भगवान् भरोसामा सर्वसाधारणको दैनिकी

हरेक पटक साँघु तर्दा ‘भगवान् मलाई बचाऊ’ भन्नुको विकल्प छैन
हरि गौतम

रुकुम — सिस्ने गाउँपालिका ३, की ३५ वर्षीया देउसरा खड्काका हरेक वर्षको ७ महिना भगवान् भरोसामा कट्छन् । घाँस–दाउराका लागि दैनिक सानीभेरी वारपार गर्नुपर्ने उनी नदीमाथि बनाइएको साँघु (काठेपुल) तर्दा भगवान् पुकार्ने गर्छिन् । सोही ठाउँकी ४५ वर्षीया कमला खड्काले पनि कम्तीमा दिनको दुई पटक उक्त साँघु तर्नैपर्छ ।

हरेक पटक साँघु तर्दा ‘भगवान् मलाई बचाऊ’ भन्नुको विकल्प नरहेको उनले बताइन् । सानो काठमाथि डोरीले कसेर बनाइएको साँघुको केही भर छैन, कति बेला को नदीमा खस्ने हो या कति बेला साँघु नै भाँच्चिने हो । ‘जति पटक साँघु तर्छौं उति पटक भगवान् बचाइदेऊ भन्नुपर्छ,’ देउसराले भनिन्, ‘यही भनेकै भरमा कति दिनसम्म साँघु तर्दा भगवान्ले हाम्रो पुकारा सुनिदिने हुन् ।’

Yamaha

कमला र देउसरा मात्रै होइन, सोही गाउँपालिका पोखरासहित पाङ्गा, ढाँका, दादिङ, नाथीगार, रुकुमकोटलगायत क्षेत्रका सर्वसाधारण तथा जनता मावि पढ्ने विद्यार्थीले हरेक मंसिर–जेठ महिनासम्म ठूलो जोखिमका सिस्ने गाउँपालिका ४ बाट वडा ७ पुग्न सानीभेरी वारपार गर्न बाध्य छन् ।

त्यस क्षेत्रका सर्वसाधारणले यो समस्या भोग्न थालेको अहिले मात्रै होइन । स्थानीय ६२ वर्षीय हर्कवीर खड्काले आफूले थाहा पाउनु पहिल्यैदेखि साँघुको जोखिम मोलेर सानीभेरी वारपार गर्दै आएको बताए । उनका अनुसार वर्षौंदेखि त्यस ठाउँमा पुल बन्न सकेको छैन । ‘हाम्रा बाजे बराजुदेखि नै साँघुको सहायतामा नदी वारपार गर्दै आएका छन्,’ खड्काले भने, ‘यो ठाउँमा अहिलेसम्म साँघुको विकल्प केही आउन सकेको छैन ।’ हर्कवीरले पनि ५ वर्षको उमेरदेखि नै उक्त साँघुबाट वारपार गर्दै आएका छन् ।

आफ्ना बाजेले पहिल्यैदेखि साँघुकै सहायतामा नदी तर्ने गरेको बताएको पनि उनले सुनाए । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ल्याएको तुइन विस्थापित गर्ने योजनामा पनि आफ्नो ठाउँ नसमेटिँदा दु:ख लागेको हर्कवीरको भनाइ छ । ‘तुइन विस्थापित गर्ने योजनाले तुइनभन्दा अप्ठ्यारो साँघुलाई सदाका लागि बिदा गर्दिन्छ कि भन्ने आस थियो भएन,’ खडकाले गुनासो पोखे ।

जनता माविका प्रधानाध्यापक कलु खड्का उक्त ठाउँ आसपासमा पुल नहुँदा सर्वसाधारणले ठूलो जोखिम मोलेर दैनिकी चलाउन बाध्य भएको बताउँछन् । उनका अनुसार दैनिक ३ सयभन्दा बढी सर्वसाधारण र ५० भन्दा बढी विद्यार्थीले उक्त साँघु प्रयोग गर्दै आएका छन् । पक्की पुल नहुँदा नाथीगाड, घरेलीलगायत ठाउँका अरू धेरै विद्यार्थी टाढाका स्कुल पढ्न जान बाध्य छन् । उनका अनुसार पोखरामा रहेको तातोपानी नुहाउन आउने–जाने पनि यही साँघु तर्ने गर्छन् ।

