कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ढुंगा चोरी बढ्यो

खोला र गाउँभरि ढुंगाको थुप्रो

कचनापुर (बाँके) — राप्तीपारिका सामुदायिक वनभित्र रहेका खोलाबाट ढुंगा चोरी बढेको छ । ढुंगाको मूल्य बढेपछि चोरी पनि बढेको हो । अवैध रूपमा उत्खनन गरिएका ढुंगा ठेकेदारलाई बिक्री हुने गरेको छ । एक ट्रली ढुंगा करिब ६ देखि ८ हजारसम्ममा बिक्री हुने गरेको छ ।

ढुंगा चोरी बढ्यो

त्यस क्षेत्रका वन कर्मचारी, प्रहरी प्रशासन मौन बस्दा चोरी बढेको स्थानीय बताउँछन् । स्थानीयले उनीहरूको मिलोमतोको आरोप लगाएका छन् । चोरिएका ढुंगा, गिट्टी दिनदहाडै बिक्री हुने गरेको छ । सबैभन्दा बढी मुगुवा खोलाबाट चोरी हुने गरेको हो । ढुंगा कारोबारीमा स्थानीय युवा पनि संलग्न छन् ।

प्रभावकारी अनुगमन अभावमा नदीजन्य पदार्थको दोहोन बढेको हो । ‘यो त अति भयो । जताततै ढुंगाको थुप्रो लागेको छ,’ अनुगमनका लागि मुगुवा खोला पुगेका बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले भने, ‘कसले चोरी गरेर ढुंगा थुपारेको हो पत्ता लगाएर लिलामी गर्छौं ।’ त्यसका लागि जिल्ला वनसँग समन्वय भइरहेको उनले बताए ।

जिल्ला समन्वय समितिबाट अनुमति पाएका ठेकेदारबाहेक अन्यले खोलाबाट ढुंगा झिक्न नपाउने उनले बताए । अनुमतिबिना ठेकेदारले पनि ढुंगा थुपारेर राख्न नपाउने सर्त छ । इजाजत पाएका ठेकेदारले समेत खोलामा बढी ढुंगा झिक्न डोजर प्रयोग गर्ने गरेको पाइयो । उत्खननका नाममा खोला नजिकै क्रसर राखिएका छन् ।
जिल्ला समन्वय समिति, बाँकेबाट चालु आवका लागि ढुंगा, बालुवा, गिट्टी झिक्न नेपालगन्जका शिवम ट्ेरडर्सका त्रिभुवनलाल यादवले करिब ९ करोडमा ठेक्का पाएका छन् । सर्तअनुसार निश्चित तोकिएको खोला नालाबाट करिब ११ लाख क्युफिट ढुंगा, साढे २४ लाख बालुवा र गिट्टी गरी ५२ लाख ३२ हजार क्युफिट झिक्न पाउनेछन् ।

प्रारम्भिक वातावरणीय प्रतिवेदनका आधारमा मात्रै ढुंगा, गिट्टी, बालुवा, मोरङ उत्खनन र निकासीका लागि अनुमति दिइन्छ । ५० प्रतिशत राष्ट्रिय वन निकुञ्जमा परेपछि सामुदायिक वन क्षेत्रभित्रका खोलाबाट ढुंगा, गिट्टी व्यापक निकासी हुन थालेको छ । बाँकेका वन अधिकृत पुष्पराज बर्तौलाले त्यसबारे अनुमगन गरी कारबाही अघि बढाउने बताए ।

प्रकाशित : चैत्र ८, २०७३ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?