पोल गाडेको ७ वर्षपछि बिजुली

माधव अर्याल

कोलडाँडा (पाल्पा) — वर्षौंदेखि पोल गाड्ने, तार टाँग्ने काममा घरपरिवार र गाउँले खटेको देखेका कोलडाँडा ४, बाँबरीडाँडाका ९७ वर्षीय खेमबहादुर दर्लामी घरमा बिजुली बलेपछि दंग छन् । पोल गाडेको वर्षौं बित्दा उनलाई घरमा बिजुली बलेको देख्न पाइँदैन कि भन्ने लाग्थ्यो ।

‘पोल गाडेको ७ वर्ष भयो । ३/४ वर्ष भयो बिजुली बल्छ भनेको,’ उनले भने, ‘अहिले बल्ल गाउँमा बिजुली आयो ।’ सपनाजस्तै लागेको उनले बताए । ३४ वर्षीया रेनुका दर्लामी पनि गाउँघरमा बिजुली बलेकामा खुसी छन् । तार टाँगेको र घरमा वायरिङ गरेको ४ वर्ष बित्दा पनि बिजुली बाल्न नपाएपछि उनी निराश थिइन् ।
जिविसले कोलडाँडालाई टुकीमुक्त बनाउन २०६६ मा ‘उज्यालो गाउँ’ अभियान थालेको थियो । स्थानीयको जनसहभागिता, जिविस, गाविसको लगानीमा सुरु भएको योजनाले ७ वर्षपछि सफलता पाएको हो । स्थानीयदेखि जिल्लाका दलका नेताका लागि कोलडाँडाको विद्युतीकरण प्रतिष्ठाको विषय बनेको थियो ।
७ वर्षअघि नै बल्ने बिजुली विभिन्न कारण रोकिएको विद्युत् विस्तार समिति सचिव सुरेन्द्र रेश्मीले बताए । ‘प्रजातान्त्र आएपछि नै नेता कार्यकर्ताले बिजुली बाल्ने सपना बुन्थे,’ उनले भने, ‘अहिले बल्ल त्यो सपना पूरा भयो ।’ उनीहरू नेताको भनाइ मान्दै मतदान गर्दै आए पनि अहिले बल्ल सार्थकता पाएको बताउँछन् । बिजुली बाल्न पाउँदा गाउँले खुसी बनेको उपभोक्ता समिति अध्यक्ष देवसिंह दर्लामीले बताए ।
प्राधिकरणका इन्जिजियर प्रमोद खनालले गुणस्तर र मापदण्डअनुसार काम गर्नुपर्ने भएकाले केही ढिलाइ भएको बताए । गाविस, जिविसको पटकपटक गरी ५४ लाख २४ हजार ४ सय ९४ रुपैयाँ र स्थानीय जनताको ६ लाख ६० हजार रुपैयाँको लागनीमा विद्युत् विस्तार भएको हो ।

प्रकाशित : चैत्र ८, २०७३ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्

जीवन गुजाराको भर ‘मकै’

विना थापा

कास्की — परिश्रम गरी बाँच्न चाहनेका लागि पेसा धेरै छन् । यिनैमध्ये एउटा सजिलोजस्तो लाग्ने पेसा बाटोमा हरिया मकै पोलेर बेच्ने पनि हो । धादिङ मैदीबाट आएका पम्फा तामाङले पोखराको सिर्जनाचोकनजिकै मकै बेच्न थालेको ९ वर्ष पुग्यो । उनले देख्दादेख्दै धेरैले यो पेसा गरी हेर्दै छाडे । उनले छाड्न सकिनन् ।

‘छरछिमेकीको सहयोगमा सानो पुँजीमा सजिलो काम यही थालियो,’ उनले भनिन्, ‘सुरुमा सजिलो हुने यही देखें । पछि योबाहेक अरू गर्न सकिएन ।’ पम्पाले सडकमा मकै बेच्दाबेच्दै राम्रो कमाइको आसमा पति छो लामा विदेश पनि पुगे । सोचेजस्तो सजिलो र आम्दानी हुने काम मिलेन । बस्न नसकेपछि उनी फर्किए ।

अहिले यो दम्पती मकै पोलेर बेच्छन् । पम्फा एकै ठाउँ बसेर बेच्छिन् भने पोलेका मकै भाँडामा बोकेर लामा नगर डुल्छन् । ‘सधैं भनेजस्तो व्यापार हुँदैन,’ उनले भनिन्, ‘बिरामी पर्दा दु:ख पाइन्छ ।’ उनीहरूको १० जनाको परिवार छ । पाठेघरमा घाउ आएपछि पम्पा दु:खी छिन् । ‘खर्च कहिले १२ हजार, कहिले ७ हजार रुपैयाँ भएकै छ,’ उनले भनिन्, ‘जसरी भए पनि घरव्यवहार धान्नुपरेको छ ।’ 

पुरानो थलो धादिङ भए पनि न्युरोडमा बस्दै आएकी गंगा गुरुङले मकै बेच्न थालेको १९ वर्ष पुगेको छ । उनी पोखरा महानगरको तीव्रतर सहरीकरणको साक्षी पनि हुन् । ‘पहिले–पहिले त घर बनाएका ठाउँमा ज्यामी काम पनि गरेको हो,’ उनले भनिन्, ‘मकै बेच्न थालेपछि यही सजिलो लाग्यो ।’ उनका अनुसार पोखरा बजार क्षेत्रमा मकै पोलेर बेच्ने काम गर्ने ३० जना हाराहारीमा छन् । ‘काम सानो–ठूलो हुँदैन, इज्जतले गरिखाए जे पनि राम्रो,’ उनले भनिन्, ‘हेर्दा सामान्य लागेपनि यो काममा खट्न सक्दा राम्रै आम्दानी छ ।’ आफूले मकै प्रशस्त पाइने मौसममा दिनमा बढीमा १ सय २० घोगासम्म बेच्ने गरेको उनले बताइन् । ‘राम्रो बिक्री भएका दिन त ३ हजारदेखि ३५ सयसम्म हुन्छ,’ उनले भनिन् ।

महानगरभित्र मकै र बदाम बेच्ने व्यवसायमा लागेकामध्ये आधाजसो भारतीय नागरिक पनि छन् । नेपाली मूलका लागि भने यो पेसा केही वर्ष गरेपछि अन्य व्यवसायमा जान बाटो खोल्न सहज हुने उनको भनाइ छ । उनका अनुसार मकै दमौलीबाट ल्याइन्छ ।

मूलघर गोरखा भई पोखराको नयाँ बजार बस्दै आएकी कुमारी श्रेष्ठ पनि मकै बेच्छिन् । ‘पहिले बालुवा चाल्ने काम गरिन्थ्यो,’ उनले भनिन्, ‘गर्न थालेपछि मकै पोलेर बेच्ने काम सजिलो लाग्यो ।’ हेर्दा सजिलो लागे पनि सडकछेउ बस्नु, आगो–कोइलासँग खेल्नुपर्ने भएकाले यो कामको पनि आफ्नै जटिलता भएको उनले बताइन् । ‘तर, जे भए पनि चारजनाको परिवार पाल्न यही पेसाको भर छ,’ उनले भनिन् ।

प्रकाशित : चैत्र ८, २०७३ ०९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्