अन्य ठाउँमा पुल परेको र बनेको खबर सुन्न पाउँदा खुसी लागे पनि आफूहरू भने पुल तर्ने सपना मात्रै साँचेर बस्नुपर्दा खिन्न लागेका सर्वसाधारण बताउँछन् । हरेक मंसिरमा पोखरावासीले बनाउने उक्त साँघु हरेक असारमा सानीभेरीमा आउने बाढीले बगाउँछ र ५ महिना वार–पार गर्न नपाउने बाध्यता पनि कायमै छ ।

अनुमानित ५ हजार रुपैयाँ लागतमा साँघु बन्छ । र, त्यसको आयु पनि मंसिरदेखि जेठसम्म जम्माजम्मी ७ महिना मात्रै हुन्छ । असारमा आउने सानीभेरीको बाढीले साँघु बगाएर लैजान्छ । पुल नबनेकै कारण उक्त साँघुबाट बर्सेनि नदीमा खसेर सर्वसाधारणको ज्यान जाने गरेको छ । स्थानीय डिलबहादुर केसीले अहिलेसम्म धेरैले साँघुबाट खसेर अकालमै ज्यान गएको बताए । २०६० सालमा नेपाली सेनाका केही जवान सोही साँघुबाट खस्दा हराएको हतियार खोज्न एक दिनभर लागेको थियो भने उनीहरू बल्ल–बल्ल नदीबाट निस्कन सकेका थिए । सानीभेरी तर्न बर्खामा कि अमलाचौर कि बोजेरी पुग्नुपर्ने बाध्यता स्थानीयमा छ ।

Esewa Pasal

प्रकाशित : चैत्र ७, २०७३ १०:२३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लोकप्रिय मन्टेसोरी

मकर श्रेष्ठ

‘प्रौढहरूका निम्ति प्रौढशाला र युवा युवतीहरूका लागि कलेज रहेजस्तै ३ देखि ६ वर्षसम्मका बालबालिकाका निम्ति मन्टेश्वरी प्रथाको पढाइमा श्री ३ महाराजबाट दिलचस्पी लिइबक्सी सबै निकासा बक्सेकोले पद्म कन्या विद्याश्रममा त्यस किसिमको पढाइ चाँडै सुरु हुने भएकाले सूचना दिने काम भएको छ ।

तसर्थ हाल तीन चार वर्षसम्मका केटाकेटीहरूलाई पढाउन चाहनेहरूले उक्त विद्याश्रमका प्रधानाध्यापिकाको अफिसमा नाम लेखाउन जानू । पढाइको हकमा त्यस प्रथामा विशेष तालिम पाएकाहरू छन् । फेरि त्यस प्रथामा विशेष ख्याति प्राप्त दुईजना अरू विशेषज्ञहरू पनि सरकारबाट झिकाइबक्सेको छ । पढाइ चालु हुने दिनको पछि सूचना गरिनेछ ।’ 

