कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

असन्तुष्टले खोले छुट्टै कार्यालय

बझाङ — जिल्लाको बुंगल नगरपालिकाको केन्द्रबारे विवाद बढिरहँदा दुई अलगअलग कार्यालय उद्घाटन गरिएका छन् । नगरपालिकाका निमित्त कार्यकारी अधिकृत धर्मराज उपाध्यायले खिरातडीको बिजगडामा कार्यालय उद्घाटन गरेलगत्तै असन्तुष्ट पक्षले पिपलकोटको झापामा कार्यालय खोलेको हो ।

गत बुधबार स्थानीयले कार्यकारी अधिकृतबाट छाप र साइनबोर्ड खोसेपछि त्यसको भोलिपल्ट सामान्य कार्यक्रम आयोजना गरी कार्यालय उद्घाटन गरिएको थियो । स्थानीय तह पुन:संरचना आयोगले बिजगडालाई नगरपालिका केन्द्र तोकेपछि असन्तुष्ट पीपलकोट, कफलसेरी र देउलीकोटका बासिन्दाले खोसिएको साइनबोर्ड टाँगेर झापाको इलाका नं १० भवनमा कार्यालय खोलेका हुन् ।

साबिकका तीन गाविसका बासिन्दाले कार्यालय उद्घाटनलगत्तै केन्द्र झापालाई नै बनाउनुपर्ने माग गर्दै नाराबाजी गरे । पिपलकोटका एकेन्द्र बोहराले भने, ‘कफलसेरी र देउलीकोटको ठूलो जनसंख्यालाई बाइपास गरेर तोकिएको केन्द्र हामीलाई स्वीकार्य छैन । झापा पहिलादेखि पनि बुंगल क्षेत्रको केन्द्र हो ।’
आयोगले तोकेको बिजगडामा नै केन्द्र कायम हुनुपर्ने भन्दै खिरातडी र दहबगर गाविसका बासिन्दाले पनि एकहप्तादेखि पीपलकोट र कफलसेरी जाने सवारीसाधन रोकिरहेका छन् । झापा केन्द्र हुँदा दहबगरका बासिन्दालाई निकै टाढा हुने दहबगरका मकर धामीको भनाइ छ ।

आयोग अध्यक्षलाई कालोझन्डा
पर्वत– अपायक स्थानमा केन्द्र राखेको भन्दै जलजला गाउँपालिकावासीले पुन:संरचना आयोग अध्यक्ष बालानन्द पौडेललाई कालोझन्डा देखाएका छन् । आत्रेय गोत्रीय पौडेल समाजको साधारणसभामा भाग लिन आएका उनलाई साबिकको धाइरिङ, बनौं, सालिजा, नाङ्लीबाङ र लेकफाँटका बासिन्दाले विरोध जनाएका हुन् । जिल्लाको ठूलीपोखरी स्थायी घर भएका पौडेलले माझफाँटका आफन्तलाई लक्षित गरी केन्द्र सिफारिस गरेको स्थानीयको आरोप छ ।

पौडेलले भने कुनै स्वार्थ वा भनसुनका आधारमा नभई स्थानीय दल तथा जिल्लास्तरीय पुन:संरचना समितिको सल्लाहबमोजिम केन्द्र तोकिएको बताए ।

जागिर छाड्दै कर्मचारी
लेखनाथ– स्थानीय तह कार्यान्वयनमा ल्याइए पनि सेवासुविधा र कार्यक्षेत्रबारे अन्योल बढेको भन्दै कर्मचारीले राजीनामा दिन थालेका छन् । जिल्ला समन्वय समिति कास्कीका १० जना कर्मचारीले राजीनामा बुझाइसकेका छन् ।

शुक्रबारसम्म निजामतीतर्फ एक र जिसस कोषतर्फका नौ जनाले राजीनामा दिएपछि जिसस कार्यालय सुनसानजस्तै बनेको छ । राजीनामा बुझाउनेमा सेवा अवधि १० दिनदेखि १५ वर्षसम्म बाँकी रहेकाहरू छन् । जिसस कार्यालयबाहेक अन्यत्र सरुवा हुने डरले राजीनामा आएको एक कर्मचारीले बताए ।
राजीनामापत्रमा भने स्वास्थ्य, पारिवारिक समस्यालगायत कारण उल्लेख छन् । सरकारले जुनसुकै बेला कर्मचारी कटौती गर्न सक्ने हल्ला चलेकाले पहिल्यै राजीनामा दिएको एक कर्मचारीको भनाइ छ । स्थानीय विकास अधिकारी बलराम ढकाल जहाँ गए पनि काम गर्न तयार नहुने मानसिकताका कर्मचारीले राजीनामा बुझाएको बताउँछन् । ‘केहीले अवधि सकिन लागेकाले राजीनामा दिएका छन्,’ उनले भने, ‘धेरैजनाले सेवा सुविधा र कार्यक्षेत्र के हुन्छ भन्ने द्विविधाले नै हो ।’

कार्यालय उद्घाटनमा अवरोध
रुकुम– प्रस्तावित पुथाउत्तरगंगा गाउँपालिकाको कार्यालय उद्घाटनमा पुगेको टोलीलाई १० र ११ वडाका बासिन्दाले अवरोध गरेका छन् । आयोगले प्रस्ताव गरेको साबिक कोलको गाविस कार्यालयमा गाउँपालिकाको कार्यालय उद्घाटन गर्न हिँडेका जिल्ला समन्वय समितिका सूचना अधिकृत चिन्तामणि दाहाल, गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत तिलकबहादुर रावतको टोलीलाई तकसेरावासीले कोल पुग्नै दिएनन् । उक्त गाउँपालिकाको केन्द्र तकसेरामा तोक्न स्थानीयको माग छ । अवरोधपछि टोलीले विवाद निम्तिने भन्दै कार्यक्रम स्थगित गरेको थियो । कार्यक्रम स्थगनपछि तकसेरावासीले शनिबार बिहान कार्यकारी अधिकृत रावत, वडा सचिवहरू दिलीपकुमार ओली र उदिराम रोकालाई तकसेरा लगेका थिए । विवाद बढ्ने देखिएकाले कार्यक्रम स्थगित गरिएको निमित्त कार्यकारी अधिकृत रावतको भनाइ छ ।

प्रकाशित : चैत्र ६, २०७३ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?