पोखरा मुलुककै ठूलो महानगर

स्थानीय तह कार्यान्वयन
दीपक परिया

लेखनाथ — स्थानीय तह पुन:संरचना आयोगले निर्धारण गरेका चार महानगरमध्ये पोखरा–लेखनाथ महानगरपालिका क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो भएको छ । पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका गाभिएपछि महानगरको क्षेत्रफल ४ सय ६४.२४ वर्गकिमि पुगेको छ । क्षेत्रफलका हिसाबले अब पोखरा काठमाडौंभन्दा ९, ललितपुरभन्दा १८ र भरतपुरभन्दा साढे दुई गुणा ठूलो भएको हो ।

कास्कीका चापाकोट, मौजा, पुरन्चौर र कास्कीकोट गाविस, भदौरे तामागीका ३ र ९ नम्बर वडा, माझठानाका १, ४ देखि ९ नम्बर वडा र कालिकाका १ देखि ५ नम्बर वडा पनि पोखरा–लेखनाथ महानगरमा गाभिएका छन् । ३३ वडामा समेटिएको महानगरको जनसंख्या ४ लाख १३ हजार ३ सय ९७ पुगेको छ । कास्कीमा महानगरबाहेक रुपा, मादी, माछापुच्छ्ेर र अन्नपूर्ण गरी चार गाउँपालिका समेत छन् । गाउँपालिकाको जनसंख्या ७८ हजार ६ सय छ । महानगरभित्र एक विश्वविद्यालय, १ सय ५६ उच्च मावि र क्याम्पस, ६१ स्वास्थ्य संस्था, ८ कृषि सेवा केन्द्र, ४ पशु सेवा केन्द्र छन् । कालोपत्रे १ सय २४ किमि, ग्राभेल १ सय ७ किमि र कच्ची ३ सय १५ किमि गरी सडक क्षेत्र ५ सय ४६ किमि छ ।
पोखराले २०१६ सालमा नगरपालिका घोषणा भएर उपमहानगर हुँदै महानगरको यात्रा तय गरेको हो । लेखनाथ नगरपालिका २०५३ माघमा गठन भएको हो । कविशिरोमणि लेखनाथ पौडयालको जन्मथलो भएकाले उनैको नामबाट नगरको नामकरण गरिएको थियो । विगतमा पोखराले तीनवटा स्थानीय चुनाव बेहोर्दा लेखनाथले एउटामा मात्रै सहभागिता जनाउन पाएको छ ।

लेखनाथमा प्रादेशिक बसपार्क, पोखरा–लेखनाथ रिङरोड, चार लेनको मुग्लिन–पोखरा सडक खण्ड, रुपाताल परियोजनाजस्ता ठूला विकासनिर्माणका पूर्वाधारका लागि योजना स्वीकृत भइसकेका छन् । पोखरा उपमहानगरपालिकाले आफ्नै डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । लेखनाथको आफ्नै डम्पिङ साइट छैन । स्थानीयले फोहोर घरबारीमै व्यवस्थापन गर्नुपर्छ ।

पोखरा उपमहानगरपालिका विस्तार हुनुपूर्वका १८ वटा वडा पूर्वाधार विकासमा अघि छन् । २०७१ मंसिर १६ पछि थपिएका ११ वडा भने पूर्वाधारमा निकै पछाडि छन् । ग्रामीण भेगमा पर्ने महानगरका वडाको विकास नै अब निर्वाचित हुने जनप्रतिनिधिका लागि ठूलो एजेन्डा र चुनौती बन्नेछ । यद्यपि पोखरा उपमहानगरपालिकाले स्थानीय चुनावलाई मध्यनजर गरेर बजेट बनाएको छ । पोखरामा पछि थपिएका १८ वटा वडामा १५ देखि २० लाख रुपैयाँसम्म बजेट थपिएको छ । विकास निर्माणमा पनि ४० प्रतिशत जनसहभागिता हुनुपर्नेमा ग्रामीण वडामा २० प्रतिशत मात्रै भए पुग्ने व्यवस्था उपमहानगरपालिकाले गरेको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी बढ्दो प्लटिङ नै पोखरा महानगरको मुख्य चुनौती देख्छन् । ‘प्लटिङले पोखरा साँघुरो भइसकेको छ,’ उनी भन्छन्, ‘लेखनाथमा अझै बिग्रिसकेको छैन । गुरुयोजना बनाएर जग्गा व्यवस्थित बनाउनुपर्छ ।’ प्रदेश नम्बर ४ को राजधानी पोखरा नै भएकाले सार्वजनिक जग्गाको संरक्षणमा ध्यान पुर्‍याउनुपर्ने उनको धारणा छ ।

बढे मेयरका आकांक्षी
महानगर भएपछिको पहिलो स्थानीय तह चुनावका लागि प्रमुख हुन चाहने आकांक्षी पनि बढेका छन् । स्थानीय निकाय निर्वाचनको मिति घोषणासँगै पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिन पार्टीहरूमा लबिङसुरु भएको छ ।

