कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

निर्वाचनलाई पूरक सुरक्षा योजना : गृह

काठमाडौं — गृह मन्त्रालयले स्थानीय तहको दोस्रो चरण निर्वाचन तयारी तीव्र पारिएको जनाएको छ । मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) ले चुनावमा भाग नलिने भन्दै आन्दोलन घोषणा गरेको पृष्ठभूमिमा यी सबै पक्षलाई ध्यानमा राखेर पूरक सुरक्षा योजना तयार पारिएको गृहले जनाएको छ । दोस्रो चरणमा ६ हजार ५ सय ६७ मतदान केन्द्रमा मतदान हुँदैछ ।

पहिलो चरणको सुरक्षा योजनामा देखिएका कमजोरी सुधार्ने र थप चुस्त सुरक्षा बनाउने हिसाबले पूरक सुरक्षा योजना बनाइएको गृह प्रवक्ता दीपक काफ्लेले बताए । उनले प्रत्येक मतदान केन्द्रको सुरक्षा अवस्था र चुनौती विश्लेषण गरी तयारीसमेत थालिएको बताए । ‘विकसित राजनीतिक घटनाक्रम र त्यसले उत्पन्न गराउने चुनौती विश्लेषण गरी सुरक्षा योजना निरन्तर परिर्माजन हुन्छ,’ काफ्लेले भने ।

सुरक्षा योजनामा निर्वाचन केन्द्रहरूलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन चरणमा छुट्याइएको छ । ‘सबै मतदान केन्द्रलाई उच्च संवेदनशील हिसाबले हेरेर त्यहीअनुसार सुरक्षाकर्मी अलर्ट रहनेछन्,’ उनले भने ।

गृहले विकसित घटनाक्रमलाई ध्यानमा राख्दै सबै म्यादी प्रहरीको म्याद थप्ने तयारी गरिरहेको छ । ५५ दिनको कार्यावधि तोकिएका म्यादी प्रहरीलाई पछिल्लो पटक जेठ १५ मा २० दिनको समय थपिएको थियो । निर्वाचनको मिति पटक–पटक सरेसँगै गृहले म्यादी प्रहरीको म्याद थप १५ दिन थप्ने गृहकार्य थालेको हो । अहिले म्यादी प्रहरीको म्याद असार ६ गतेसम्मलाई मात्रै छ । प्रवक्ता काफ्लेले स्वैच्छिक रूपमा छाडेका बाहेक सबै (७५ हजार म्यादी प्रहरी) लाई खटाइने जनाए ।

सबै जिल्लामा सुरक्षाका निम्ति आवश्यक बन्दोबस्तीका सामान र खर्चको व्यवस्था भइसकेको काफ्लेले जानकारी दिए । गृहले मतगणना नतिजा निश्चित समयमा सर्वसाधारण र सञ्चारकर्मीलाई उपलब्ध गराउन मतगणना स्थलबाहिर डिजिटल स्क्रिन राख्नेबारे पनि तयारी थालिसकेको छ ।

प्रकाशित : जेष्ठ २९, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?