कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मासिँदै ऐतिहासिक पोखरी

नयाँ भवन बन्ने क्रमसँगै पौराणिक तथा वातावरणीय हिसाबले महत्त्वपूर्ण पोखरीका अस्तित्व मेटिँदै
शिल्पा कर्ण

काठमाडौं — कीर्तिपुरको भरिया पोखरीनजिकैको घरमा जनैपूर्णिमाका दिन आगलागी भयो । दमकल बोलाइयो तर साँघुरो गल्लीमा छिर्न सकेन । अनि स्थानीयले त्यही पोखरीको पानीले आगो नियन्त्रणमा लिए ।

मासिँदै ऐतिहासिक पोखरी

 

यो २०७० सालको यो घटना मात्र होइन । यो पोखरीसँग जोडिएका अन्य सम्झना पनि ४३ वर्षीय वीरेन्द्र शाक्यका मनसपटलमा ताजै छन् । ‘हाम्री आमाले यो पोखरीमा लुगा धुने, भाँडा माझ्ने गर्नुहुन्थ्यो,’ उनले बाल्यकाल सम्झे, ‘बस्तीभित्रको सबैको साझा पोखरी थियो । तर, अहिले पोखरी भएको ठाउँमा झारपात उम्रिएको छ ।’ उक्त पोखरीको प्रयोग नभएको लामो समय भइसक्यो । घरघरमा धारा आएपछि बस्तीको बीचमा रहेको उक्त पोखरीमा चहलपहल घटयो । 

त्यो पोखरी मात्र होइन । अन्य पोखरीबारे पनि उनी सम्झिन्छन् जुन अहिले अस्तित्वमै छैनन् । नयाँबजार गेटसँगै रहेको कीर्तिपुरको सहिद स्मारक कलेज २०४६ सालमा स्थापना भएको हो । ‘यो कीर्तिपुरको सबभन्दा ठूलो पोखरी थियो । कलेजलाई पोखरीभन्दा ठूलो ठानेर माटोले पुरि यहाँ कलेज स्थापना गरियो,’ उनले भने । 

पोखरीको सिमाना छुटयाउन बनाइएका सिमेन्टका पिलर अहिले पनि त्यहीं छन् । केही समय वडाले माछापालन गरी बिक्रीबाट आय गथ्र्यो । अहिले त्यहाँ पोखरीको कुनै संकेत पाइँदैन । केही पोखरी त कसरी पुरियो, कसले पुरे भन्नेबारे स्थानीयलाई थाहा छैन । ‘पञ्चायतकालमा र त्यसपछि पनि कति पोखरीमाथि घर बनाइयो । निजी घर पनि बनाइएका छन्,’ एक शिक्षकले भने । ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको कीर्तिपुर अहिले आधुनिक सहरीकरण बन्दै गएको छ । यो क्रम जारी छ । नयाँ भवन बन्ने क्रमसँगै पौराणिक तथा वातावरणीय हिसाबले महत्त्वपूर्ण पोखरीका अस्तित्व बिलाउँदै गएको छ ।

पुरानो रिङरोडभरि पहिले पोखरी रहेको स्थानीय बताउँछन् । वडा नं. १० का जयप्रकाश महर्जनको बाल्यकाल पनि पोखरीको छेउछाउ बित्यो । ४७ वर्षीय जयप्रकाशको टोल ‘पो पुखु:’ अर्थात देउला जातिले प्रयोग गर्ने पोखरीनजिक थियो । अहिले सामुदायिक प्रहरी सेवा केन्द्रसँगै रहेको यो पोखरी ०४०/४२ तिर सहरीकरणसँगै डम्पिङ साइटमा परिणत भएको उनले बताए । ‘केटाकेटी छँदा काठको फल्याकमाथि चढेर पोखरी आरपार गथ्यौं,’ उनले भने, ‘पुरिएपछि फेरि नगरपालिकाको सहयोगमा पोखरी बनायौं । तर अब पानी जम्दैन ।’ उक्त पोखरीलाई संरक्षण गरी शंखधर साख्वाको मूर्ति स्थापना गरी शंखधर पार्कका रूपमा विकास गर्ने स्थानीयको योजना छ ।