मेयरमा चुनाव लड्न सबैभन्दा धेरै कांग्रेसबाट आकांक्षी देखिएका छन् । कांग्रेसबाट सांसद यज्ञबहादुर थापा, जिल्ला सभापति कृष्ण केसी, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापा, पूर्वउपमेयर नरेशशंकर पालिखे, पोखरा नगर सभापति बजीरमान श्रेष्ठ, पूर्ववडाध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, कृष्ण कार्की र राजेन्द्रमणि लामिछानेले आकांक्षा देखाएका छन् ।

एमालेबाट बैकल्पिक केन्द्रीय सदस्य मानबहादुर जीसी, जिल्ला अध्यक्ष कृष्ण थापा, युवा संघ अध्यक्ष राजीव पहारी, एमाले निकट राष्ट्रिय वाणिज्य संगठन केन्द्रीय अध्यक्ष धनराज आचार्य, जिल्ला विकास समितिका पूर्वउपसभापति श्रीनाथ बराल, नगर कमिटी अध्यक्ष तेजनारायण अधिकारी, इन्जिनियर भरत पहारी, मनबहादुर गुरुङ, पुष्पज्योति ढुंगाना र जीवन आचार्य मेयरका आकांक्षी हुन् ।

माओवादी केन्द्रबाट कास्की अध्यक्ष दीपक कोइराला, पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने, कोमलनाथ बराल, झलकपाणि तिवारी, रामजी बराललगायतको आकांक्षा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जिल्ला अध्यक्ष जयलाल पुन, पोखरा नगर कमिटी अध्यक्ष रमेश खत्री र कृष्ण रेग्मीले इच्छा देखाएका छन् । नयाँ शक्तिबाट पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष जीतबहादुर तमु, कास्की अध्यक्ष किरण थापा, पूर्व कर्नेल मदन केसी र टीकाराम पौडेलको दावा छ ।

नाममा विवाद
पोखरा लेखनाथ महानगरपालिकाको नाममै विवाद देखिएको छ । पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका गाभिएपछि ‘पोखरा–लेखनाथ’ नै राख्नुपर्ने एउटा पक्षको तर्क छ भने लेखनाथ नजोडी पोखरा मात्रै राख्नुपर्ने अर्को पक्षले तर्क गरेको छ । विशेषत: युवा जमातले पोखरा पछाडि ‘लेखनाथ’ जोड्न नहुने तर्क सामाजिक सञ्जालमा बलियो गरी उठाएका छन् । युवा राजनीतिकर्मी दिनेश आचार्य बृहत् पोखराका बारेमा सोच्नुपर्ने पक्षमा छन् ।
फेसबुकमा उनी लेख्छन्, ‘महानगरपालिकाको नाममा पोखरा पछाडि लेखनाथ भनेर पुच्छर झुन्डयाउनुको आवश्यकता छजस्तो मलाई लाग्दैन किनकि अब पनि हामी लेखनाथका हौं भनेर भाग खोज्नुभन्दा समग्र बृहत् पोखराका जिम्मेवार सरोकारवाला हौं भनेर बुझ्न जरुरी छ ।’ लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी पनि देशविदेशमा पोखरा नाम नै बढी चर्चित भएकाले लेखनाथ जोडिरहनु नपर्ने बताउँछन् । ‘कविशिरोमणिको सम्मानमा लेखनाथ जोडिएको होला,’ उनी भन्छन्, ‘पोखरा स्थापित नाम भइसकेकाले अन्य नाम जोड्न आवश्यक छैन ।’

प्रकाशित : फाल्गुन २९, २०७३ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

वीरगन्जमा होलीको उल्लास

भूषण यादव, मनोज पौडेल

वीरगन्ज — तराई–मधेसमा उल्लासपूर्वक मनाइने रंगको पर्व होलीको पूर्वसंध्यामा आर्थिक नगरी वीरगन्जमा चहलपहल बबढेको छ । विभिन्न संघसंस्थाले होली मिलन समारोहको आयोजना गरिरहेका छन् । काम गर्न गएकाहरू घर फर्किंदै छन् ।

