कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘प्याराहकिङ’ चलाउने गए

काठमाडौं/पोखरा — ‘प्याराहकिङ’ मा अवैध रूपमा दुर्लभ गोब्रे गिद्ध (इजिप्सियन भल्चर) को प्रयोग गरेकामा कारबाही भोगेका बेलायती नागरिक स्कट म्यासनले सुटुक्क नेपाल छाडेका छन् ।

झन्डै १८ वर्षदेखि उनले पर्यटकका लागि थप साहसिक मनोरन्जन दिन भन्दै पोखराको खपांैदीमा प्याराहकिङ सञ्चालन गर्दै आएका थिए । ‘प्याराहकिङ’ मा अवैध रूपमा दुर्लभ गोब्रे गिद्धको प्रयोग गरेको समाचार कान्तिपुरमा प्रकाशित भएकै दिन जिल्ला वन कार्यालयले ती गिद्ध र उनले पालेका चरा कब्जामा लिएको थियो । कुनै सिकारी चरासँगै आकाशमा प्याराग्लाइडिङ गर्नुलाई ‘प्याराहकिङ’ भनिन्छ । 

कास्कीका जिल्ला वन अधिकृत (डीएफओ) केदार बरालले अवैध रूपमा दुर्लभ गिद्ध व्यापारिक प्रयोजनमा प्रयोग गरेको भन्दै फागुन पहिलो साता स्कटलाई २० हजार रुपैयाँ धरौटीमा छाडिदिएका थिए । राष्ट्रिय निकुञ्ज ऐन २०२९ मा २० हजार जरिवाना वा ६ महिना कैद तथा दुवै सजायको व्यवस्था छ ।
धरौटीमा छुटेपछि स्कट केही दिन पोखरामै बसेका थिए । १८ फागुनमा स्कटलाई उनको समेत लगानी भएको फेवातालको सिरान खपौंदीस्थित मायादेवी भिलेज रिसोर्टमा बिदाइ गरिएको थियो । रिसोर्टका नेपाली सञ्चालक भूपाल गुरुङले उनी र उनका परिवारलाई खादा लगाइदिएर बिदाइ गरेका थिए । बिदाइपछि स्कटले आफ्नो फेसबुक वालमा ‘पोखरालाई बिदाइ भन्नुपर्दा हृदयमा चोट पुगेको’ उल्लेख गरेका छन् । १८ फागुनमा पोखरामा बिदाइपछि उनी १९ फागुनमा त्रिभुवन विमानस्थलबाट दुबई हुँदै युरोप गएका हुन् । नेपाल छाडिसकेपछि उनले सामाजिक सञ्जालमा नेपालका तथाकथित ‘वन्यजन्तुप्रेमी र पशु अधिकारकर्मी’ ले आफूले पालेका गिद्ध र अन्य चरालाई ‘अमानवीय व्यवहार’ गरेको भन्दै गालीगलौज गरेका छन् ।

‘फेसबुकमा नेपाल, नेपाली र कर्मचारीलाई त्यसरी गाली नगर्न मैले उनका पोखराका सहयोगीमार्फत सचेत गराएको छु,’ डीएफओ बरालले कान्तिपुरलाई भने, ‘जथाभावी गर्ने हो भने नेपाल प्रवेश नै रिजेक्ट गरिदिन्छौं र अवैध काम गरेबापत कारबाही भोगेको व्यक्ति हो भनेर सर्कुलर गर्छौं सम्म भनेको छु ।’ 

प्रकाशित : चैत्र ६, २०७३ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?