कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाकालीपारि चुनावी रन्को

भवानी भट्ट

दोधारा–चाँदनी (कञ्चनपुर) — सहरमा भन्दा गाउँमा चुनावी रौनक बढेको छ । महाकालीपारिको साविकका दोधारा–चाँदनी गाविसमा त्यस्तै देखिन्छ । उम्मेदवारका आकांक्षीदेखि नेता कार्यकर्ताहरू रातदिन प्रचारप्रसारमा जुटेकाले अहिले यहाँको माहोल बेग्लै छ ।

कोही मोटरसाइकलमा झन्डा बोकेर प्रचारमा हिंडेका छन् । कसैले घर आँगनमा पार्टी झन्डा टाँगेका छन् । वडा र टोल भेला जारी छन् । आकांक्षीहरू जिल्लास्तरका नेतासमक्ष टिकटका लागि लबिङमा व्यस्त छन् । ‘दोधारा–चाँदनीमा एक/डेढ महिनादेखि यस्तै चलिरहेको छ,’ महाकाली नगरपालिका ९ का गोपी कँडेलले भने, ‘आकांक्षीहरू रातदिन दौडधुपमा छन् ।’ दोधरा–चाँदनी गाविस मिलाएर महाकाली नगरपालिका बनेको हो । सर्वसाधारणलाई पनि चुनावी रन्कोले छोइसकेको छ । आकांक्षी समक्ष आफ्ना समस्या राख्ने ब्रगेल्ती छन् । उनीहरू पार्टीभन्दा पनि स्थानीय समस्या समाधान गर्ने उम्मेदवारलाई नै भोट दिने बताउँछन् । ‘सबै चुनावमै होमिएका छन्,’ वडा १० का दिनेश ओलीले भने, ‘सहर बजारभन्दा गाउँमा चहलपहल बढ्यो ।’ १९ हजार ५ सय ३५ मतदाता रहेको उक्त नगरपालिकामा मुख्य पार्टीहरू कांग्रेस, एमाले र माओवादी केन्द्रलगायतले प्रचारलाई तीव्रता दिएका छन् । यहाँ एउटै जातिको बसोबास छैन । विभिन्न जाति र क्षेत्रबाट आएकाहरूको सरोबरी बसोबास रहेकाले जुनसुकै उम्मेदवारलाई पनि चुनाव जित्न सहज देखिँदैन । मेयरका लागि तीन ठूला दलहरूबाट आकांक्षी व्यवस्थापनमा चुनौती छ ।

दोधारा र चाँदनी गाविससहितको महाकालीपारिको यो क्षेत्र अझै पनि जिल्लाको अन्य भूभागसँग सडक यातायातले जोडिएको छैन । महाकाली नदीमा झोलुंगे पुल बनेपछि केही राहत भएको छ । विकास निर्माणका दृष्टिले निकै पछाडि छ । अहिलेको निर्वाचनमा सक्षम उम्मेदवार निर्वाचित गराउनसके विकास निर्माणले गति लिने स्थानीयको बुझाइ छ । ‘अब चुनाव भए सबैले सोचेअनुरूप विकासको अपेक्षा गरेका छन्,’ स्थानीय पूजा चँदाराले भनिन्, ‘अहिले त दिनभरि नेताहरू आएर भोट मागिरहेका छन्, सबैले राम्रै काम गर्छु भन्छन् ।’ 

प्रकाशित : चैत्र २८, २०७३ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?