घरेलु हिंसामा न्याय माग्दै उजुरी

घनश्याम गौतम

गुल्मी — रेसुंगा नगरपालिका १४ का चुरामणि आचार्य लामो समय रोजगारीका लागि विदेशमा बसे । पत्नी सिर्जना आफूखुसी माइतमा बस्दै आएपछि उनले सँगै बस्ने वातावरण मिलाइदिन आग्रह गर्दै प्रहरीमा उजुरी दिए । प्रहरीले दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल गराए पनि सहमति नजुटेपछि उनीहरू अदालत पुगे ।

घरेलु हिंसामा न्याय माग्दै उजुरी

गुल्मी दरबार –२ जुभुङका ३० वर्षीय भूपालसिंह खड्का पनि पत्नी मीनकला लामो समयदेखि सँगै बस्न नखोजेको र राख्न खोज्दा उल्टै आफूलाई नै आरोप लगाएको भन्दै न्याय खोज्न प्रहरीमा पुगे । छलफलमा भूपालले सार्वजनिक रूपमै माफी मागे । सँगै बस्न आग्रह गर्दा पनि पत्नीले स्वीकार नगरेपछि अहिले अदालतमा सम्बन्धविच्छेदको मुद्दा चल्दै छ । यी दुई प्रतिनिधि घटना मात्र हुन् । घरेलुहिंसा पीडितको संख्या बढ्दै छ । पछिल्ला वर्ष जिल्लामा महिलाबाट पुरुष पनि पीडित भएको र न्याय खोज्दै प्रहरी र अदालत पुग्न थालेका घटना सार्वजनिक हुन थालेका छन् । प्रहरी कार्यालयमा हुने छलफलमा पुरुषले गल्ती स्वीकार गरेर सुध्रने मौका माग्दा समेत महिलाले कुरा नसुनेका घटना पनि पर्याप्त छन् ।

जिल्ला प्रहरीका मुद्दा फाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवका अनुसार, चालु वर्ष ‘महिलाबाट पीडित भयौं’ भन्दै आएका ६ जना पुरुषका उजुरी दर्ता भएका छन् । छलफलका लागि मात्र आउनेको संख्या धेरै छ । ‘पहिला पुरुषले खान लाउन दिएनन् भन्ने उजुरी लिएर महिला आउँथे,’ उनले भने, ‘अहिले श्रीमती घरमा बसेनन्, छोराछोरी हेरेनन् भन्ने उजुरी आउन थाले ।’ 

घटना प्रकृति र छलफल सुन्दा समाज नै बदलिएको जस्तो लाग्ने गरेको उनले बताए । वैदेशिक रोजगारीमा गएका पतिको पैसामा पत्नीले मनोमानी गरेको घटना पनि धेरै छन् । अधिकांश उजुरी दर्ता हुँदैनन् । दर्ताअघि भेला बोलाएर छलफल हुन्छ । त्यसमा सहमति बनेपछि प्रहरीले मुद्दा अघि बढाउँदैन । 

प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलकी प्रहरी जवान झरना परियारका अनुसार पछिल्ला वर्षमा घरेलु हिंसाका घटना संख्या दर्तामा कमी देखिए पनि प्रकृति फरक छन् । आव २०७१/०७२ मा २ सय ५८ घरेलु हिंसाका घटना दर्ता भएका थिए । २०७२/०७३ मा संख्या घटेर १ सय ३४ भएको छ । चालु वर्ष फागुन मसान्तसम्म ६० वटा घटना दर्ता भए । ‘संख्या घट्दो छ,’ उनले भनिन्, ‘तर उजुरी समाधान गर्नै नसक्ने प्रकृतिका आउन थाले ।’ यस्ता घटनाले प्रहरी र अधिकारकर्मीको समेत गम्भीर ध्यानाकर्षण गराउन थालेको छ । 
अधिकारकर्मी टोपलाल अर्यालका अनुसार घरेलु हिंसाका रूप फेरिएसँगै आमाविहीन बालबालिकाको संख्या पनि बढ्दो छ । बाबु विदेशमा हुने र आमाले छोराछोरी नै छोडेर हिंड्ने गर्दा बालबालिका समस्यामा पर्न थालेको उनले बताए । ‘जिल्लाभर सयजनाभन्दा बढी आमाले छाडेका बालबालिका छन्,’ उनले भने, ‘तर, त्यसको समाधानका लागि कसैको कुनै पहल छैन ।’ 

बाबु वैदेशिक रोजगारीमा हुने र आमाले छाडेर हिंड्दा त्यस्ता बालबालिकाको मनोविज्ञानमा समेत असर पर्ने उनले बताए । प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले वैदेशिक रोजगारी र मदिरा सेवन हिंसाको प्रमुख कारण रहेको बताए । ‘पारिवारिक झगडा नै धेरै छन्,’ उनले भने, ‘त्यसको प्रमुख कारण मदिरा सेवन र बेरोजगार नै देखिन्छ ।’

अधिकारकर्मी कमला बरालले गरिबी, अशिक्षा, बेरोजगार, धार्मिक तथा सांस्कृतिक रीतिरीवाज पनि घरेलु हिसांका प्रमुख कारण भएको बताइन् । ‘समाजमा विद्यामान विपन्न वर्ग तथा जात, मादक पदार्थ सेवन गर्ने परम्परा, घरमा सासू बुहारीको बेमेल, पितृसतात्मक सोचजस्ता कारणले पनि घरेलु हिंसा हुने गरेको छ,’ उनले भनिन् ।

 

प्रकाशित : चैत्र २४, २०७३ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?