कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सडक खन्दा पुरियो नहर

गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठानस्थित स्वर्गद्वारी नगरपालिका–५ सारी ल्याउने लुंग्रीमाडी सिंचाइ आयोजना सडक खन्ने क्रममा पुरिंदा लाखौंको क्षति भएको छ । लामो समयसम्म निर्माणाधीन नहर पुरिएपछि यसै वर्ष निर्माण सम्पन्न हुनेमा फेरि अन्योल छाएको हो । रोल्पा सुवर्ण गाउँपालिका सुलिचौरस्थित रुनिबाङ क्षेत्रमा तेवाङ, अरेस र गाम पुर्‍याउने सडकहरू खन्ने क्रममा निस्केको माटो, ढुंगा सिधै नहरमा फाल्दा क्षति पुगेको हो ।

सडक खन्दा पुरियो नहर

‘२९ वर्षदेखि निर्माणाधीन लुंग्रीमाडी सिंचाइ आयोजना यस वर्ष पूरा गर्ने गरी काम भइरहेको थियो,’ सिंचाइ विकास डिभिजन कार्यालय प्यूठानका डिभिजन प्रमुख कृष्णबहादुर विश्वकर्माले भने, ‘निर्माण भएका नयाँ र पुराना संरचनामा धेरै क्षति भयो ।’ उनले नहरमा क्षति भएका कारण आउँदो वैशाखसम्म निर्माण कार्य सम्पन्न गरी पानी चलाउन समस्या पर्ने देखिएको जानकारी बताए । कार्यालयले १ करोड ५० लाख बराबरको नहरमा क्षति पुर्‍याएको प्रारम्भिक आकलन गरेको उनले जानकारी दिए ।

रोल्पा लुंग्रीखोलाको पुरानो मुहानदेखि ३ सय ६० मिटरसम्म तेबाङ–अरेस सडक खन्ने क्रममा निर्माण भएका संरचना प्रयोगमा ल्याउन नसक्ने गरी क्षति पुगेको उनले बताए । ‘जुतुङ खोलादेखि लुंग्रीखोलासम्म अधिकांश पुराना संरचना सफाइ तथा पुनर्निर्माण लाइनिङको काम गर्दै थियौं,’ विश्वकर्माले भने, ‘सडक खन्दा नहर पुरियो । हिजोआज काम रोकिएको छ ।’ उनले पुस २५ मा स्थानीय सरोकारवालाहरूसँग बैठक बसी नहरमा क्षति नपुर्‍याउने गरी सडक खन्ने सहमति कार्यान्वयन नगर्दा नहरमा क्षति पुगेको बताए ।

माडी क्षेत्रमा पर्ने जिल्लाको सारी, बेलवास र वर्जिवाङ क्षेत्रका किसानहरूलाई बाह्रै महिना सिंचाइ सुविधा पुर्‍याउने उद्देश्यले २०४४ सालदेखि १२ किलोमिटर लम्बाइको आयोजना निर्माण थालिएको थियो । स्थानीयले आयोजनामा भएको ढिलाइको विषयमा जिल्लादेखि केन्द्रसम्मका नेताहरूलाई ध्यानाकर्षण गराउँदै आएका छन् । ‘टेन्डरमार्फत हुने सबै काम ठेकेदारले सम्पन्न गर्न लागेका थिए,’ सारीका स्थानीय भरत राउतले भने, ‘उपभोक्तामार्फत हुने काम पनि सकिएको छ ।’ उपभोक्ता समितिमार्फत यसपटक ३६ लाख रुपैयाँ बराबरको नहर खन्ने काम सम्पन्न गरिएको राउतले बताए । आयोजना निर्माण गर्नका लागि विभिन्न चरणमा गरी हालसम्म करिब १२ करोड २० लाख रुपैयाँ बजेट खर्च भइसकेको कार्यालयले जनाएको छ । जिल्लाको पहिचानसँग जोडिएको निर्माणाधीन उक्त आयोजना यसपटक पनि अधुरै हुने भएपछि यस क्षेत्रका किसानहरू चिन्तित भएको सारीका स्थानीय हीरामणि भण्डारीले बताए । ‘सडक खन्दा नहर पुरिएको विषयमा रोल्पा जिविसमा डेलिकेसन गएका थियौं,’ भण्डारीले भने, ‘अरेस जाने सडक खन्न रोकियो । तेवाङ जाने सडक जबर्जस्त खन्दा ठूलो क्षति हुन गयो ।’

रोल्पाको सुलिचौरस्थित लुंग्रीमाडी खोलाबाट नहरमा पानी ल्याई बाह्रै महिना सिंचाइ सुविधा उपभोग गर्ने किसानहरूले वर्षौंदेखि आशा गरेको भण्डारीले बताए । आयोजनाबाट ७ सय ६२ घरधुरी किसानको २ सय ३० हेक्टर क्षेत्रफल जमिन क्षेत्रफलमा बाह्रै महिना सिंचाइ गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७३ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?