१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पर्वतमा दिनभर प्रदर्शन

पर्वत — उत्तरी जलजला गाउँपालिकाअन्तर्गतका पाँच गाविसका बासिन्दाले केन्द्र फेर्न माग गर्दै आइतबार आठौं दिन पनि प्रदर्शन गरेका छन् । माझफाँटका केही वडासहित धाइरिङ, बनौं, शालिजा र नांलीबाङका स्थानीयले नाराबाजीसहित सदरमुकाम परिक्रमा गर्दै दिनभर जिल्ला प्रशासन र जिल्ला समन्वय समितिको कार्यालय अघि धर्ना दिए ।

पर्वतमा दिनभर प्रदर्शन

सबै गाउँवासीको पायक पर्ने स्थानमा केन्द्र नराखेसम्म कार्यालय सञ्चालन हुन नदिने चेतावनी उनीहरूले दिएका छन् । ‘७० प्रतिशत जनतालाई दु:ख दिनेगरी तोकिएको केन्द्र कुनै हालतमा मान्य हुने छैन,’ नांलीबाङका अगुवा हरिविकास जीसीले भने, ‘नभए जीपीएस नक्सालाई आधार बनाएर केन्द्र राखियोस् ।’ स्थानीयले केन्द्र नबदलेसम्म आन्दोलन जारी राख्ने बताए ।

आन्दोलनमा उत्रिएकाहरूप्रति जिल्लाका सबै दलहरूले ऐक्यबद्धता जनाएका छन् । प्रशासनको गेटमा आयोजित कोणसभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँ शक्तिलगायत पार्टीका नेताहरूले गाउँपालिकाको केन्द्र अपायक भएको भन्दै सच्याउन माग गरे ।

बाँसखर्क, माझफाँट, लेकफाँट, शालिजा, धाइरिङ, बनौ र नांलीबाङलाई मिलाएर जलजला गाउँपालिका बनेको हो । पुन:संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले शक्ति र पहुँचका आधारमा केन्द्र तोकेको स्थानीयको आरोप छ । यस्तै जलजलाको केन्द्र बदल्ने विषयमा आइतबार जिल्ला समन्वय समितिको कार्यालयमा सर्वपक्षीय बैठक बसेको थियो । बैठक कुनै निष्कर्षमा पुग्न नसकेको संयन्त्रमा सहभागी नेकपा माओवादीका जिल्ला अध्यक्ष बैकुण्ठ गिरीले बताए ।

प्रकाशित : चैत्र ७, २०७३ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?