कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

१२ सातामाथिको गर्भपतन सेवा सुरु

अछाम — बयालपाटा अस्पतालमा १२ साताभन्दा बढीको सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ । सुदूरपश्चिमको सेती अञ्चल अस्पताल धनगढीले मात्र यसअघि यस्तो सेवा दिँदै आए पनि बयालपाटा अस्पताल अछाममा पहिलो पटक सुरु भएको हो ।

अस्पतालका डा. विकास गौचनले आई पास नेपाल नामक संस्थाको सहयोगमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रद्वारा सञ्चालित १२ हप्ताभन्दा बढीको गर्भपतन सेवासम्बन्धी तालिम लिएर सूचीकृत स्वास्थ्यकर्मी भएसँगै अब यो सेवा बयालपाटामा पनि थालिएको बताए ।

‘यस खालको गर्भपतन निकै जोखिमपूर्ण मानिन्छ,’ अस्पतालका डा. गौचनले भने, ‘१२ हप्तासम्मको गर्भपतनलाई मात्र कानुनी मान्यता दिइएकोमा केही विशेष परिस्थितिमा मात्र त्योभन्दा माथिको गर्भपतन सम्भव हुने व्यवस्था कानुनले गरेको छ ।’ 

आमा र गर्भमा रहेको बच्चा दुवैको ज्यान जोखिम रहेमा, हाडनाता करणी तथा जबजस्ती करणीको गर्भ छ भने सूचीकृत चिकित्सकले मात्र सेवा दिन सक्ने व्यवस्था कानुनले गरेको गौचनले जानकारी दिए ।

असुरक्षित गर्भपतनका कारणले अछामसहित सुदूरपश्चमका पहाडी जिल्लाका महिलाले अकालमै ज्यान गुमाउन परिरहेको थियो । अब भने यसभन्दा माथिको पनि सुरक्षित गर्भपतन सेवा सुरु भएपछि यहाँका महिलालाई राहत हुने अस्पतालका मेडिकल निर्देशक डा. सन्तोषकुमार ढुंगानाले बताए । 

सेवा सुरु भएपछि अछाम, बाजुरालगायत महिलाले हजारौं तिरेर यस्तो सेवा लिन धनगढी वा भारत जानुपर्ने बाध्यता हटेको ढुंगानाको भनाइ छ । अछाममा सुरक्षित गर्भपतन सेवा पूर्ण रूपले नि:शुल्क भएसँगै गुणस्तरीय पनि हुने भएकाले अब अकालमा महिलाले असुरक्षित गर्भपतनबाट ज्यान गुमाउनु नपर्ने उनले बताए । 
१२ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा अछाममा ०६० बाट सुरु भए पनि सेवा प्रदायकको नियमित उपस्थिति नहुँदा ०६६ सालबाट मात्र नियमित रूपमा जिल्ला अस्पताल र न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयालपाटा अस्पतालबाट सेवा प्रदान गर्न सुरु गरिएको थियो ।

यसका लागि आवश्यक सुरक्षित गर्भपतन सेवा जिल्ला अस्पताल, बयालपाटा अस्पताल तथा दुई प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार र चौरमाडौसहित १० वटा स्वास्थ्य चौकीमा सम्पूर्ण रूपले नि:शुल्क उपलब्ध रहेको छ ।

अझै पनि यो सेवा सहज रूपमा विभिन्न स्वास्थ्य संस्थाबाट पाउने जानकारी नहुँदा धेरै महिलाले महँगो शुल्क तिरेर निजी औषधि पसल तथा क्लिनिकबाट औषधि खाएर अपूर्ण गर्भपतन भई समस्या लिएर अस्पताल आउने गरेको डाक्टरले बताए ।

 नेपालमा १२ हप्ताभन्दा बढीको सुरक्षित गर्भपतन गर्ने सूचीकृत स्वास्थ्य संस्था सीमित मात्र भएकाले धेरैलाई यो सेवा लिन राजधानी नै धाउनुपर्ने बाध्यता छ । 

नेपालमा ७ प्रतिशत आमाको ज्यान असुरक्षित गर्भपतनको कारणले जानेछ भने विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार संसारभर ४९ प्रतिशत महिला असुरक्षित गर्भपतन सेवा लिन बाध्य छन् ।


 

प्रकाशित : चैत्र ८, २०७३ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?