कर्मचारी अझै अन्योलमा

पोखरा ब्युरो

जिल्ला समन्वय समिति लमजुङबाट क्होलासोंथर गाउँपालिकाको निमित्त प्रमुख (कार्यकारी) मा नियुक्त पाएका हरिकृष्ण आचार्यले मालिङमा कार्यालय स्थापना गरे ।

कर्मचारी अझै अन्योलमा

तत्कालीन मालिङ गाविसको कार्यालयमा गाउँपालिकाको कार्यालय स्थापना गरिए पनि गाउँपालिकाबाट सम्पादन हुने काम भने अघि बढेको छैन । लेटरप्याड, छाप, अनुसूचीजस्ता दैनिक कार्यसम्पादनमा चाहिने सामग्री निर्माणकै क्रममा रहेकाले सिफारिस हुन नसकेको उनको भनाइ छ । ‘नियुक्तिको पत्र बुझेपछि गाउँ गएँ र कार्यालय स्थापना गर्‍यौं,’ उनले भने, ‘तत्काल कार्यकारीले के गर्ने भन्ने विषय अन्योल छ । सेवाग्राही पनि के गर्ने भन्ने विषयमा अन्योलमा छन् ।’ उनले यसअघि सचिवका रूपमा काम गर्दै आएको भुजुङमा सचिवको पद रिक्त भएको छ ।
मस्र्याङ्दी गाउँपालिकाको कार्यकारी प्रमुखको जिम्मेवारी पाएकी राममाया भट्टराईले बोर्ड लगेर यसअघिको भुलभुले गाविसको कार्यालयमा गाउँपालिकाको कार्यालय स्थापना गरेको बताइन् । उनले यसअघि घनपोखरा गाविसको सचिवका रूपमा काम गर्दै आएकी थिइन् । दूधपोखरी गाउँपालिकाको निमित्त प्रमुखको जिम्मेवारी पाएका रमण बरालले यसअघि आफूले सचिवको काम गर्दै आएको इलमपोखरीमा पद रिक्त भएको बताए ।
स्थानीय तह पुन:संरचनामा यसअघिको करापुटार नगरपालिका र मध्य नेपाल गाभेर मध्य नेपाल नगरपालिका कायम भएको छ । केन्द्र यसअघिको करापुटार नगरपालिकाको केन्द्र भोर्लेटार कायम गरिएको छ । केन्द्र सरेपछि यसअघिको करापुटार नगरपालिकाका कार्यकारी अधिकृत भेषराज आचार्य कामविहीन बनेका छन् । वरिष्ठताका आधारमा मध्य नेपालको कार्यकारीमा शेषकान्त पौडेललाई निमित्त नियुक्ति दिइएको छ । लमजुङलाई ४ नगरपालिका र ४ गाउँपालिकामा विभाजन गरिएको छ ।

नयाँ संरचनाबाट सेवा सुरु
पर्वत– नयाँ संरचनाअनुसार निर्धारण गरिएका पर्वतका सबै स्थानीय तहका कामकाज रूपमा सुरु भएका छन् । सुदूर दक्षिणका केही गाउँपालिकाका केन्द्रमा नयाँ संरचनाअनुसारका कार्यालय स्थापनाका लागि जनशक्ति, कागजपत्र र बोर्डलगायत सामान पुर्‍याउन ढिलाइ भएका कारण ४ दिनपछि सञ्चालनमा ल्याइएको हो ।
‘सबै नयाँ संरचनाअनुसारका कागजपत्र तयार गर्दा केही ढिलाइ भयो,’ साबिकको बाच्छा गाविस सचिव सुमन गौंडेलले भने । त्यस्तै फलेबास नगरपालिका तथा पयुँ, महाशिला, मोदी र जलजला गाउँपालिकामा पनि सबै काम सुरु भएको सम्बद्ध कर्मचारीहरूले बताएका छन् । ‘धेरै कुरा नयाँ छन्,’ पयुँ गाउँपालिकाका कार्यकारी अधिकृत कुलप्रसाद लामिछानेले भने, ‘अन्योल भएका कुरा माथिल्लो निकायमा सोध्दै अघि बढिएको छ ।’

केन्द्र सार्न माग गर्दै आन्दोलन
पुन:संरचना आयोगले केन्द्र तोकेर पठाएको जलजला गाउँपालिकाअन्तर्गत पर्ने साबिकको ५ गाविसका बासिन्दा केन्द्र अपायक पर्ने भन्दै आन्दोलनमा उत्रिएका छन् । साविकको लेकफाँट, सालिजा, धाइरिङ, नाङ्लीबाङ र बनौका सबै राजनीतिक दलले साबिकको धाइरिङ गाविसको नाङ्लीबाङमा गाउँपालिकाको केन्द्र हुनुपर्ने माग गरेका छन् ।

गाविस सचिव गए वडामा
गुल्मी– स्थानीय तह कार्यान्वयनसँगै सदरमुकाममा बस्दै आएका गाविस सचिव वडामा फर्केपछि सदरमुकाम सुनसान भएको छ । जिविस जिल्ला समन्वय समितिमा परिणत भएपछि ४ दिनदेखि सेवाग्राही आएका छैनन् । २ नगरपालिका र १० गाउँपालिकामा कर्मचारी खटिएसँगै वर्षौंदेखि सदरमुकाम केन्द्रित गाविस सचिवहरू वडा सचिव भएर गाउँमै खटिएपछि नागरिकता र प्रशासनिक कामले सदरमुकाम तम्घास आउने सेवाग्राहीलाई सहज भएको छ । तत्कालका लागि गाविस भवनमा बोर्ड राखेर काम सुरु गरे पनि कर्मचारी बस्ने पूर्वाधार, घर र होटलसमेत नहुँदा अप्ठयारो परेको निमित्त कार्यकारी अधिकृत युवराज खडकाले बताए ।
नगर र गाउँपालिकामा प्रमुख तोकेर कर्मचारी खटाएपछि जिल्ला सुनसान देखिएको जिल्ला समन्वय समितिका योजना अधिकृत सरोजकुमार पोखरेलले बताए ।

क्षेत्र थपिएपछि सचिव अभाव
तनहुँ– शुक्लागण्डकी नगरपालिकामा साबिकका ३ गाविस थप भएपछि कर्मचारी र वडा सचिव अभाव भएको छ । नगरपालिकाले तत्कालका लागि कुनै पनि सेवालाई नरोक्ने गरी थप जिम्मेवारी दिएर काम लगाए पनि ४ वडा सचिवको अभाव छ । ‘नासु तहको वडा सचिव हुने प्रावधान भए पनि हामीसँग २ सचिव मात्र मापदण्ड पुगेका छन्,’ नगरपालिकाका सूचना अधिकारी त्रिलोचन लम्सालले भने, ‘अरूमा खरिदार सरहबाटै चलाएका छौं ।’ त्यसमा पनि एउटै सचिवले २/२ वटा वडाको जिम्मेवारी पूरा गरिरहेका हुन् ।
भौगोलिक रूपमा कठिन थप्रेक, राईपुर र फिरफिरेलाई पनि नगरपालिकामा मिलाइएपछि कर्मचारी अभाव भएको हो । सडक सञ्जालको सहज पहुँच नभएकाले नगरको सेवा लिन पनि उनीहरूलाई कठिन छ ।

प्रकाशित : चैत्र ५, २०७३ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?