सप्तरी घटनाको विरोधमा शुक्रबार नेपाल बन्द आह्वान गरिए पनि यहाँका बन्दकर्ताले होलीको किनमेलमा यात्रुलाई असुविधा पर्ने देखेपछि बिहान ११ बजेदेखि नै कार्यक्रम फिर्ता लिएका थिए । आपसी मेलमिलाप र सद्भावका साथ मनाइन्छ होली पर्व । बजारमा किनमेल गर्नेको संख्या बढेको व्यापारी बताउँछन् । रंग खेल्न विशेष रूपमा प्रयोग गरिने पिचकारीको बिक्री बढेको माइस्थानका व्यापारी सुरेश कुमार गुप्ताले बताए ।
बजारमा सय रुपैयाँदेखि हजार रुपैयाँ पर्ने पिचकारीहरू उपलब्ध छन् । यसैगरी मोटु पतलु, डोरेमन, स्पाइडर म्यान, मिक्की माउस, बाघ आदिका चित्र अंकित नकाबप्रति बच्चा र युवाको आकर्षण बढेको छ । विभिन्न किसिमका रंग र अविरले पसल सजाइएका छन् । होली खेल्न लगाइने सेतो कुर्ता र टिसर्टको माग बढेको व्यापारीले जनाएका छन् । होलीका गीतले सहर र गाउँ गुञ्जयमान छन् । तर, संस्कृति र सभ्यता झल्काउने पुराना गीत क्रमश: लोप हुँदै गएका छन् । पछिल्लो समय आएका गीतले समाजमा विकृति फलाइरहेको पर्सा गर्दौलका राजेश यादवले बताए । द्विअर्थी र छाडा शब्दका गीतले भोजपुरी भाषाप्रति विकर्षण फैलाउने काम गरेको उनको भनाइ छ । ‘राम खेले होरी लक्ष्मण खेले होरी, हाथ लिए बेलपत्र के दउरा मन से महादेव के पूजा हे गौराजस्ता पारम्परिक गीत अहिले सुन्न पाइँदैन,’ उनले भने, ‘आपसी भाइचारा र सद्भावसाथ मनाइने होली पछिल्लो समय रीस साध्ने पर्व बन्दै छ ।’
वर्षको एक दिन होलीमा मासु खान मौका जुर्ने भएकाले पनि निम्न आर्थिक अवस्थाकाहरू यो पर्वको पर्खाइमा हुन्छन् । चार गुण बढी खसीको मासु खपत हुने होलीमा लहान, बैलवास, निजगड र सीमावर्ती विहारका गाउँबाट खसी ल्याइने गरेको छपकैयाका मासु व्यवसायी ग्यासु मिया देवानले बताए ।
सीमावर्ती सहर वीरगन्जमा फागु पर्व दुई दिनसम्म मनाइने गरिन्छ । पहाडी समुदायले आज आइतबार र मधेसीले सोमबार मनाउनेछन् । त्यसो त पहाडी समुदायले भोलिपल्ट पनि मधेसीसँग मिसिएर उत्साहलाई निरन्तरता दिन्छन् । आर्थिक नगरीमा ठूलो संख्यामा बसोबास गर्दै आएका मारवाडी समुदायले पनि हर्षोल्लासपूर्वक मनाउँछन् ।

हराउँदै फागुवा
मधेसमा बढदो आधुनिकतासँगै होलीको परम्परागत संस्कृति भने हराउन थालेको छ । युवा पुस्ताले ऐतिहासिक महत्त्वको संस्कृति भुल्न थालेका छन् । फागुपूर्णिमाको २ साताअघि फागु परेवाका दिन सम्मत गाड्ने र जलाउने चलन हराएको छ । खेतमा काठ गाडेर धार्मिक विधिपूर्वक सम्मतको पूजा गर्ने चलन थियो । १५ दिनसम्म दैनिक रातका बेला आगो बाल्दै अन्नपात–बाली चुँडेर सम्मत जलाइन्थ्यो । ‘अन्नपात जलाउँदा नराम्रा पक्ष नाश हुने विश्वास छ, त्यहाँबाट लगेको खरानीको टीका लगाइन्थ्यो,’ अवधी संस्कृतिका जानकार राधवेन्द्र श्रीवास्तवले भने, ‘पूजा गर्दा गाउँ र सर्वसाधारणको रक्षा हुन्छ भन्ने जनविश्वास थियो ।’
२ साता अघिदेखि गाउँमा फगुवा गीत गाउने चलन रहेको अवधी संस्कृतिका जानकार पशुपतिमणी त्रिपाठीले बताए । ‘तर, आजभोलि सुन्नै छाडिएको छ,’ उनले भने । त्रिपाठीका अनुसार चौताल, धमारी र डेढतालमा गीत सुन्दाको आनन्द छुट्टै हुन्थ्यो । अहिले तीनको ठाउँ फिल्मी संगीतले ओगटेको छ ।
‘सम्मत जलाएको खरानी लगाएर होली खेल्न सुरु गरिन्थ्यो,’ उनले भने, ‘तर आजभोलि पहिले रंगअविर नै दलिन्छ ।’ होलीका दिन मौलिक पकवान खुवाउने चलन पनि हराउन थालेको छ । पहिले गोझिया, गुलगुला र खोवाको लड्डु साथीभाइलाई खुवाउने चलन थियो । आजभोलि पसलबाट मिठाई खरिद गरी खुवाउने गरिन्छ । होलीका बेला गाउँघरमा जोगिरा सरर लयमा गाइने गीत पनि अहिले सुनिन छाडेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७३ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्