१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दुई सदस्य गुमेपछि राउटे समुदाय शोकाकुल

सुर्खेत/दैलेख — बस्तीको पुछारमा एउटा छाप्रो । रोगले थलिएकी एक युवती देखेपछि मध्यपश्चिम क्षेत्रीय अस्पतालका डा.पारस चिपालु छाप्रोभित्र प्रवेश गर्न खोज्दै थिए, युवतीका बाबु अर्थात् महामुखिया महिनबहादुर शाहीले रोकिहाले । डाक्टर, औषधिबारे थुप्रै जिज्ञासा राखेपछि उनले छोरीलाई चेकजाँच गर्न अनुमति दिए ।

दुई सदस्य गुमेपछि राउटे समुदाय शोकाकुल

डाक्टरले ती युवतीलाई निमोनिया र पाठेघरको समस्या देखिएको बताएका थिए । ती युवती थिइन्, २५ वर्षीय डुंग्री शाही । अन्य राउटेझैं उनी पनि शनिबार छाप्रोमै ज्यान गुमाउन बाध्य भइन् । 

माघको दोस्रो साता अछामको नाडास्थित जंगलमा शिविरसहित पुगेको स्वास्थ्यकर्मीसँग सुरु–सुरुमा कुनै राउटे पनि चेकचाँजका लागि राजी भएनन् । ‘स्वास्थ्य जाँच गराउन सितिमिती तयार नभएपछि महामुखिया भेट्ने क्रममा छेवैको छाप्रोमा पुग्दा ती बिरामी अवस्थामा भेटिएकी थिइन्’ डा.चिपालुले भने, ‘त्यतिबेलै अस्पताल ल्याउन सकेको भए सायद उनी बाँच्न सक्थिन् ।’ उनले डुंग्रीलाई अस्पताल ल्याउन अथक् प्रयास गरे पनि सफल नभएको बताए । ‘पाठेघरमा गम्भीर खालको संक्रमण त्यसमा पनि निमोनिया थियो’उनले भने ।

स्वास्थ्य संस्थामा ‘औषधि उपचार गर्नुहुन्न’ भन्ने मान्यता बोक्ने फिरन्ते राउटे समुदाय अकालमा दुई सदस्य गुमाउनुपर्दा यतिबेला शोकमा डुबेको छ । एक साताअघि चन्द्रमानले पाँच वर्षीया छोरी सुदिमालाई गुमाए । ‘नौ–दस दिनको अन्तरमा दुई सदस्य गुमाउनुपर्दा राउटेहरु पीडामा छन्’राउटे समुदायमा कार्यरत अछाम तुर्माखादका धनबहादुर बुढाले भने, ‘नयाँ स्थानमा बस्ती पनि सरिसके ।’सुदिमाको मृत्युपछि दैलेखको लकान्द्रमा बसाई सरेका उनीहरु डुंग्रीको मृत्युपछि त्यो ठाउँ छाडिसकेका छन् । हाल राउटेहरु चामुण्डा विन्द्रासैनी नगरपालिकाअन्तर्गत पर्ने लयाँटीविन्द्रासैनी जंगलमा बसाई सरेका छन् । आफ्ना सदस्यको मृत्यु लगत्तै बसाइँ सर्ने यो जातिको मुख्य विशेषता हो ।

परम्परागत उपचार पद्धतिमा विश्वास गर्ने हुँदा राउटेहरु आधुनिक उपचारदेखि धेरै टाढा छन् । अपवादबाहेक राउटेहरु अस्पताल भर्ना हुँदैनन् । १६ महिनाअघि जलेर घाइते भएका राउटे युवा कपिललाई बल्ल उपचारका लागि काठमाडौं पठाइएको छ । अस्पताल आउन नमान्दा उनी बस्तीमै थलिएका थिए । राउटे उत्थान प्रतिष्ठान र उपराष्ट्रपति पुत्र दीपेश पुनको बारम्बारको प्रयासपछि केही दिनअघि उनलाई काठमाडौं पुर्‍याइएको हो । हाल उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । काठमाडौं पुगेर औषधि उपचार गराउने उनी दोस्रो राउटे हुन् । ०७० सालमा तत्कालीन मुखिया महिनबहादुर शाहीकी श्रीमती दुनीको चाबहिलको हेल्पिङ हेन्ड हस्पिटलमा खुट्टाको शल्यक्रिया गरिएको थियो ।


 

प्रकाशित : वैशाख १३, २०७४ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?