कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

५ निरीक्षक निष्कासित

सिरहा — केन्द्राध्यक्ष र निरीक्षककै मिलोमतोमा माध्यमिक शिक्षा परीक्षा (एसईई) अमर्यादित बनेको छ । परीक्षा निर्देशिका २०७३ अन्तर्गत परीक्षा अनुशासन पालनका लागि केन्द्राध्यक्षका लागि जारी गरिएको १९ बुँदे निर्देशनविपरीत अमर्यादित क्रियाकलाप गरेको भन्दै परीक्षा अनुगमन समितिले तीन केन्द्राध्यक्षलाई सचेत र ५ निरीक्षकलाई परीक्षा केन्द्रबाटै निष्कासन गरेको छ ।

शिक्षा कार्यालयका  अनुसार परीक्षार्थीलाई गेसपेपर र परीक्षा केन्द्र बाहिरबाट तयार पारिएको फ्ल्याप उत्तरपुस्तिकामा सार्ने वातावरण सिर्जना गरेर परीक्षा अमर्यादित बनाएको भन्दै तीन केन्द्राध्यक्षलाई सचेत र ५ निरीक्षकलाई निष्कासन गरिएको हो ।

जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णका अनुसार चन्द्रउदयपुर मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर यादव, चन्द्रलालपुर केन्द्रका राजलाल यादव र सोनमती गाढा मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष अरविन्दकुमार दासलाई सचेत गराइएको छ । 

परीक्षा अमर्यादित बनाउनमा संलग्न सोनमती गाढा परीक्षा केन्द्रका निरीक्षक देवप्रसाद यादव, शिवप्रसाद साह, रामएकवाल यादव, विनीता र गौरीपुर परीक्षा केन्द्रका तनवीर अन्सारीलाई निष्कासन गरेको छ । 

मुखैले लेखेर ‘एसईई’
पिठुवा (चितवन)– रत्ननगर १६ स्थित खैरेटीका भरत गुरुङका हातखुट्टा चल्दैनन् । उनी हातले जसोतसो डटपेनसम्म समात्न सक्छन् । लुगा लगाउन र शौचालय जान पनि अरूकै सहारा लिनुपर्छ । अपांगता भए पनि उनले हिम्मत हारेका छैनन् । आफ्नै साहसले पढ्न सुरु गरे । उनी अहिले एसईई परीक्षा दिँदै छन् । 

उनी परीक्षामा मुखले कलम च्यापेर लेख्ने गर्छन् । उनको केन्द्र रत्ननगर १४ स्थित पिठुवाको जनजागृति मावि हो । आमा चन्द्रमाया उनलाई परीक्षा केन्द्रसम्म पुर्‍याउँछिन् । घरभन्दा करिब ४ किलोमिटर टाढा केन्द्र भएकाले पुर्‍याउन र लिन चन्द्रमाया आफैं पुग्छिन् । उनलाई विद्यालयको कार्यालय कक्षमै परीक्षा दिने व्यवस्था मिलाइएको छ । ‘उनको साहस ठूलो छ,’ केन्द्रका केन्द्राध्यक्ष विनोदप्रसाद अधिकारीले भने, ‘मुखले लेखेरै परीक्षा दिइरहेका छन् ।’ 

प्रकाशित : चैत्र ८, २०७३ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?