निर्माणमा ढिलाइ गर्नेलाई हर्जाना

हेटौंडा — मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने दामन–डाँडावाँस सडक स्तरोन्नति ठेक्का लिएको निर्माण कम्पनीले काममा ढिलाइ गरेकाले जिल्ला समन्वय समितिले सम्बन्धित कम्पनीलाई २ लाख हर्जाना तिराएको छ ।

चालू आवको असार मसान्तसम्म काम सक्नुपर्ने कम्पनीले अहिलेसम्म २५ प्रतिशतमात्र निर्माण सकेकाले हर्जाना तिराएको हो ।

‘कामको प्रगतिदर सुस्त भएकाले हर्जाना तिराएका हौं’, प्राविधिक कार्यालय प्रमुख सोमप्रसाद तिमल्सिनाले भने, ‘निर्माण कार्यको प्रगतिदर बढेन भने अझ ४ लाख रुपैयाँ हर्जाना तिराउनु पर्ने हुन्छ ।’ २४ सै घन्टा काम गरेर तोकिएकै समयभित्र काम सम्पन्न गरेमा उक्त कम्पनीलाई हर्जाना रकम फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ ।

महालक्ष्मी/सिंह एन्ड ब्रर्दस जेभी कम्पनीले उक्त सडकको स्तरोन्नति गर्न करिब ९ महिना अघि ठेक्का लिएको हो । तीन महिना भित्रमा उक्त सडकको स्तरोन्नति कार्य सम्पन्न गर्नु पर्नेछ । ७५ प्रतिशत काम तीन महिनामा सम्पन्न गर्न कठिनाइ छ प्राविधिक कार्यालयका इन्जिनियरले भने, ‘मंसिरदेखि माघसम्म काम नगरेकाले समस्या भएको हो । तराई क्षेत्रबाट ल्याएका कामदा जाडोका कारणले मंसिरदेखि माघसम्म काम गर्न आएनन् । दामन–डाँडावासको ११ किलोमिटर बाटो ६ मिटर फराकिलो बनाउनुपर्ने, नाली खन्नुपर्ने, ग्याभिनको काम गर्नु पर्ने र चार मिटर ओटाशिल गर्न उक्त कम्पनीले करिब ७ करोडमा ठेक्का लिएको हो ।

राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम अन्तर्गत उक्त मोटरबाटोको स्तरोन्नति गर्न लागेको हो । हालको थाहा नपाको शिखरकोटदेखि आग्राको डाँडाबाससम्म ओटासिल गर्ने कार्यक्रम छ । उक्त मोटरबाटो राम्रो भएमा थाहा नपाको आग्रामात्र होइन, कैलास गाउँपालिकाको गोगने र डाँडाखर्कका बासिन्दा पनि लाभान्वित हुनेछन् । ‘यहाँ उत्पादित तरकारी र कृषिजन्य वस्तुको सहज ढंगले बजारमा पहुँच हुने थियो’ डाँडाखर्कका बेलमान थिङले भने, ‘यो वर्षको वर्षायाममा पनि मोटरबाटो बन्ला जस्तो छैन ।’

प्रकाशित : चैत्र १८, २०७३ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?