यो सूचना नेपाल सरकार शिक्षा विभागले विसं २००५ साउन २९ गते गोरखापत्रमा प्रकाशित गराएको थियो । यसले मुलुकमा मन्टेसोरी अवधारणा कहिलेदेखि सुरु भएको हो भन्ने प्रस्ट पार्छ । पेसाले डाक्टर इटालियन नागरिक मारिया मन्टेसोरीले रोममा विसं १९६४ मा बच्चाको सिकाइ सुधार्न चिल्ड्रेन हाउस खोलेको ४१ वर्षपछि नेपालमा पनि सुरुवात भएको यो सूचनाले पुष्टि गर्छ । बच्चाहरूप्रतिको उनको झुकावले पढाउने शैलीको विकासमा उनी दत्तचित्तले लागिन् । शारीरिक रूपले अक्षम र बौद्धिक हिसाबले कमजोर बच्चाहरूमाथि उनको अध्ययन गहिरियो । तिनलाई सिकाउने नयाँ विधिबारे उनको खोजले एउटा दर्शनको विकास गर्‍यो । 
उनी भन्ने गर्थिन्, ‘विज्ञानमा हामीलाई कल्पनाशीलता चाहिएको छ । तर्क र गणित मात्रै होइन ज्ञान । यो कविता र सौन्दर्य पनि हो ।’ 
बच्चाहरूलाई घोकाउने, जबरजस्ती पढ्न लगाउने र नपढे पिट्ने परम्पराको विरुद्धमा उनी थिइन् । विकल्पमा उनले प्रेम र खेलले भरिएको बाटोलाई रोजिन् । अनेक रमाइला खेलौना र शिक्षण सामग्रीले उनको कक्षाकोठा भरिएका हुन्थे । नानीहरूमा सिकाइप्रति बेग्लै जिज्ञासा पलाउन थालेको थियो । बच्चाहरूलाई खेलखेलमा सिकाउने मन्टेसोरीको यो तरिकालाई सम्मानका साथ उनकै नामबाट चिनाइन पनि थालियो । त्यसबेला उनले सुरु गरेको अभियान अहिले विश्वभर लोकप्रिय बनेको छ । अमेरिकन मन्टेसोरी सोसाइटीका अनुसार विश्वका एक सय १० मुलुकमा २२ हजार मन्टेसोरी स्कुल छन् । यसको प्रभाव नेपालमा पनि परेको छ । तोतेबोली बोल्ने बालबालिकालाई सिकाउने ठाउँलाई कतै मन्टेसोरी, किन्डर गार्टेन, शिशु केन्द्र, बाल विकास केन्द्र (ईसीडी) लगायत नामले चिनिन्छ । 
विद्यालय तह सुरु हुनुअघि बालबालिकाको व्यक्तित्व विकास गराउन र कक्षा १ मा पढ्न सक्षम बनाउन ‘प्रि–स्कुल’ मा भर्ना गर्ने गरिन्छ । दुई वर्षदेखि पाँच वर्षका बालबालिकालाई मन्टेसोरीमा राख्ने गरिन्छ । सहरमा मन्टेसोरीजस्तै गाउँमा शिशु कक्षा छ । शिक्षा मन्त्रालयका अनुसार मुलुकभर ३६ हजार ९३ पूर्व प्राथमिक विद्यालय छन् । त्यसमा ३० हजार समुदायमा र ५ हजार निजी स्तरमा सञ्चालित छन् । विसं २००५ देखि मन्टेसोरी सुरु भयो भने नक्सालको बालमन्दिरले बालबालिका पढाउन सुरु गर्‍यो । निजी क्षेत्रबाट मन्टेसोरीको सुरुवात भने सन् २००० पछि भएको हो । बाबुआमाले आफ्नो छोराछोरीको शारीरिक, मानसिक, सामाजिक विकास होस् भन्ने चाहना राख्छन् । त्यसैले महँगो शुल्क तिरेर भए पनि आफ्नो बच्चालाई मन्टेसोरीमा राख्ने गरेका छन् । 