केही यसरी पुनर्निर्माण गरिए पनि केही पोखरीको त अवशेष मात्र बाँकी छ । ‘थाहा बह:’मा गोपाली समुदायको बसोबास थियो । त्यहीं छ ग्वा पुखु: । गाईपालन गर्ने गोपालीले यसको प्रयोग गर्थे । गोपालीले यहाँ पूजा गरेपछि कीर्तिपुरको वार्षिक जात्रा, पर्व सुरु हुन्थ्यो । त्यहींका प्रेमलाल गोपाली भन्छन्, ‘फोहोर भएपछि पुरेर अहिले पोखरीमाथि पार्किङस्थल बनेको छ । १०/१२ वर्ष भयो पूजा नगरेको । गठेमंगलका दिन पूजा गरिन्थ्यो ।’ बाघभैरव मन्दिरको दक्षिणमा रहेको ‘देय पुखुसी’ (पोखरी) को पनि आफ्नै महत्त्व छ । गाईजात्राको रातमा यहाँ मनोरञ्जन प्रदान गरेकाले बाजा खल:, दाफा खल:, मुख्य लाखेलाई प्रशासनिक निकायले राँगाको टाउको र खुट्टा पुरस्कार दिइने अनौठो चलन छ । मेयेंछयं बिगु जात्रा भनिने यो पर्वमा उक्त पोखरीमा लाखेहरू नुहाउने स्थानीय बताउँछन् । यो पोखरी २०७२ मा यूएन हयाबिटयाटले पुनर्निर्माण गरिदिएपछि पानी कम भएको छ । स्थानीयका अनुसार गर्मीमा त पानी नै हुन्न, फोहोर पनि बढिरहेको छ ।

यस्तै धेरै पोखरी सुक्खा मैदानमा परिणत भएका छन् । पोखरी हो भनेर पत्याउनै मुस्किल हुने गरी अतिक्रमण भए पनि स्थानीय निकायलाई चासो छैन । वडा नं. ३ खसीबजार मा सहिद प्रतिमासँगै नजिकै लहरै ३ पोखरी पर्छन् । भिं पुखु, मभिं पुखु र सांग पुखु । मभीं पोखरीमा भूकम्पपछि पानीको साटो टहरै–टहरा छन् । चौरजस्तै देखिन्छन् ।

एक समय ललितपुरको १२ वर्षे हरिसिद्धि मेलाका लाखेलाई कीर्तिपुर बोलाउने चलन थियो । लाखेहरू नुहाउने वडा नं. १० को चाख: पुखु अर्थात् गोलो पोखरीमाथि अहिले कीर्तिपुर नगरपालिकाको नयाँ भवन बनिरहेको छ । त्यहाँ हरिसिद्धिका लाखे नआएको पनि ७२ वर्षजति भइसकेको शाक्यको अनुमान छ । ‘नगरपालिकाले सूचना बोर्ड राखे पनि प्रभावकारी हुन सकेको छैन,’ स्थानीय विकास महर्जनले भने । पहिले त्यहाँ दर्जन बढी पोखरी थिए । फोहोर थुप्रिन थाले र पोखरी पुरियो । पूर्वमेयर हीराकाजी महर्जनले भने, ‘ढल निकासका लागि पाइप बिच्छयाउने कार्यसँगै कतिपय पोखरीको पानी सुक्यो । भूकम्पपछि त झनै स्थानीयले सबै भग्नावशेष पोखरीमा थुपार्न थाले ।’

पहिले चम्पादेवीको मूलको पानी ढल्पा हुँदै जुन पोखरीमा जान्थ्यो त्यो पोखरी अहिले चौर छ भने त्यो कुलोमाथि सडक बनिसक्यो । वातावरणीय प्रभाव अध्ययन नगरी गरिएको विकास निर्माण कार्यको फलस्वरूप पोखरीहरू सुक्न थालेको स्थानीयको गुनासो छ । कीर्तिपुरका ज्येष्ठ नागरिक भन्छन् खा पुखु: पोखरीको जति सङ्लो पानी कतै थिएन । वडा नं. ५ का गंगाराम महर्जनले भने, ‘सापुखु पुरेर अहिले सामुदायिक भवन बनाइएको छ ।’ पल पुखु अर्थात् कमल फूल्ने पोखरीमा फूलेको कमल देउला जातिले चिलञ्चु विहारमा चढाउँथे । 

२०५३ मा स्थापित कीर्तिपुर नगरपालिकाले पोखरीहरूको तथ्यांक संकलनको काम भर्खरै मात्र सुरु गरेको छ । तर, कुन पोखरीको क्षेत्रफल कति थियो, कति छ, पौराणिक तथा ऐतिहासिक महत्त्वलगायत विषयमा नगर अझै अनभिज्ञ छ । ‘स्थानीय निकाय जनप्रतिनिधिविहीन हुनुको परिणाम हो यो ।

जनप्रतिनिधि नभएकै कारण नगरपालिकाका ऐतिहासिक र पौराणिक महत्त्वका सम्पदाको संरक्षण हुन नसकेको हो,’ शाक्यले भने । 

जलस्रोतविद् माधव बेल्बासेका अनुसार पोखरी पानी संकलनसँग जोडिएको छ । धारा र पाइपको पानी आउनुअघिको समयमा वर्षाको पानी संकलन गरी वर्षभरि त्यसको प्रयोग गर्न पोखरीको निर्माण गरिएको पाइन्छ । 

 

प्रकाशित : वैशाख ५, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?