२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

‘संशोधनबिना चुनाव असम्भव’

जनकपुर — निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाइरहेका बेला विभिन्न दलमा आबद्ध मधेस पृष्ठभूमिका नेताले संविधान संशोधनबिना निर्वाचन सम्भव नहुने बताएका छन् ।

आइतबार यहाँ भएको अन्तक्र्रियाका सहभागीले संविधान संशोधनबिना निर्वाचन हुनै नसक्ने जिकिर गरे । कांग्रेस केन्द्रीय सदस्य तथा सांसद महेन्द्र यादवले भने, ‘मधेसको मनोविज्ञान संविधान संशोधनबिना निर्वाचनमा नजाने देखेको छु । यथास्थितिमा निर्वाचनमा गइयो भने मुलुक द्वन्द्वमा फस्न सक्छ ।’

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामचन्द्र मण्डलले संविधान संशोधन र निर्वाचन दुवै मुलुकको तत्कालीन आवश्यकता रहेको उल्लेख गर्दै यथास्थितिमा निर्वाचन हुन नसक्ने बताए । मधेस केन्द्रित दल र एमालेको अदूरदर्शी निर्णय तथा क्रियाकलापका कारण मुलुक मुठभेडतिर अग्रसर भएको आरोप उनले लगाए । ‘सरकारले चाहे निर्वाचन गराउन सक्छ तर संविधान संशोधन गराउन सक्दैन । संशोधनका लागि दुई तिहाई पुर्‍याउन आवश्यक पहल गर्नुपर्ने बेला मधेसवादी दलहरू प्रतिपक्षी बेन्चमा गएका छन् । यसरी संशोधन सम्भव हुँदैन,’ उनले भने । 

पहिलो संविधानसभामा माओवादी र मधेसवादी दलहरूको उपस्थिति निर्णायक रहेका बेला समग्र मधेस एक प्रदेशको विवाद झिकेर मधेस केन्द्रित दलका नेताले गल्ती गरेको आरोप कांग्रेस नेता यादव तथा माओवादी केन्द्रका नेता मण्डलले लगाए । ‘राजनीतिमा हार–जित मात्र हुँदैन, सम्झौता पनि हुन्छ । पहिलो संविधानसभामा मधेस केन्द्रित दलहरूले सम्झौता गरेको भए मधेसमैत्री संविधान बन्न सक्थ्यो,’ कांग्रेस नेता यादवको तर्क थियो ।

तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं सांसद विजयकुमार सिंहले प्रस्तावित स्थानीय तहको निर्वाचनलाई ‘षड्यन्त्र’को संज्ञा दिंदै स्थानीय तह, प्रदेश तथा केन्द्रको अन्तरसम्बन्ध प्रस्ट हुन नसकेका बेला निर्वाचनको घोषणा गर्नु बेइमानी भएको बताए । ‘यस संविधानको स्वामित्व मधेसी जनताले अझै लिएका छैनन् । पहिले संविधान संशोधन गरेर मधेसी जनतालाई स्वामित्व लिन लगाउनुपर्छ । 

अन्यथा कुनै पनि निर्वाचन हुन सक्दैन,’ उनले भने । नेकपा–माओवादीका केन्द्रीय सदस्य रोशन जनकपुरी, संघीय समाजवादी फोरमका नेता रामस्वार्थ राय, तराई मधेस समाजवादी पार्टीका मनोज चौधरी, श्रीलाल महासेठ लगायतका नेताले पनि संविधान संशोधनबिना निर्वाचन हुन नसक्ने बताए ।

प्रकाशित : चैत्र ७, २०७३ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?