आफैं बनाउन थाले

नवलपरासी — जिल्लाका भूकम्पपीडित घर निर्माणमा जुटेका छन् । सरकारले अनुदान नदिएपछि आफंै कस्सिएका हुन् । त्रिपालमुनि बसिरहेका देवचुली–६ कीर्तिपुरका स्थानीयले आफ्नो आर्थिक अवस्थाअनुसारका घर–टहरा बनाउन थालेको बताए ।

पीडितले २ वर्ष पुग्न लाग्दासमेत पहिलो किस्ता प्राप्त गरेका छैनन् । घर भत्किएको ६ महिनापछि पाएको १५ हजार रकमबाहेक अन्य रकम नपाएको स्थानीय मीनबहादुर सोतीमगरले गुनासो गरे । ‘मानवीय क्षति कम भएको भनेर सरकारले हामीलाई वास्ता गरेन, तर सयौं मानिस पाल र टहरामा बस्न बाध्य भएको देखेन,’ उनले भने, ‘डेढ वर्षसम्म पनि सरकारले नहेरेपछि हामी आफंैले ऋण काढेर घामपानी छेक्ने बास बनाएका छौं ।’ 

पुनर्निर्माण प्राधिकरणका कर्मचारी क्षति विवरण बुझ्न आउनुअघि नै केहीले भत्किएका घरको पुनर्निर्माण गरेकाले वास्तविक तथ्यांकभन्दा कम भएको स्थानीयले गुनासो गरेका छन् । देवचुली ६ कीर्तिपुरका ८४ परिवारको घरगोठ भत्किएको थियो । कमाइ हुने र विदेश भएका केहीले जसोतसो नयाँ घर बनाइसकेका छन् । तर, विपन्न परिवार अझै पनि छाप्रोमा गुजारा चलाउनुपर्ने अवस्थामा छ । 

सुरुमा पाएको १५ हजार र विभिन्न संघसंस्थाले दिएको राहत सामग्रीबाहेक थप रकम नपाउँदा पीडितले कष्टकर दैनिकी बिताइरहेका छन् । जिल्लाको दुर्गम अर्खला, बुलिङटार, डाँडाझेरी, रुचाङ, कीर्तिपुरलगायत स्थानमा भूकम्पले बढी क्षति पुर्‍याएको थियो । पहिलो किस्ता पाए ऋण काढेर भए पनि परिवारलाई पुग्ने घर बनाउने उनीहरूको धोको छ । 

विस्थापित केही कावासोती तथा पायक पर्ने पूर्वपश्चिम राजमार्ग आसपास बजारमा कोठा भाडामा लिएर बसेका छन् । भत्किएको घरमा बस्नुभन्दा छोराछोरी पढाउन र ओत लाग्नकै लागि गाउँ छाड्ने समेत बढेका छन् । कम प्रभावित जिल्ला भनेर केन्द्रले उद्धार, राहत तथा भूकम्पपीडितका नाममा आउने कार्यक्रममा जिल्लालाई समावेश नगर्दा पीडितलाई थप समस्या परेको छ । जिल्ला समन्वय समिति प्रमुख युवराज कट्टेलका अनुसार पहिलो किस्ता बापतको रकम आइसकेको र पहिलोपटक सुनवल नगरपालिकाका पीडितलाई रकम वितरण गरिएको बताए ।

प्रकाशित : वैशाख ८, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?