वीरगन्जमा होलीको उल्लास

भूषण यादव, मनोज पौडेल

वीरगन्ज — तराई–मधेसमा उल्लासपूर्वक मनाइने रंगको पर्व होलीको पूर्वसंध्यामा आर्थिक नगरी वीरगन्जमा चहलपहल बबढेको छ । विभिन्न संघसंस्थाले होली मिलन समारोहको आयोजना गरिरहेका छन् । काम गर्न गएकाहरू घर फर्किंदै छन् ।

वीरगन्जमा होलीको उल्लास

सप्तरी घटनाको विरोधमा शुक्रबार नेपाल बन्द आह्वान गरिए पनि यहाँका बन्दकर्ताले होलीको किनमेलमा यात्रुलाई असुविधा पर्ने देखेपछि बिहान ११ बजेदेखि नै कार्यक्रम फिर्ता लिएका थिए । आपसी मेलमिलाप र सद्भावका साथ मनाइन्छ होली पर्व । बजारमा किनमेल गर्नेको संख्या बढेको व्यापारी बताउँछन् । रंग खेल्न विशेष रूपमा प्रयोग गरिने पिचकारीको बिक्री बढेको माइस्थानका व्यापारी सुरेश कुमार गुप्ताले बताए ।
बजारमा सय रुपैयाँदेखि हजार रुपैयाँ पर्ने पिचकारीहरू उपलब्ध छन् । यसैगरी मोटु पतलु, डोरेमन, स्पाइडर म्यान, मिक्की माउस, बाघ आदिका चित्र अंकित नकाबप्रति बच्चा र युवाको आकर्षण बढेको छ । विभिन्न किसिमका रंग र अविरले पसल सजाइएका छन् । होली खेल्न लगाइने सेतो कुर्ता र टिसर्टको माग बढेको व्यापारीले जनाएका छन् । होलीका गीतले सहर र गाउँ गुञ्जयमान छन् । तर, संस्कृति र सभ्यता झल्काउने पुराना गीत क्रमश: लोप हुँदै गएका छन् । पछिल्लो समय आएका गीतले समाजमा विकृति फलाइरहेको पर्सा गर्दौलका राजेश यादवले बताए । द्विअर्थी र छाडा शब्दका गीतले भोजपुरी भाषाप्रति विकर्षण फैलाउने काम गरेको उनको भनाइ छ । ‘राम खेले होरी लक्ष्मण खेले होरी, हाथ लिए बेलपत्र के दउरा मन से महादेव के पूजा हे गौराजस्ता पारम्परिक गीत अहिले सुन्न पाइँदैन,’ उनले भने, ‘आपसी भाइचारा र सद्भावसाथ मनाइने होली पछिल्लो समय रीस साध्ने पर्व बन्दै छ ।’
वर्षको एक दिन होलीमा मासु खान मौका जुर्ने भएकाले पनि निम्न आर्थिक अवस्थाकाहरू यो पर्वको पर्खाइमा हुन्छन् । चार गुण बढी खसीको मासु खपत हुने होलीमा लहान, बैलवास, निजगड र सीमावर्ती विहारका गाउँबाट खसी ल्याइने गरेको छपकैयाका मासु व्यवसायी ग्यासु मिया देवानले बताए ।
सीमावर्ती सहर वीरगन्जमा फागु पर्व दुई दिनसम्म मनाइने गरिन्छ । पहाडी समुदायले आज आइतबार र मधेसीले सोमबार मनाउनेछन् । त्यसो त पहाडी समुदायले भोलिपल्ट पनि मधेसीसँग मिसिएर उत्साहलाई निरन्तरता दिन्छन् । आर्थिक नगरीमा ठूलो संख्यामा बसोबास गर्दै आएका मारवाडी समुदायले पनि हर्षोल्लासपूर्वक मनाउँछन् ।

हराउँदै फागुवा
मधेसमा बढदो आधुनिकतासँगै होलीको परम्परागत संस्कृति भने हराउन थालेको छ । युवा पुस्ताले ऐतिहासिक महत्त्वको संस्कृति भुल्न थालेका छन् । फागुपूर्णिमाको २ साताअघि फागु परेवाका दिन सम्मत गाड्ने र जलाउने चलन हराएको छ । खेतमा काठ गाडेर धार्मिक विधिपूर्वक सम्मतको पूजा गर्ने चलन थियो । १५ दिनसम्म दैनिक रातका बेला आगो बाल्दै अन्नपात–बाली चुँडेर सम्मत जलाइन्थ्यो । ‘अन्नपात जलाउँदा नराम्रा पक्ष नाश हुने विश्वास छ, त्यहाँबाट लगेको खरानीको टीका लगाइन्थ्यो,’ अवधी संस्कृतिका जानकार राधवेन्द्र श्रीवास्तवले भने, ‘पूजा गर्दा गाउँ र सर्वसाधारणको रक्षा हुन्छ भन्ने जनविश्वास थियो ।’
२ साता अघिदेखि गाउँमा फगुवा गीत गाउने चलन रहेको अवधी संस्कृतिका जानकार पशुपतिमणी त्रिपाठीले बताए । ‘तर, आजभोलि सुन्नै छाडिएको छ,’ उनले भने । त्रिपाठीका अनुसार चौताल, धमारी र डेढतालमा गीत सुन्दाको आनन्द छुट्टै हुन्थ्यो । अहिले तीनको ठाउँ फिल्मी संगीतले ओगटेको छ ।
‘सम्मत जलाएको खरानी लगाएर होली खेल्न सुरु गरिन्थ्यो,’ उनले भने, ‘तर आजभोलि पहिले रंगअविर नै दलिन्छ ।’ होलीका दिन मौलिक पकवान खुवाउने चलन पनि हराउन थालेको छ । पहिले गोझिया, गुलगुला र खोवाको लड्डु साथीभाइलाई खुवाउने चलन थियो । आजभोलि पसलबाट मिठाई खरिद गरी खुवाउने गरिन्छ । होलीका बेला गाउँघरमा जोगिरा सरर लयमा गाइने गीत पनि अहिले सुनिन छाडेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७३ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?