१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘विश्वशान्तिमा नेपालीको भूमिका छ’

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वमा शान्ति स्थापनामा नेपाल लागिरहने बताएका छन् । काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ‘अन्तर्राष्ट्रिय शान्ति प्रयास–३ प्रशिक्षण’को सोमबार उद्घाटन गर्दै दाहालले यस्तो बताएका हुन् ।

‘नेपाली भूमि इमान्दारी र शान्तिका लागि प्रख्यात छ । संयुक्त राष्ट्रसंघको सदस्य भएदेखि नै नेपालले विश्वमा शान्ति स्थापनामा सहयोग गर्दै आइरहेको छ । अब पनि गरिरहने छ,’ प्रधानमन्त्री दाहालले भने । उनले नेपालले बृहत् शान्ति सम्झौताबाट शान्तिको बाटो अपनाएको उल्लेख गर्दै शान्तिसुरक्षामा लागिरहने बताए । प्रधानमन्त्री दाहालले विश्वमा शान्ति स्थापना गर्न नेपालीको ठूलो भूमिका भएको भन्दै शान्ति मिसनमा सहभागी हुने नेपाली सैनिकहरूको प्रशंसा गरे ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा एकीकृत रूपमा काम गर्न सहजताका लागि नेपाली सेनाले यो प्रशिक्षण तेस्रो पटक आयोजना गरेको हो । चैत २१ सम्म हुने प्रशिक्षणमा २८ मुलुकका १ हजार २४ सैनिक प्रशिक्षार्थी र प्रशिक्षक सहभागी हुँदै छन् । जीपीओआई (अमेरिकी सरकारको राजनीतिक–सुरक्षा विभागले शान्ति स्थापना, अन्तर्राष्ट्रिय सुरक्षा क्षमता र क्षेत्रीय सुरक्षा अभिवृद्धि गर्न स्थापित कार्यक्रम) मा रहेका २१ र ७ अन्य मुलुक प्रशिक्षणमा सहभागी छन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीले १७ वर्ष अघिदेखि सुरु भएको बहुराष्ट्रिय शान्ती प्रयास प्रशिक्षणले शान्ती स्थापनामा शान्ति स्थापनाकर्ता बीचमा मिलेर काम गर्न सहज हुने बताए । नेपालले यसअघि सन् २००० मा पहिलो र २०१३ मा दोस्रो बहुराष्ट्रिय शान्ति प्रयास प्रशिक्षण गरेको थियो ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत एलिना बी टेप्लिजले शान्ति स्थापनामा अमेरिकी सरकारले धेरै प्राथमिकता दिएको उल्लेख गर्दै नेपाली सैनिकहरूले विश्वमा शान्ति स्थापनामा खेलेको भूमिकाको प्रशंसा गरिन् ।

प्रकाशित : चैत्र ८, २०७३ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?