अल्पसंख्यकको सूचीमा नराखिएकोमा वनकरियाको आपत्ती

प्रताप विष्ट

हेटौडा — मकवानपुरको मनहरी गाउँपालिका–४ हाडीखोलाको मुसेधापमा बस्दै आएका लोपोन्मुख बनकरिया जातीलाई गृह मन्त्रालयको प्रस्तावअनुसार गत साताको मन्त्रिपरिषदको बैठकले अल्पसंख्यकको सूचीमा नराखेकोमा वनकरिया अगुवाहरुले आपत्ती जनाएका हुन् ।

अल्पसंख्यकको सूचीमा नराखिएकोमा वनकरियाको आपत्ती

आफूलाई अल्पसंख्यकको सूचीमा नराखिएको भन्दै वनकरिया समुदायले आपत्ती जनाएका छन ।

बनकरिया समुदायकी अगुवा महिला सन्तमाया वनकरियाले भनिन्,‘सरकारले हाम्रो जाती अपहेलना गरेको जस्तो छ ।’

वनकरिया जातीलाई अल्पसंख्यकको सूचिमा नराखिएको जानकारी उनले रेडियोमार्फत पाएकी थिइन् ।

समाचार सुनेलगत्तै सन्तमायाले सञ्चारकर्मीलाई फोन गरी आपत्ति जनाएकी हुन् ।

‘अल्पसंख्यक र लोपोन्मुख समुदायमा वनकरिया समुदाय पर्छन’, समाजशास्त्री डा. कृष्ण भट्टचनले भने,‘सरकारले के कसरी अल्पसंख्यकको सूची सार्वजनिक गरेको हो पत्तो भएन, उक्त सूचीमा वनकरियालाई पनि समावेश गर्नुपर्छ ।’

नेपालमा वनकरियाको बस्ती हाँडीखोलाको मुसेधापमा मात्र छ । १८ घरधुरीमा ८७ जना वनकरियाहरु छन् । उनीहरुलाई सरकारले २०६५ सालदेखि सामाजिक सुरक्षा भत्ता मासिक रुपमा दिंदै आएको छ । उनीहरुले अहिले मासिकरुपमा प्रतिव्यक्ति २ हजार रुपैयाँ पाउँछन ।

कूल जनसंख्याको शून्य दशमलब ५० प्रतिशतभन्दा कम जनसंख्या भएको समुदायलाई सरकारले अल्पसंख्यकको सूचीमा राखेको छ । जसअनुसार नेपालका एक सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन् । तर, वनकरिया जाती उक्त सूचीमा परेको छैन् ।

गृह मन्त्रालयको प्रस्तावअनुसार गत साताको मन्त्रिपरिषद् बैठकले अल्पसंख्यक समुदायको टुंगो लगाएको हो । स्थानीय तहको निर्वाचनमा प्रतिनिधित्वको प्रयोजनका लागि मात्र अल्पसंख्यक समुदाय तय गरिएको हो । गाउँपालिका तथा नगरपालिका सभामा दलित वा अल्पसंख्यकको उपस्थितिको प्रावधान अनिवार्य गरिएको छ ।

प्रकाशित : वैशाख ९, २०७४ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?