चिराइतोको मूल्य घट्दा किसान मर्कामा

घरमै प्रतिमन ३२ हजारमा बिक्री हुने गरेकोमा यस वर्ष ८ हजार रुपैयाँमा झरेको छ
आनन्द गौतम

ताप्लेजुङ — बर्सेनि मूल्य घटेपछि चिराइतोको खेतीमा लागेका किसान मर्कामा परेका छन् । दुई वर्षअघि घरमै प्रतिमन (४० किलो) को ३२ हजार रुपैयाँ पाएका किसानले यसपालि ८ हजार मात्र पाए ।

चिराइतोको मूल्य घट्दा किसान मर्कामा

व्यापारीका अनुसार माग कम भएकाले चिराइतोको मूल्य पनि घटेको हो । पहिला घरघरमै पुगेर व्यापारिले किन्ने गरेकोमा यसपालि सदरमुकाम वा सडकसँग जोडिएको व्यापारिक केन्द्रमा पुर्‍याएर बेच्नुपरेको किसानको दु:खेसो छ । चिराइतोको व्यापार गर्दै आएका सदरमुकाम फुङलिङका सविन बानियाँका अनुसार झापाको काँकडभिट्टामा प्रतिमन ११ हजार रुपैयाँमा बिक्री हुन्छ । ताप्लेजुङदेखिको ढुवानी, सरकारलाई बुझाउनुपर्ने कर इत्यादिले किसानबाट ८ हजार रुपैयाँमा किन्दा पनि नाफा नरहने उनको दाबी छ । नेपाल–तिब्बतको सीमा पुर्‍याए २० हजार रुपैयाँ पाइने उनले बताए । तर, सडकको पहुँच नपुगेकाले मान्छे, चौरी, याक र हेलिकप्टरलाई बोकाएर लाँदा ढुवानी झनै अकासिने उनले बताए ।

बानियाँ र हाङदेवाका इन्द्र गुरुङले गत दुई वर्ष संखुवासभाको थुदाम हुँदै नेपाल तिब्बत सिमानासम्म पुर्‍याएर बिक्री गरेका थिए । तिब्बतमा चिनियाँ व्यापारी नआउने, त्यहाँका स्थानीय व्यापारीलाई दिनुपर्दा उचित मूल्य पाउन नसकिएको बानियाँले सुनाए । चिराइतो तिब्बतको बोर्डरमा सबैभन्दा बढी ४० हजारसम्ममा बिक्री भएको थियो । गत वर्ष ३२ हजार रुपैयाँमा झरेको मूल्य यस वर्ष २० हजारमा आएको छ । नेपाल–भारत बोर्डरमा सबैभन्दा बढी १८ हजार रुपैयाँ पुगेको थियो । गत वर्ष १५ हजार रुपैयाँ भएको मूल्य यस वर्ष ११ हजारमा झरेको हो । पहिला जंगलमा आफैं उत्पादन हुने चिराइतोको पछिल्लो वर्ष खेती गर्न थालिएको छ । ‘पहिला फूल नफुली कलिलैमा टिपेपछि उम्रन छोड्यो र किसानले बीउ लगेर छरे,’ जिल्ला वन अधिकृत माधव देवले भने, ‘अहिले उत्पादन प्रसस्त भएको छ, मूल्य कम भयो ।’

गुरुङका अनुसार गाडीबाट सहजै पुर्‍याउन सकिने भएकाले चीनको सट्टामा भारततिर चिराइतो पठाउन थालिएको हो । हिजोआज नेपालको चिराइतो भारत, चीन, बंगलादेश र इटलीसम्म जान्छ । यो औषधि बनाउन प्रयोग गरिन्छ ।

भारतमा सुगर, प्रेसरका बिरामीले प्रयोग गर्ने बानियाँ बताउँछन् । नेपालमा पनि प्रेसर घटाउन र टाउको दुख्दा घरेलु उपचारका रूपमा यसको प्रयोग हुँदै आएको छ । वन कार्यालयको तथ्यांकअनुसार ताप्लेजुङमा १ हजार, पाँचथर र इलामम ४/४ हजार टन उत्पादन हुने गरेको छ ।

प्रकाशित : वैशाख ८, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?