कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आन्दोलन छैन, कांग्रेस चुनावदेखि डरायो: पहारी

आश गुरुङ

लमजुङ — युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले मधेसकेन्द्रित दललाई ‘भुरेटाकुरे’को संज्ञा दिएका छन् ।

आन्दोलन छैन, कांग्रेस चुनावदेखि डरायो: पहारी

मधेसकेन्द्रित दलको ब्यवहारले मुलुक अघि नबढ्ने र चुनावमा जानुको विकल्प नभएको उनले बताए । ‘तराईतिर भुरेटाकुरे मधेसकेन्द्रित दलहरुले आन्दोलनमा छौं, आन्दोलन गरिरहेका छौं, संविधान संशोधनका लागि भनिरहेका छन् । आन्दोलन कहाँ छ, के मा छ, थाह छैन,’ प्रेस चौतारी नेपाल लमजुङ शाखाले सोमबार बेंसीसहरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘उहाँहरु (मधेसी दल) अहिले सिरकभित्र आन्दोलन गरिरहेका छन् । यसको कुनै अर्थ छैन । बरु टुँडिखेलमा आउन आग्रह गर्छु, पानी र ओत्ने ब्यवस्था युवासंघले गर्छ ।’ उनले टिप्पणी गरे, ‘निर्वाचन रोक्ने प्रयत्न ‘माकुरोको जालोले हात्तीलाई रोक्न खोजेको जस्तै हो । चुनाव रोक्नु दिवा सपना हो ।’

कांग्रेस आफैं धामी, आफैं बोक्सी बनेको आरोप उनले लगाए । ‘कांग्रेस आफूलाई लोकतन्त्रको ठूलो अंशियार ठन्छ । अहिले यो वा त्यो नाउँमा कांग्रेस चुनावबाट भाग्दैछ । संविधान संशोधन नगरी चुनावमा जान सक्दैनौ भन्दैछ’ उनले भने, ‘एमालेको लहर बढ्दै गएको छ । एमालेमा आउने क्रम चलेको छ । कांग्रेस बाहना बनाएर निर्वाचन नगराउने खेलमा छ ।’ चुनाव नभए ‘सिष्टम कोल्याप्स’ हुने उनले चेतावनी दिए । ‘संविधान भनेको महिलाले लगाउने लिपिस्टक होइन । मन लागे लाउने, मन नलागे पुछ्ने’ उनले भने, ‘संविधान संशोधन र चुनाव फरक विषय हो । सवै मिलेर निर्वाचनमा आउनोस्, एमालेलाई बढार्नोस् । तर, चुनाव हुनुपर्छ ।’ बैशाख ३१ गते चुनाव हुन नसके अर्को २ वटा चुनाव पनि नहुने र मुलुक ‘अँध्यारो सुन’ भित्र फस्ने चेतावनी उनले दिए ।

मुलुकलाई विभाजन गर्न चहाने, बिखण्डन गर्न खोज्ने, ‘मुलकुलाई बलात्कार’ गर्न चहाने ब्यक्ति वा संस्थालाई फाँसी दिने खालको ब्यवस्था संविधानमा राख्ने भए संविधान संशोधन गर्न मञ्जुर रहेको उनले बताए । ‘नेपालमा फाँसीको ब्यवस्था नभएकाले अराजकता फैलिएको छ । संशोधन गर्ने हो भने सिके राउत प्रवृत्तिका ब्यक्तिलाई फाँसी दिनुपर्छ । खुलेआम मुलुकलाई विभाजन गर्छु, बिखण्डन गर्छु, तराई मधेश छुट्टै राज्य हो, मुलुक हो भन्दै हिँडेका छन्’ उनले भने ।

प्रकाशित : चैत्र १४, २०७३ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?