१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

इन्धन अभावमा निर्माण प्रभावित

भोजपुर — इन्धन अभावले विकास निर्माणका काममा बाधा पुगेको छ । राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार निर्माण, सडक आयोजनालगायत विकासे काम ठप्प भएका छन् । आयल सप्लायर्सहरूमा १५ दिनयता डिजेल र पेट्रोल पर्याप्त आएको छैन ।

निर्माण सामग्री ढुवानी, मेसिन प्रयोगमा आवश्यक पर्ने ठूलो परिमाणको इन्धन आपूर्ति हुन नसकेपछि काम ठप्प गर्नुपरेको आयोजनाले जनाएको छ । इन्धन अभावले राष्ट्रिय गौरवका मध्यपहाडी आयोजनाअन्तर्गत भोजपुर–चखेवा (४२ किमि) खण्डको स्तरोन्नति ठप्प छ । इन्जिनियर रवीन्द्र महर्जनका अनुसार द्रुत गतिमा काम अघि बढाउँदै गर्दा काम रोक्नुपरेको हो ।

आयोजनाले दिनदिनै १२ स्काइभेटर, ट्रिपर, ट्याक्टर, लोडरजस्ता हेभी इक्विपमेन्ट प्रयोग गर्नुपर्छ । यसका लागि कम्तीमा ३ हजार लिटर डिजेल आवश्यक पर्छ । ‘सदरमुकामका आयल सप्लायर्समै नपाएपछि झापा भद्रपुरबाटै पनि खरिद गरेका छौं,’ उनले भने, ‘बन्द, हड्तालले गर्दा निकै सकस भयो ।

मौजदात डिजेल सकिँदा कामै रोक्नुपरेको छ ।’ भोजपुर–लेगुवा (६६ किमि) नारदमणि थुलुङ राजमार्गमा पनि इन्धन अभावले स्तरोन्नतिलाई गति दिन सकेको छैन । ठेकेदार कम्पनी तेन्जिङ–रमन–कन्काई कन्स्ट्रक्सनका इन्जिनियर अमृत श्रेष्ठका अनुसार मेसिन चलाउन, सामान ओसारपसार र वेल्डिङका काम हुन सकेका छैनन् । आयोजनालाई दिनमा कम्तीमा ४ हजार लिटर डिजेल आवश्यक पर्छ । तराईका आयल सप्लायर्सबाट सीधै आपूर्ति गर्दै आएको भए पनि अचेल ल्याउन सकेको छैन । ‘एक सातामा १२ हजार लिटरको एक टिप बल्लतल्ल आउँछ, ३ दिनमै सकिन्छ, अर्को टिप ल्याउन दस दिन कुर्नुपर्छ,’ इन्जिनियर श्रेष्ठले भने ।

विराटनगर आयल निगमले इन्धन लोड नदिएका कारण जिल्लाका सप्लायर्स खाली बनेको वज्रयोगिनी आयलका वीरबहादुर श्रेष्ठ बताउँछन् । ‘विराटनगर माग्दा छैन भन्छ, भारतबाट सप्लाई गर् भन्छ, उताबाट ल्याउन आफ्नै गाडी छैन,’ श्रेष्ठले भने, ‘चिने–जानेका मान्छे छैनन्, दुई सातादेखि पम्प खाली छ ।’

प्रकाशित : चैत्र ७, २०७३ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?