कलैया अस्पताल लथालिंग

फातिमा बानु, लक्ष्मी साह

बारा — गत साता कलैयाकी खुस्बु खातुनलाई कान दुख्ने व्यथाले सतायो । उनलाई तुुरुन्तै कलैया जिल्ला अस्पताल पुर्‍याइयो । तर, अस्पतालमा कानको उपचार गर्ने विशेषज्ञ डाक्टर थिएनन् । उनलाई त्यसै फर्काइयो ।

‘कलैयाको कुनै पनि सरकारी र निजी स्वास्थ्य संस्थामा कानको विशेषज्ञ नभेटिएपछि पेनकिलर (पीडा कम गर्ने औषधि) खाएर बसिरहेकी छु,’ उनले सुनाइन्, ‘अब त त्यसले पनि काम गर्न छाड्यो ।’

पाँच महिनादेखि कलैया जिल्ला अस्पताल प्रमुखविहीन छ । तत्कालीन प्रमुख छठुप्रसाद यादवको कार्यकाल सकिएपछि अस्पताल प्रमुखविहीन भएको अस्पतालका निरीक्षक विजय कुसवाहाले बताए । प्रमुख नभएकै कारण अस्पतालमा कार्यरत डाक्टरहरू तोकिएको समयसम्म नबस्ने, मन लागेको समयमा निस्किदिने गरेको बिरामीको गुनासो छ । 

गत साता नै कलैयाकी सुभागिया रामकी ७ वर्षीया छोरी ज्वरोले थलिइन् । दिउँसो ३ बजे अस्पताल परिसरमा भेटिएकी सुभागिया डाक्टर नभेटिएर आत्तिएकी थिइन् । ‘छोरीले आँखा खोल्न पनि सकेकी छैन, औषधि लेखिदिने डाक्टर छैन,’ उनले भनिन्, ‘प्राइभेट मेडिकल जान पैसा छैन ।’ 

अस्पतालमा गम्भीर दुर्घटनामा परेका बिरामी दिनहुँ आउँछन् । तर, विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई नारायणी अञ्चल अस्पताल वीरगन्ज रिफर गर्नुपरेको निरीक्षक कुसवाहाले बताए । ‘अञ्चल अस्पतालमा बिरामीको चाप हुन्छ, यहाँबाट रिफर गरेर पठाइएका बिरामीले समयमा उपचार पाउँदैनन्,’ उनले भने, ‘कतिको त उपचार नपाएर ज्यानै जान पनि सक्छ ।’ प्रमुख नभएकैले अस्पतालका नीतिगत निर्णयहरू हुन नसकेको कुसवाहा बताउँछन् । ‘कति निर्णय थाती छन्, त्यसको प्रत्यक्ष असर बिरामीले भोग्नु परेको छ,’ उनले भने ।

अस्पतालको पूर्णकालीन सेवामा डा. एनामूल हक, डा. मुक्तिनारायण शाह, डा. मुस्तकिम साह र डा. रमेश शर्मा छन् । तर, इमर्जेन्सी सेवामा समेत उनीहरू नभेटिने गरेको बिरामीले गुनासो गरे । सरकारले डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले बिहान ८ देखि ५ बजेसम्म अनिवार्य बस्नैपर्ने स्वास्थ्य निर्देशिका पारित गरेर लागू गरेको छ । तर, कलैया अस्पतालमा यो लागू भएको छैन । 

अस्पताल फोहोर बन्दै गएको र बिरामीको खाना तथा उपचार सेवा सन्तोषजनक नभएको सर्वसाधारण गुनासो गर्छन् । अस्पतालभित्रका स–साना सामानदेखि भिडियो एक्सरे मेसिनसमेत चोरी भएको अस्पताल स्रोतले बतायो । अस्पतालका डाक्टरले आफ्नै निजी क्लिनिकलाई बढी समय दिएको आरोप पनि स्थानीयले लगाए । ५० शय्याको अस्पतालमा १४ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । तर, एक जना मात्रै स्थायी डाक्टर छन् । अरू सबै डाक्टर करार छन् । प्रमुख नहुँदा विशेषज्ञ डाक्टर नियुक्त हुन सकेको छैन । अस्पतालमा नाक, कान, घाँटीको विशेषज्ञ छैनन् भने बालरोग, प्रसूति विशेषज्ञ, मेडिकल अधिकृत, प्राविधिकको पनि अभाव छ । सर्जन चिकित्सकको दरबन्दीसमेत खाली छ । 

अस्पतालमा आईसीयू, एम्बुलेन्स र ब्लड बैंक पनि छैन । स्वास्थ्य निर्देशिका अनुसार चौबीसै घण्टा फार्मेसी खुल्ला राख्नुपर्ने भनिए पनि २ नबज्दै बन्द हुने बिरामीले बताए । 

प्रकाशित : फाल्गुन ३०, २०७३ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?