१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘मासु पाक्दैन, दूध नीलो’

म्याद गुज्रेका खाद्य

पाल्पा — ‘बजारबाट मासु लिएर गयो पाक्दैन । दूध घरमा लगेर तताउँदा नीलो हुन्छ । म्याद गुज्रेका सामान पसलैपिच्छे छयापछयाप्ती छन्,’ बगनासकाली ९, चापपानीका रणप्रताप खाँडको गुनासो छ । उनले प्रजिअ बाबुराम गौतम र प्रहरी प्रमुख एसपी हरिराज वाग्लेलाई सोधे, ‘बजारमै अवस्था यस्तो छ । अनुगमन गर्न भ्याउनु हुन्न गाउँ कहिले आउनुहुन्छ ?’

इन्सेकले तानसेनमा राखेको अन्तक्र्रियामा तानसेन ४ कै अजयमान कर्माचार्यले सोधे, ‘एसपी साब तपाईंको भान्सामा पाक्ने मासु पुग्छ होला । हाम्रो भान्सामा पुग्ने मासु पाक्न प्रेसर कुकरमा १० सिठी लगाउनुपर्छ अझ पाक्दैन ।’ उनले १० वर्षअघिसम्म घरमा लग्ने मासु २ सिठीमै पाकेको अनुभव एसपी वाग्लेलाई सुनाए । ‘बजारमा दूध र मासुको अवस्था कहिल्यै सुध्रिएन । यसमा प्रहरी प्रशासनको भूमिका देखिएन । गल्ती गर्नेलाई कारबाही नभएपछि कसरी उपभोक्ताले अधिकार पाउने ?’ उनले भने । बजारमा मासु, दूधको मिसावट मात्र होइन तितेकरेला र काँक्रो उत्पादन गर्ने किसानले नै नखानु भन्ने गरेको कर्माचार्यले सुनाए । जिल्लास्तरमा अनुगमन समिति पनि छ । तर, नाम मात्रको समितिले अहिलेसम्म गल्ती गर्ने व्यापारी, व्यवसायीलाई कारबाही गरेको तथ्यांक छैन । प्रजिअ गौतमले बजार अनुगमन गरे पनि बाहिर हल्ला नगरी गरिएको बताए । उनले दूध, मासु र अन्य क्षेत्रमा पनि नियमित अनुगमन भएको बताए ।

फागुनको दोस्रो साता आपूर्ति मन्त्रालय र जिल्ला अनुगमन समितिको संयुक्त टोलीले तानसेनका पसलहरू अनुगमन गर्‍यो । संयोजक तथा सहायक प्रजिअ धुव्रबहादुर कुँवरको नेतृत्वमा भएको अनुगमनमा तानसेनका केही किराना पसल, क्लिनिक तथा मेडिकल, डेरी, तरकारी तथा फलफूल पसलमा नाप तौल प्रमाणीकरण नगरेको भेटियो । संयोजक कुँवरले उनीहरूलाई कारबाहीको प्रक्रिया भने अघि नबढेको बताए । ‘प्रत्येक उपभोक्ता ठगिँदै जान्छन्,’ उपभोक्ता मञ्चका अध्यक्ष माधव नेपालले भने, ‘कारबाही प्रक्रिया अघि बढैन ।’ एसपी वाग्लेले भने उपभोक्ता जागरुक हुन नसक्दा विकृति बढेको बताए । ‘अनुगमनमा प्राप्त कमजोरीलाई तत्काल सुधार गर्न निर्देशन दिएका छौं,’ आपूर्ति मन्त्रालयका शाखा अधिकृत गोविन्द लुइँटेलले भने । उपभोक्ता हित संरक्षण ऐन, २०५४ ले उपभोग्य वस्तुको लेबलमा उत्पादकले त्यसको अवस्था अनिवार्य उल्लेख हुनुपर्ने भनेको छ । ऐनमा लेवल नराखी बिक्री वितरण गरे/गराउनेलाई २ वर्ष कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । तर ऐन कार्यान्वयन हुन सकेको छैन ।

मनाइयो दिवस
तानसेनमा पनि अन्तर्राष्ट्रिय उपभोक्ता दिवस मनाइएको छ । पाल्पा दरबार परिसरमा जम्मा भएर जनचेतनामूलक नारा लेखिएका प्लेकार्डसहित बजार परिक्रमा गरिएको छ । र्‍यालीमा विभिन्न संघसंस्था, सरकारी अधिकारीलगायतको सहभागिता थियो ।

प्रकाशित : चैत्र ३, २०७३ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?