१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

स्थायी भारतीय पेन्सन क्याम्प निर्माण

बुटवल — सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि यहाँ स्थायी भारतीय पेन्सन क्याम्प निर्माणको काम सुरु भएको छ । गत फागुन १७ गतेको मन्त्रिपरिषद् बैठकले क्याम्प निर्माणका लागि थप २३ कट्ठा जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

यसअघि मणिमुकुन्द सेन उद्यान फूलबारीमा १ बिघा १४ कट्ठामा अस्थायी क्याम्प सञ्चालन हुँदै आएको थियो । उक्त स्थानमै थप जग्गा प्राप्त भएपछि २ अर्बभन्दा बढी लगानीमा भौतिक संरचना निर्माण अघि बढेको संयुक्त पूर्वसैनिक एवं प्रहरी कल्याणकारी महासंघले जनाएको छ । 

महासंघका सहअध्यक्ष किसन थापाले नयाँ संरचनामा बैंक, पोलिक्लिनिक, सुविधायुक्त विद्यालय, तालिम केन्द्रलगायत निर्माण गरिने बताए । स्थायी क्याम्प निर्माण भएपछि पूर्वसैनिकका परिवारले नि:शुल्क स्वास्थ्य र शिक्षा पाउनेछन् । 

बुटवलमा २०६० देखि स्थायी पेन्सन क्याम्प बनाउन जग्गा खोजी प्रक्रिया सुरु भएको थियो । जग्गा नमिल्दा यसअघि भारत सरकारले विनियोजन गरेको १ करोड २५ लाख भारु फ्रिज गएको थियो । अहिले ६/६ महिनामा सञ्चालन हुने फूलबारीको आवधिक पेन्सन क्याम्पबाट यस क्षेत्रका पूर्वसैनिकले ३ अर्ब रुपैयाँ बराबर रकम बुझ्ने गर्छन् । स्थायी क्याम्पबाट वार्षिक १० अर्बभन्दा बढी रकम वितरण हुनेछ ।

पश्चिम नेपालका करिब ५० हजार भारतीय भूपू सैनिकले मासिक रूपमा पेन्सन बुझ्न पाउनेछन् । यसले सैनिक परिवारसमेत प्रत्यक्ष लाभान्वित हुने महासंघ महासचिव कुलबहादुर थापाले बताए । नेपालमा काठमाडौं, धरान र पोखरामा गरी ३ वटा स्थायी पेन्सन क्याम्प सञ्चालनमा छन् । देशभर २४ वटा आवधिक पेन्सन क्याम्प सञ्चालित छन् । नेपालमा १ लाख २५ हजार भारतीय भूपू सैनिक रहेका छन् ।

प्रकाशित : चैत्र २५, २०७३ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?