शिशु कक्षामा बालबालिकालाई पढाउनेभन्दा पनि हिँड्न, बोल्न, खान, आफ्नो सामानको सुरक्षा गर्न समूहमा काम गर्न र घुलमिल हुन सिकाइन्छ । यसबाहेक अनुशासन पालना गर्न, आत्मनिर्भर बन्न, औंलाहरूले पेन्सिल समाउने अभ्यास गर्न सिकाइन्छ । बच्चाले थोरै पढ्ने, धेरै रमाइलो गर्ने र साथीभाइसँग घुलमिल हुन सिक्छन् । ‘म’ बाट ‘हामी’ भन्ने भावनाको विकास गर्छौं,’ अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईले भनिन्, ‘हामीले कसरी पढाउने होइन कि बच्चाले कसरी सिक्न चाहन्छन् ? त्यो विधि अपनाइन्छ ।’ 
बच्चालाई सिर्जनात्मक बनाउन, सिर्जना जाँच्न, प्रतिभा देखाउन मन्टेसोरीमा अध्ययन गराइन्छ । बच्चालाई आफ्नो काम आफंै गर्न लगाउने, क्रियाकलापमा सहभागी गराउने र खेलाउने, उसको अनुभव परीक्षण गरेर नयाँ कुरा सिकाउने लगायतको विधि अपनाइन्छ । विद्यालय आउनुअघि बच्चाले सिकेको कुरालाई थप परिष्कृत गराइन्छ । दुईदेखि पाँच वर्षका बालबालिका बोल्दा हड्बडाउँछन् । हिँड्दा लड्खडाउँछन् । उठाउँदा बस्न खोज्छन् । आऊ भन्दा भाग्छन् । हरेक बच्चाको आफ्नै प्रतिभा हुन्छ । उनीहरूलाई खेलाएर, माया गरेर सिकाइन्छ । कुुनै कुरा सिकाउनुपर्‍यो भने पाँचवटै ज्ञानेन्द्रियको प्रयोग गराइन्छ । अण्डाको बारे पढाउनुपर्‍यो भने बच्चालाई देखाइन्छ । हातले छुन्छन् । अर्को वस्तुसँग ठोक्काएर आवाज सुनाइन्छ । त्यसको स्वाद थाहा पाउन पकाएर खुवाइन्छ । गन्ध कस्तो हुन्छ ? सुघाइन्छ । तोतेबोली बोल्ने उमेरका बालबालिका जो फरक समुदाय, भाषा, संस्कृति, आर्थिक, शैक्षिक, पारिवारिक पृष्ठभूमिका हुन्छन् । ती अबोधहरूलाई एकै थलोमा राखेर आपसी सुझाव, स्नेह, आदर, सहयोग, धैर्य, शिष्टाचारजस्ता कुराहरू सिकाइन्छ । ‘मन्टेसोरीमा तालिमप्राप्त शिक्षक हुन्छन्, बालमैत्री क्रियाकलाप गराइन्छ,’ प्रिमियर स्कुलकी डाइरेक्टर पवित्रा लिम्बू भन्छिन््, ‘किताब बोकाएरभन्दा पनि रमाएर सिकाइन्छ ।’ सहरका यस्ता विद्यालयमा बिहानदेखि घर जानुअघिसम्म खाना, खाजासमेत खुवाइन्छ । 

अभिभावकको बाध्यता 
कामकाजी अभिभावकको घरमा बच्चा हेरालु नभएपछि यस्तै शिक्षा कक्षामा भर्ना गरिन्छ । बच्चालाई दिवा शिशु स्याहार केन्द्रमा राख्नु व्यस्त दैनिकीका अभिभावकको बाध्यता हो । बालबालिकालाई खुवाउने, सुताउने र हेरचाह गर्ने मन्टेसोरीको नाममा दिवा शिशु स्याहार केन्द्र टोलटोलमा खुलेका छन् । सहरका अधिकांश पूर्वप्राथमिक शिशु केन्द्रले मन्टेसोरी शिक्षा उल्लेख गर्ने गरेका छन् । तर, शुल्क भने चर्को लिने गरेका छन् । स्थानीय निकायबाट अनुमति लिएपछि अनुगमन नहुँदा आफूखुसी शुल्क लिने गरेका छन् । तर, सामग्रीहरू महँगो पर्ने भएकाले शुल्क बढी हुने मन्टेसोरीका सञ्चालक बताउँछन् ।

प्रकाशित : चैत्र ७, २०७३ १०:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT