आर्थिक गतिविधिमा संकट

स्थानीय तह पुन:संरचना
अगन्धर तिवारी

पर्वत — ५५ गाविस समेटेर २ नगरपालिका र ५ गाउँपालिका कार्यान्वयनमा आएपछि सदरमुकाम कुश्माको आर्थिक गतिविधि संकटमा पर्ने देखिएको छ । सदरमुकामदेखि उत्तर, दक्षिण, दक्षिणपूर्व तथा पश्चिमका गाउँपालिकामा छुट्टाछुट्टै केन्द्र कार्यान्वयनमा आएपछि यहाँका वित्तीय संस्था, होटल व्यवसायीसँगै यातायात व्यवसायीको कारोबारमा मन्दी आउने देखिएको हो ।

दक्षिणका १६ गाविसका बासिन्दा साना कामका लागि पनि दिनभरको यात्रा गरी सदरमुकाम आउन बाध्य थिए । दक्षिण–पूर्वका होस्राङी, भोक्सिङ, बालाकोट, पाखापानी, लुङखु, फलामखानी र कुर्घाको केही भाग समेटेर महाशीला गाउँपालिका कार्यान्वयनमा आएको छ ।

 दक्षिणका टकलाक, त्रिवेणी, बेउलीबास, हुवास, सरौंखोला र भोर्लेलाई समेटेर पयुँ गाउँपालिका बनेको छ । दक्षिणकै बाच्छा, बर्राचौर, उराम, शालिग्राम, रानीपानी र वाहाकीलाई बिहादी गाउँपालिका बनाइएको छ । सदरमुकामबाट उत्तरपूर्वका ८ गाविस समेटेर मोदी गाउँपालिका बनेको छ । त्यसैगरी उत्तरका ७ गाविसलाई जलजला गाउँपालिका बनाइएको छ । सदरमुकामसँग जोडिएका शंकरपोखरी, कार्कीनेटा, थापाठाना, मुडिकुवा, खानीगाउँ, देवीस्थान, लिमिठाना, ठानामौला, भंगरा, पाङ्राङ र कुर्घाका केही भागलाई फलेबास नगरपालिका बनाइएको छ ।

सदमुकामसहित १० गाविस समेटेर बनेको कुश्मा नगरपालिकाबाहेकका बासिन्दालाई अब स(साना कामका लागि सदरमुकाम आउनुपर्ने बाध्यता रहेन । गाउँगाउँमा आर्थिक केन्द्र बन्ने भएपछि सदरमुकामका थोक तथा खुद्रा व्यवसायीसमेत चिन्तामा छन् । ‘अब गाउँतिर माल पठाउन हराउने भयो,’ डेढ दशकदेखि दैनिक उपभोग्य सामानको थोक बिक्रीको कारोबार गर्दै आएका लोकनाथ अधिकारीले भने, ‘सम्पर्कै टुट्ने भएपछि कारोबार कसरी हुन्छ ?’ गाउँका साना व्यवसायी पनि सदरमुकामसितको सम्पर्कबाट टुट्ने अवस्था अनुमान गर्दै तनावमा छन् । नयाँ संरचना कार्यान्वयन भएसँगै सदरमुकामका सबै व्यवसाय अब साबिकका १० गाविसमा मात्रै केन्द्रित हुने पक्का छ ।

सानो कामकाज लिएर सदरमुकाम आउने सर्वसाधारण केही दिन बस्नुपर्दा सदरमुकामका होटल, वित्तीय संस्था र व्यवसायीसँग कारोबार गर्थे । ‘अब सदरमुकाम जानैपर्ने बाध्यता हुँदैन,’ हुवासका लालबहादुर प्रधानले भने । कामकाजका लागि सदमुकाम आउजाउ गर्दा ग्रामीण सडकमा चल्ने सवारीमा पनि यात्रुको चाप हुन्थ्यो । ‘सदरमुकामका सुविधा गाउँमै पाइने भएपछि गाडीमा चाप त्यसै घट्छ,’ जिप चालक लोकेश खत्रीले भने, ‘अब गाउँमा चल्ने जिप थन्क्याए हुन्छ ।’
पछिल्लो समय सदरमुकाम केन्द्रित भएर खुलेका दर्जनौं वित्तीय संस्थाहरूले पनि अब गाउँकेन्द्रित लगानीको विकल्प नभएको बताएका छन् ।

प्रकाशित : चैत्र ८, २०७३ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्

गाउँका महिला एकजुट

कान्तिपुर संवाददाता

चितवन — इच्छाकामना १, तार्सेलिङकी फूलमाया चेपाङ पहिला गाउँमा नयाँ व्यक्ति आउँदा बोल्न लजाउँथिन् । आफ्ना कुरा राख्न डराउँथिन् । नयाँ मान्छे आउँदा मुख छोपेर बस्थिन् । तर, अहिले उनी गाउँका महिलाको नेतृत्व गर्ने भएकी छन् । उनको सल्लाहमा गाउँका महिला विकासमा जुट्छन् । आयआर्जनमा सक्रिय हुन्छन् ।

‘पहिला नयाँ काम गर्न पनि आउँथेन,’ उनले भनिन्, ‘अहिले आफ्ना लागि आफैं गर्न सक्ने भएका छौं ।’ उनको समूहको नाम झिलिमिली महिला समूह हो । उनी यसको अध्यक्ष हुन् । समूहमा ३३ महिला छन् । समूहमा प्रतिघर १ महिला आबद्ध छन् । मासिक रूपमा घरबाट ५० रुपैयाँ उठाउने गरिएको छ । जुन रकम कोषमा जम्मा हुन्छ ।

यसरी जम्मा भएको रकम समूहमा समस्या परेका महिलालाई सहयोग गरिन्छ । जसका लागि १ सयको १ रुपैयाँ ब्याज पर्छ । ‘म पनि समूहमा छु, कुखुरा पाल्न भनेर ३ हजार लिएकी छु,’ सुनीता चेपाङले भनिन्, ‘रकम थपेर अहिले कुखुरा पाल्न सुरु गरें ।’ उनको परिवारले पहिला गाई पाल्थे । त्यसबाट खासै आम्दानी भएन । ‘आम्दानी हुने कुरा चाहियो, गाईबाट आम्दानी भएन,’ उनले भनिन्, ‘अब कुखुराबाट आम्दानी गर्ने सोच छ ।’

त्यस्तै केही महिलाले बाख्रा पालेका छन् । छोराछोरी पढाउन सक्ने भएका छन् । समूहबाट ३ हजारसम्म निकाल्न पाइन्छ । ‘पहिला गिठा भ्याकुर खाएर धान्नुपथ्र्यो, गाउँमा कुनै संस्था पनि आउँदैन थिए,’ नक्कलीमाया चेपाङले भनिन्, ‘अहिले बिस्तारै समस्या टर्दै गएको छ ।’ 

प्रकाशित : चैत्र ८, २०७३ ०९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्