्रमै पर्ने अर्को कल्भर्टलाई संगीता मोहताले दर्ता गराएकी छन् ।

नगर विकास समितिले नयाँ क्षेत्रमा बस्ती बसाउन प्लटिङ गरेको जग्गामा बनाएको कल्भर्ट र नालालाई ०७२ चैत २५ गते मोहताको नाममा दर्ता गरिएको पाएपछि स्थानीयले अदालतमा मुद्दा दर्ता गरेका छन् । नयाँ नापीको फिल्ड बुकमा कल्भर्ट लेखेको ठाउँमा रातो पेनले काटिएको छ । नगर विकासले प्लटिङ गरेको नगवा–१९ को कित्ता नम्बर ३८, ३९, ४०, ४२ र ४३ नेपाल बैंक लिमिटेडको वीरगन्जस्थित आदर्शनगर शाखाले खरिद गरेको थियो । कल्भर्ट र नाला ४१ नम्बर कित्तामा पर्छ । बैंकको लालपुर्जामा ४१ नम्बर कित्ता उल्लेख छैन ।

प्रकाशित : फाल्गुन २८, २०७३ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?