कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

हिमालयन डिस्टिलरीका मजदुर काममा फर्किए

कल्याणकारी कोषको विषयलाई लिएर मजदुरबाट हडताल

पर्सा — वीरगन्जको लालपर्सास्थित हिमालयन डिस्टीलरी उद्योगका मजदुर काममा फर्किएका छन् । जेठ ३ देखि हडतालमा उत्रिएका मजदुरलाई श्रम कार्यालयले गैरकानुनी ठहर गर्दै रोक्न आदेश दिएपछि उनीहरूले काम गर्न थालेका हुन् ।

कल्याणकारी कोष रकमको विषयमा विवाद बढेपछि मजदुरले जेठ ३ देखि हडताल सुरु गरेका थिए । यस वर्ष फागुन महिनामा कोषको रकम उद्योग व्यवस्थापनले उपलब्ध नगरेको भन्दै मजदुरले वैशाख १७ मा उच्चपदस्थ कर्मचारीलाई घेरामा हालेका थिए । उनीहरूको बचाउ गर्न गएका सुरक्षा गार्डलाई मजदुरले हातपात गरेपछि विवाद बढेको थियो । त्यसै दिनदेखि ६ दिनदेखि मजदुरले हडताल थालेका थिए । व्यवस्थापनले ६ दिनको तलब कट्टा गरेको र कुटपिटमा संलग्न रहेको भन्दै ९ मजदुरलाई निलम्बन तथा आधा दर्जनलाई अवकाश दिएको कदमको विरोध गर्दै जेठ ३ देखि पुन: हडताल सुरु गरेका थिए । 
यहाँस्थित श्रम कार्यालयले आइतबार उक्त उद्योगमा भइरहेको हडताललाई गैरकानुनी ठहर गर्दै रोक्न आदेश दिएको थियो । त्यसपछि मजदुर काममा फर्किका थिए । श्रम प्रमुख राधेश्याम झाले सोमबार साँझबाट आंशिक सञ्चालनमा आएकामा बुधबारबाट पूर्ण क्षमतामा चलेको बताए । 
कार्यालयको आदेशमा ‘प्रतिष्ठानका कामदार कर्मचारीहरू पटकपटक गैरकानुनी हडताल गरेको र उत्पादन प्रक्रियालाई असजह वातावरण पारी नोक्सानी हुनुका साथै सरकारलाई अर्बौं राजस्व नोक्सानी भोग्नुपरेको देखिँदा श्रम ऐन २०४८ को दफा ८० बमोजिम यस प्रकारको गैरकानुनी हडताललाई रोक्न आदेश गरिएको’ उल्लेख छ । 
झाले विवाद समाधान गर्न आइतबारदेखि मजदुर र उद्योगको व्यवस्थापन पक्षबीच पटकपटक वार्ता भएको बताए । ‘विभिन्न चरणमा वार्ता भइरहेको छ,’ उनले भने । 

प्रकाशित : जेष्ठ ११, २०७४ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?