कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

रानीपोखरी पुनर्निर्माण सुरु

काठमाडौं — पुरातत्त्व विभागले रानीपोखरी पुनर्निर्माण सुरु गरेको छ । गत तिहारमै निर्माण सक्ने लक्ष्यसहित राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । तर, महानगरले पुरातात्त्विक मापदण्डविपरीत पुनर्निर्माण गरेपछि गत वर्षै निर्माण रोकिएको थियो ।

रानीपोखरी पुनर्निर्माण सुरु

निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले पुरातात्त्विक मापदण्डविपरीत कंक्रिट प्रयोग गरी बनाएपछि विभागले भत्काउन आदेश दिएको थियो । पुरातात्त्विक महत्त्वको सम्पदा पुनर्निर्माणमा कंक्रिट प्रयोग भएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेपछि विभागले पनि मापदण्डअनुसारै बनाउन निर्देशन दिएको थियो । महानगरले आफूसँग पुरातात्त्विक मान्यताअनुसार निर्माण गर्ने जनशक्ति र सामग्री नभएकाले बनाउन नसक्ने बताएपछि ५ महिनाअघि विभागले रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर पुननिर्माण गर्ने जिम्मेवारी लिएको थियो ।

पुरातत्त्वले महानगरले बालगोपालेश्वरमा पहिला कंक्रिट प्रयोग गरी उठाएको पिलर भत्काएको छ । ‘काम सुरु भइसक्यो,’ विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘आउँदो तिहारसम्म पुनर्निर्माण पूरा गर्न ठेकेदारलाईं निर्देशन दिएका छौं ।’

बाहिरी सौन्दर्यको काम भने महानगरले नै गर्ने भएको छ । ‘बाहिरी सौन्दर्यको काम महानगरले गर्छ,’ दाहालले भने, ‘पोखरीभित्रको कामचाहिँ विभागले गर्छ ।’ निर्माणको ठेक्का वल्र्डवाइड कँडेल केनकेजी जेभीले पाएको थियो । पहिला पनि यही ठेकेदारले पुनर्निर्माणको जिम्मा पाएको थियो ।

विगतको गल्तीबाट पाठ सिकेर अब राम्रो काम गर्न स्थानीय बासिन्दाको माग छ । ‘पुरातात्त्विक महत्त्व मासिने गरी हामी बनाउन दिँदैनौं,’ सम्पदा संरक्षण संघर्ष समितिका प्रवक्ता गणपतिलाल श्रेष्ठ भन्छन्, ‘पुनर्निर्माण सुरु हुनु खुसीको कुरा हो । तर पहिलाको जस्तो मापदण्ड मिचियो भने हामी चुप लागेर बस्दैनौं ।’ महानगरले मापदण्ड मिचेको थाहा पाएपछि सम्पदा जोगाउन स्थानीय युवा समूहले खबरदारी गरे । आन्दोलनमा उत्रिएपछि सञ्चारमाध्यमको पनि ध्यान गयो । अख्तियारले पनि चासो दियो । त्यसपछि विभागले काम रोकेर पुरातात्त्विक मान्यता नमिचिने गरी पुनर्निर्माण गर्न महानगरलाई निर्देशन दिएको थियो ।

रानीपोखरीछेउ बस्न पार्कसमेत निर्माण गर्ने महानगरको लक्ष्य छ । यहाँ आउने पर्यटकका लागि टिकट काटेर घुम्ने व्यवस्था मिलाइने महानगरले जनाएको छ । यहाँ बगैंचा, घुम्न दुई बाटो, कफी सपलगायत संरचना बन्नेछन् । पार्कमा आकर्षक बत्तीको पनि व्यवस्था हुनेछ । रंगिन फोहोरासमेत राख्ने महानगरको योजना छ ।

नयाँ स्टिमेटअनुसार भित्री संरचना बनाउन भ्याटबाहेक १ करोड २६ लाख रुपैयाँ लाग्ने अनुमान रहेको विभागका सिनियर डिभिजनल इन्जिनियर सम्पत्त घिमिरे बताउँछन् । बाहिरी–भित्री गरी यसअघि झन्डै १० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । ‘अब १५ दिनभित्रै ठेक्का प्रक्रिया टुंगिन्छ,’ घिमिरे भन्छन्, ‘निर्माण सुरु भएको डेढ वर्षमा सम्पन्न गर्ने लक्ष्य छ ।’

प्रकाशित : जेष्ठ २३, २०७४ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?