२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

चुनावी जोडघटाउ सुरु

विगतमा भोग्नुपरेको सास्ती र विकास निर्माणमा भएका भागबन्डाले आजित मतदातामा निर्वाचनप्रति उत्साह बढ्दो

धनगढी/कञ्चनपुर — पश्चिम तराईका कैलाली र कञ्चनपुरमा बढदो गर्मीसँगै चुनावी माहोल तात्न थालेको छ । राजनीतिक दल मात्र होइनन्, सर्वसाधारण पनि चुनावी जोडघटाउमा लागिसकेका छन् । दुई दशकसम्म जनप्रतिनिधिविहीन स्थानीय निकाय कर्मचारी तन्त्रले चलाउँदा भोग्नुपरेको सास्ती र विकास निर्माणमा भएका भागबन्डाले आजित मतदातामा निर्वाचनप्रति दलहरूभन्दा कम उत्साह छैन ।

गुनासा तथा समस्याको उचित सम्बोधन नभएको पीडा भोगेका सर्वसाधारण निर्वाचनलाई लिएर झन् बढी उत्साहित भएका हुन् ।

दलका कार्यालयमा टिकटका लागि दौडधुप सुरु भइसकेको छ । चोकचौराह र चिया पसलमा दलका नेताकार्यकर्ताबीच कसले टिकट पाउँछ ? कसले निर्वाचन जित्छ ? भन्नेमा बहस हुन थालेका छन् । ‘हामी निर्वाचनमा होमिइसकेका छौं,’ कैलाली कांग्रेसका गोदावरी नगर सभापति हेमप्रकाश उप्रेतीले भने, ‘जिल्लाका सबै गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारी दिने रणनीति बनाएर प्रचारप्रसार अघि बढाएका छौं ।’ 

७ नम्बर प्रदेशको मुख्य व्यापारिक केन्द्र धनगढीमा दलहरूले स्थानीय निर्वाचनको व्यापक तयारी सुरु गरिसकेका छन् । नयाँ संरचनाअनुसार निर्माण भएका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकालगायतमा दलले कार्यक्रम बढाएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमोर्चालगायत दलले चुनावी अभियान सुरु गरिसकेका छन् । ‘टोलटोल र वडाहरूमा पुगेर चुनावी अभियानमा जुटेका छौं,’ एमाले कैलालीका सचिव रणबहादुर चन्दले भने, ‘सबै दलहरू आफ्नो अभियानमा जुटेका छन् ।’ 

नयाँ संरचनाअनुसार कैलालीका ६ गाउँपालिका, ६ नगरपालिका र १ उपमहानगरपालिका (धनगढी) मा कुन दलका कुन नेताले टिकट पाउन सक्छन् भन्नेमै चर्चा केन्द्रीत छ । प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको निर्वाचनलाई सबै राजनीतिक दलले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । धनगढीमा निर्वाचन जित्ने दलले संसदीय निर्वाचनमा पहाडी जिल्ला र अन्यत्र पनि प्रभाव राख्न सक्ने भएकाले यो निर्वाचन सबै दलको प्रतिष्ठाको विषय भएको हो । 

०४६ को राजनीतिक परिवर्तनपछि दुईपटक भएको धनगढी नगरपालिकाको निर्वाचनमा कांग्रेसले दुवै पद (मेयर र उपमेयर) मा जित हासिल गरेको थियो । ०५४ मा दोस्रो पटकको स्थानीय निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका थिए । धनगढी उपमहानगरपालिकासँगै कैलालीको टीकापुर नगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा, लम्की चुहा, घोडाघाडी र भजनी नगरपालिकामा पनि दलहरूले चुनावी तयारी सुरु गरिसकेका छन् । टीकापुर र गोदावरी नगरपालिकालाई दलहरूले त्यतिकै महत्त्व दिएका छन् ।

कञ्चनपुरको भीमदत्त नगरमा पनि निर्वाचन माहोल तातेको छ । भीमदत्त नगरमा हुने विजय/पराजयले पहाडी जिल्ला डडेलधुरा, बैतडी र दार्चुलाको राजनीतिलाई प्रभावित गर्ने भएकाले पनि दलहरूले यो नगरमा राजनीतिक प्रतिष्ठाको लडाइँ लड्ने तयारी गरेका छन् । ‘चुनावी सरगर्मी बढ्न थालेको छ, नेता कार्यकर्ताहरू गाउँ र वडासँगै पार्टीका कार्यालयमा पनि भरिन थालेका छन्,’ कांग्रेस कञ्चनपुरकी सदस्य कृष्णा चन्दले भनिन्, ‘उम्मेदवारका आकांक्षी पनि प्रशस्त देखिन थालेका छन् ।’ 

भीमदत्त नगरपालिकामा मुख्य दलहरूबाट ठूलो संख्यामा आकांक्षी देखिएका छन् । यी दलहरूबाट एकै नगरपालिकामा मेयर र उपमेयरका आकांक्षीहरू ६/७ जनासम्म देखिएका छन् । यसको व्यवस्थापन पनि ठूलो चुनौती बन्न सक्ने देखिन्छ । ‘हामी अहिले वडा, गाउँ र नगरको संगठन विस्तारसँगै प्रचारप्रसारमा जुटेका छौं,’ माओवादी केन्द्रका नेता गोपाल रसाइलीले भने, ‘आकांक्षी धेरै भए पनि कसैले मुख खोलेका छैनन् ।’ 

जिल्लाका महाकाली, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलौरी र पुनर्वास नगरपालिका तथा बेल्डाडी र लालझाडी गाउँपालिकामा समेत प्रमुख र उपप्रमुखमा ठूलै संख्यामा उम्मेदवारका आकांक्षी देखिएका छन् । वडाहरूमा समेत उम्मेदवार व्यवस्थापन चुनौती बन्न सक्ने नेताहरूले बताए । कञ्चनपुरमा ७ नगरपालिका र २ गाउँपालिकाका गरी ९२ वडाबाट ४ सय ७८ प्रतिनिधि निर्वाचित हुनेछन् । 

कैलालीमा निर्वाचन आयोगलले निर्वाचनको आवश्यक तयारी भइरहेको जनाएको छ । यसपटक नयाँ संरचनाअनुसार १ उपमहानगरपालिका, ६ नगरपालिका र ६ वटा गाउँपालिकाका १ सय २६ वडाबाट ६ सय ५६ जनप्रतिनिधि निर्वाचित हुने छन् । कैलालीमा नयाँ संरचनाअनुसार बनेका १३ वटा स्थानीय तहका १ सय २६ वडाका ४ लाख ४५ हजार ८ सय ९९ मतदाताले २ सय ३२ मतदान स्थलमा मतदान गर्ने छन् । 

प्रकाशित : चैत्र ८, २०७३ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?