कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

भक्तपुरमा चल्यो साझा बस

भक्तपुर — साझा यातायातले भक्तपुरमा साझा बस सेवा सञ्चालनमा ल्याएको छ । करिब दुई महिनादेखि मिनिबस सेवा समितिलगायतका यातायात व्यवसायीको विरोधका कारण रोकिएको रुट परमिट पाएलगत्तै बुधबार बिहान साढे ६ बजेदेखि साझाले सेवा सञ्चालन गरेको हो ।

भक्तपुरमा चल्यो साझा बस


साझा यातायातका कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेका अनुसार भक्तपुरमा पहिलो चरणमा २० वटा बस सञ्चालनमा ल्याइएको छ । साझा बसले स्वयम्भूबाट कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क, सहिदगेट, माइतीघर, बानेश्वर, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशलटार, गट्ठाघर, नयाँठिमी, सृजनानगर, सल्लाघारी हुँदै सूर्यविनायकसम्म सेवा सञ्चालन गरेको छ । साझा बसलाई उपभोक्ता हित संरक्षण मञ्च जिल्ला कार्य समिति भक्तपुरले स्वागत गरेको छ । यातायात व्यवसायीको विरोधको बाबजुद पनि भित्रिएको साझा बसलाई प्रहरीले एस्कर्टिङ गरेर भित्र्याएको छ ।
सूर्यविनायकबाट सोही रुट हुँदै फर्किने बस माइतीघरबाट सिंहदरबार, पुतलीसडक, कमलादी, घण्टाघर, पुरानो बसपार्क, सहिदगेट, त्रिपुरेश्वर, कलंकी हुँदै स्वयम्भू फर्किनेछ । साझाले कोटेश्वरबाट सानोठिमी, पुरानोठिमी, निकोसेरा, सल्लाघारी, भक्तपुर दूधपाटी हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागेको थियो तर, रुट परमिट नपाएको जनाएको छ ।
साझा बस दैनिक बिहान ६ देखि साँझ ९ बजेसम्म सञ्चालन हुनेछन् । यातायात व्यवसायीहरूले भने साझा बस सञ्चालनको विरोध गरिरहेका छन् । सरकारले तोकेको न्यूनतम भाडा दरमा साझा बस सञ्चालन गरिएको कार्यकारी प्रमुख पाण्डेले बताए । ‘सरकारले तोकेको भाडा स्वयम्भूदेखि सूर्यविनायकसम्म अधिकतम २५ रुपैयाँ र नतोकिएको ठाउँमा न्यूनतम १३ रुपैयाँ छ,’ उनले भने ।
साझा यातायातका अनुसार बसमा यात्रुलाई मनोरञ्जनका लागि टीभी र सुरक्षाका लागि सीसीटीभी जडान गरिएको छ । ‘अपांगता भएका व्यक्तिहरूले पनि आरामदायी यात्रा गर्न सक्छन्,’ पाण्डेले भने, ‘एकपटकमा एक सय जनाले यात्रा गर्न सक्छन् ।’ उनका अनुसार प्रत्येक स्टेसनमा १५/१५ मिनेटमा बस पुग्ने व्यवस्था मिलाइएको जनाएको छ । साझाले जिल्लामा बस सञ्चालन गर्न पुरानो र नयाँ बाटो रुटको परमिटका लागि यातायात विभागमा चैत ३० मा निवेदन दिएको थियो । पुरानो बाटोको रुटको अनुमति भने साझाले नपाएको र उपभोक्ताको मागबमोजिम रुट परमिट लिएर सञ्चालन गर्न सकिने जनाएको छ ।
साझा यातायातले भक्तपुरमा साझा बस भित्र्याउनेबित्तिकै सिन्डिकेटको अन्त्य भएको उपभोक्ता हक हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए । उपभोक्ताको सेवाका लागि साझाले सुडालबाट स्वयम्भू, नगरकोट–बसपार्क सम्म बस सञ्चालनका लागि पहल गर्ने समेत उनले बताए । उपत्यकाकै अन्य स्थानमा पनि साझा बसको माग भइरहेको कार्यकारी प्रमुख पाण्डेले बताए ।

प्रकाशित : जेष्ठ ११, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?