२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

त्रास बोकेरै सीमावारि

भवानी भट्ट

कञ्चनपुर — भारत उत्तराखण्डको खटिमाका राकेश सिंह मोटरसाइकल चढेर महेन्द्रनगर आउजाउ गरिराख्छन्। यसपालि भने उनी मोटरसाइकल पारि बनबासामै रोकेर आए।

फागुन अन्तिम साता जिल्लाको पुनर्वास नगरपालिकास्थित आनन्द बजारमा भएको घटनाका कारण उनी सवारीसाधन ल्याउन हच्किएका हुन्। कल्भर्ट निर्माणसम्बन्धी विवादमा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर एक नेपाली नागरिकको मृत्यु भएको थियो 

घटनाका दिनदेखि सवारीसाधन आउजाउमा रोक लगाएका दुवैतर्फका सुरक्षाकर्मीले शनिबारदेखि खुला गरे पनि भारतबाट आउनेहरू अझै ढुक्क छैनन्। दुवैतर्फका सुरक्षाकर्मी र स्थानीय प्रशासनको समन्वयमा आवागमन सुचारु गरिएको हो। ‘भारतीय नम्बरका मोटरसाइकल र गाडी धैरै आइरहेका छन्,’ गड्डाचौकीमा भेटिएका सिंहले भने, ‘तर, मैले ल्याउने आँट गर्न सकिनँ।’

 सीमावर्ती क्षेत्रमा भारतीय नम्बरका सवारीसाधनमा तोडफोड हुन सक्ने हल्ला फैलिएकाले राकेश मोटरसाइकल बनबासामै छाड्न बाध्य भए। शनिबारदेखि मालवाहक साधन, मोटरसाइकल तथा अन्य ठूला सवारी आइरहे पनि त्रास कायमै रहेको सर्वसाधारण बताउँछन्। ‘अहिले पनि सवारीसाधन कसैले तोडफोड गरिदिन्छन् कि भनेर डर लाग्छ,’ बनबसाका मनोज गुप्ताले भने, ‘तर, पनि आउजाउ चलेकै छ।’ प्राय महेन्द्रनगर र गड्डाचौकी आउजाउ गरिराख्ने उनी पुनर्वास घट्नापछि अत्याकश्यक काम परे मात्रै आउन थालेका छन्। 

ब्रह्मदेव नाकाबाट भने अझै दुवैतर्फका सवारीसाधन चल्न सकेका छैनन्। भारतीय सुरक्षाकर्मीले भारतीय नम्बरका मोटरसाइकल टनकपुर पुलपारि र नेपाली नम्बरका मोटरसाइकल वारि नै रोक्ने गरेको स्थानीय बताउँछन्। 

‘यहाँ पनि अफवाहकै कारण सवारीसाधन आउजाउ गर्न नदिइएको हो,’ ब्रह्मदेवका व्यवसायी यज्ञराज भट्टले भने, ‘भारतीय सुरक्षाकर्मीले नै जोखिम छ भन्दै आउजाउ गर्न दिएको छैन।’ ब्रह्मदेव पुलबाट मोटरसाइकल मात्रै आउजाउ हुने गर्छन्। ‘सीमावर्ती क्षेत्रमा फैलाइएको गलत प्रचार चिर्न सके मात्रै भारतीय सवारी साधन निर्धक्क ल्याउन सकिन्छ’ ब्रह्मदेवका व्यवसायीहरू भन्छन्, ‘यसका लागि स्थानीय प्रशासनले भारतीय सुरक्षाकर्मी र प्रशासनसँग समन्वय गर्नुपर्छ।’ ब्रह्मदेवका व्यवसायीहरूले सीमावर्ती टनकपुर व्यापार मण्डलका पदाधिकारीसँग समेत यस विषयमा छलफल भइरहेको बताए। 

प्रकाशित : चैत्र ११, २०७३ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?