कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमालयन ट्राभल मार्ट सुरु

काठमाडौं — नेपालसहित हिमाली भेग भएका मुलुकहरूको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबारदेखि राजधानीमा चारदिने हिमालयन ट्राभल मार्ट सुरु भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) अन्तर्गतको नेपाल च्याप्टर, पर्यटन मन्त्रालय पर्यटन बोर्डलगायतले आयोजना गरेको मेलामा ५३ वटा मुलुकका २ सय ५० बढी ट्राभल ब्लगर/राइटर, पर्यटन व्यवसायीलगायतको उपस्थिति छ ।

हिमालयन ट्राभल मार्ट सुरु

पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले पर्यटन क्षेत्रमा यस्तो खाले मार्ट हालसम्म नभएको दाबी गरे । ‘साढे ७ करोड रुपैयाँ हाराहारी लगानीमा भएको यो हालसम्मकै सबैभन्दा ठूलो र धेरै मुलुकका सरोकार राख्नेहरू सहभागी पर्यटन मेला हो,’ बिहीबार राजधानीमा आयोजित उद्घाटन कार्यक्रममा पाण्डेले भने ।

पाटाले यसपटक नेपाललाई हिमालको प्रवेशद्वारका रूपमा अघि सारिएको बताउँदै यसमा हिमाली मुलुकहरू पाकिस्तान, भारत, चीन, भुटानले पनि सहयोग गर्ने बाचा गरेको जनाएको छ । ‘खासगरी हिमाली भेग, त्यहाँको जनजीवन, मौलिक संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले हामीले यो मेगा इभेन्ट आयोजना गरेका हौं,’ पाण्डेले भने । यसका साथै भूकम्प र नाकाबन्दीपछि तंग्रिदै गरेको पर्यटन बजारलाई चलायमान बनाउँदै विश्वसामु एकपटक फेरि नेपाल पहिलेकै अवस्थामा पर्यटकीय गन्तव्य भएको सन्देश प्रवाह गर्ने यसको अर्को उद्देश्य रहेको छ ।

हिमालय ट्रेलहरू प्रवर्द्धन गर्न पर्यटन मन्त्रालयले पनि सघाउने बाचा गरेको छ । ब्लगर सम्मेलनमा पुगेका स्वास्थ्यमन्त्री गगन थापाले बाहिरी विश्वसँग नेपाललाई चिनाउन ब्लगिङ पछिल्लोपटक बलियो माध्यम भएको बताए ।

‘ब्लगमार्फत पर्यटन क्षेत्रको बजारीकरण गरिनु आजको दिनको आवश्यकता हो, यसअघि हामीले गर्न सकेका थिएनौं, अब निरन्तरता दिइनुपर्छ,’ निजी क्षेत्रका तर्फबाट पहल गरिएको मेलाको प्रशंसा गर्दै उनले भने ।

यसपटक नेपालमा भएको मेलामा ९५ भन्दा बढी मुलुकका सयौं ट्राभल व्यवसायीहरू आबद्ध पाटाका केन्द्रीय अध्यक्ष एन्ड्रयु जोनस, सीईओ मारिओ हार्डीको पनि सहभागिता रहेको छ । पहिलो दिनको सम्मेलनमा सन २०११ मा सगरमाथा आरोहण गरेका चर्चित अमेरिकी नागरिक एलन आर्नेटीले सगरमाथाको महत्त्वमाथि प्रस्तुति दिएका थिए ।

उनीपछि भारतीय ब्लगर अर्चना सिंह, दामियन कुक, रसियालका लियोन्ड मायस्निकोभ, ब्लगर एसोसिएसनका अध्यक्ष म्याट गिबसन, भिडियो ब्लगर माइक सुबिक आदिले पर्यटनलाई कसरी ब्लगमार्फत मूलधारमा ल्याउनेबारे प्रस्तुति दिएका थिए । त्यसैगरी सातवटा महाद्वीपका चुचुरा आरोहण गर्ने सेभन समिट ओमेन टिमकी नेता शैली बस्नेत, बेलायती फोटोग्राफर सेन डालसले पनि ब्लगर सम्मेलनमा आफ्ना प्रस्तुति दिएका थिए । मार्ट आइतबारसम्म चल्नेछ ।

प्रकाशित : जेष्ठ १९, २०७४ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?