बन्दुक र स्टेरिङपछि स्थानीय सत्ता

रुकुम — बन्दुकको नालबाट सत्ता कब्जा गर्ने स्कुलिङका कारण मुसीकोट नगरपालिका ८, उदिनढुंगाका बुद्धिप्रसाद बुढा तत्कालीन माओवादीले थालेको सशस्त्र युद्धमा होमिए । २०५५ देखि २०६२ सम्म भएका अधिकांश लडाइँमा उनको सहभागिता केहीमा बाहेक छुटेको छैन ।

जुम्लाको सदरमुकाम कब्जाका क्रममा छातीमा १ र बायाँ हातमा ४ गोली लागेर पनि उनले लड्न छाडेनन् । २/२ पटक माओवादीले आक्रमण गरेको रुकुमको खारा ब्यारेकमा लडाइँमा उनी सहभागी भए ।

‘खाराको पछिल्लो आक्रमणपश्चात् पार्टी बन्दुक मात्रै नभएर छलफल, वार्ता संवादले पनि समस्याका समाधान निस्कन्छ भन्नेतिर लाग्यो र हामी पनि सहमत भयौं,’ उनले भने । बटालियन कमान्डर रहेका उनी अन्य लडाकुसँगै क्यान्टोनमेन्टमा बसे । समायोजनपछि उनी स्वैच्छिक अवकासमा निस्किए ।
स्वैच्छिक अवकाशपछि बेकामे जस्तै बनेका बुढाले काम खोजे, पढाइबिना कुनै काम नपाएपछि गाडी चलाउन थाले । बटालियन कमान्डर स्टेरिङमा जीवन घुमाउन थाले ।
‘क्यान्टोनमेन्टमा सिकेको सीप स्वैच्छिक अवकाशमा आएपछि काम लाग्यो,’ उनले भने ।

ऋणधन गरेर किनेको ग१ज २२८० नम्बरको गाडी ४ वर्ष चलाएका बुढाको हातमा अब सिंगै वडा ड्राइभ गर्ने जिम्मेवारी आएको छ । ३५ वर्षीय बुढालाई मुसिकोट नगरपालिका ८, का मतदाताले वडाध्यक्षमा जिताएका छन् । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका बुढाले प्रतिस्पर्धी एमालेका राजकुमार केसीलाई ९३ मतान्तरले पराजित गरे । बुढाको पक्षमा २ सय ३० मत आएको छ भने केसीले १ सय ३७ मत मात्रै ल्याएका छन् ।

‘अब गाडी होइन वडा चलाउनुपर्ने अवस्था आइसक्यो,’ उनले कान्तिपुरसित भने, ‘महिना दिनदेखि स्टेरिङ छोएको छैन, अब सम्भव पनि हुँदैन होला ।’ अब जनसरोकारका विषय र विकास निर्माणमा केन्द्रित हुने उनको भनाइ छ । ‘बन्दुकबाट सत्ता कब्जा भएन, अब त हातमै आएको छ, केही गर्नुपर्छ भन्ने लागेको छ’, बुढाले भने । नगरपालिकाका १४ मध्ये आफ्नो वडा सबैभन्दा विकटमा रहेकाले काम गर्ने चुनौती रहेको उनले बताए । ‘अन्य विकास निर्माण त भएको छैन नै,’ उनले भने, ‘अहिलेसम्म वडाका सबै ठाउँमा फोन नै लाग्दैन, मेरो पहिलो चुनौती सबै ठाउँलाई सञ्चारको पहुँचमा ल्याउनु हो ।’

प्रकाशित : जेष्ठ ७, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?